हरिचोक–याम्दी खण्ड कालोपत्र
कास्की | जेठ ६, २०८२
कास्की: निर्माणाधीन मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा खण्डमा पर्ने हरिचोकबाट–याम्दी पुलसम्मको सडक स्तरोन्नति जारी रहेको छ ।
यस खण्डको चार लेन सडकको अहिले कालोपत्रको काम भइरहेको छ । मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका अनुसार गत वैशाख दोस्रो सातादेखि यस सडकमा ‘अस्फाल्ट’ प्रविधिबाट सडक पिच गर्ने काम जारी रहेको छ ।
हालसम्म हरिचोकबाट जौवारी चेकपोष्टसम्म एकतर्फी कालोपत्र सकिएको छ । मध्यपहाडी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी किरण सुवेदीले झण्डै डेढ किमी सडक एकतर्फी कालोपत्र सकिएको जानकारी दिए । उनले भने, ‘हरिचोक–याम्दी खण्डमा अहिले एकतर्फी कालोपत्र भइरहेको छ । चालु आर्थिक वर्षभित्रमा दुवै खण्डमा काम सम्पन्न गर्ने योजनामा छौँ ।’
हरिचोक–याम्दी सडक १८ मिटर फराकिलो हुने छ । त्यसैगरी नालासहित २१ मिटर रहेको आयोजनाले जनाएको छ । यस खण्डमा अस्फाल्ट कालोपत्र १५ सेमी बाक्लो हुने छ । लामो समयसम्म यस सडकको काम सुस्त हुँदा राजमार्गमा यात्रा गर्ने यात्रीले सास्ती पाएका थिए । दुई किमी २०० मिटर लामो सडक निर्माणमा ढिलाइ हुँदा हिउँदमा धुलो र बर्खायाममा हिलोको समस्याले यात्रा कष्टकर हुने गरेको थियो । सडक निर्माण सुस्त भएपछि स्थानीयले सडकमै उत्रिएर काम छिटो गर्न दबाब दिएका थिए ।
पोखरा हरिचोकका भानुभक्त अधिकारीले ढिलै भए पनि कालोपत्रको काम सुरु भएकामा खुसी व्यक्त गरे । लामो समयसम्म सडक नबन्दा आफूहरूले धेरै सास्ती पाएकामा अब सजिलो हुने उनको विश्वास छ ।
मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले दुई वर्षमा सक्नेगरी २०७९ साल साउनमा काठमाडौंको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिसँग मूल्यअभिवृद्धि करसहित ४८ करोड लागतमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।
साविकको पोखरा–बाग्लुङ राजमार्गमा पर्ने यस सडक हुँदै पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रुकुमपूर्वलगायत जिल्लाबाट दैनिक सयौँ सार्वजनिक तथा निजी सवारीका साधन पोखरा आवतजावत गर्ने गर्छन् ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ । सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ । महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...

