गोसाईंकुण्ड मेलामा आउँदा लेक लाग्ने यात्रीलाई सुरक्षा व्यवस्था
रसुवा | जेठ १५, २०८२
तस्बिर फाइल
रसुवा: गङ्गा दशहरा पर्वअन्तर्गत बुधबारदेखि सुरू भएको गोसाइँकुण्ड मेलामा आउने तीर्थयात्रीका लागि आवश्यक उद्धारको व्यवस्था मिलाइएको छ ।
समुद्र सतहबाट चार हजार ३८० मिटर उचाइमा अवस्थित पवित्र तीर्थमा आउने यात्रीलाई बेत्रावतीबाट गोसाइँकुण्डसम्म विशेष सुरक्षा व्यवस्था मिलाउनुका साथै लेक लागेर बिरामी परेका यात्रीलाई उद्धारको समेत व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बताए ।
तीर्थ जाँदा लेक लाग्ने समस्यामा परेका बिरामीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षा निकायले उद्धार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
गत विगतको तुलनामा यस वर्ष भक्तजनको आगमन बढिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । तीर्थका लागि निस्केका एक हजार भन्दाबढी यात्री बुधबार साँझ चन्दनबारी पुगेका र ती यात्री आज बिहानैदेखि लौरी विनायक उकालो उक्लँदै गरेका लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
यात्रीका लागि काठमाडौँको बालाजुबाट धुञ्चेसम्म बस, हाइसलगायत यात्रीवाहक सानाठूला सवारीसाधन सञ्चालनमा आएकाले धार्मिक यात्रामा सवारीसाधनको अभाव नहुने यातायात व्यवसायीले बताएका छन् ।
धुञ्चेबाट माथि लागेपछि खन्ति, देउराली, चन्दनबारी, चोलाङ्पाटी, लौरी विनायक र गोसाइँकुण्डमा क्षेत्रमा होटल तथा लज अनुगमन गरिसकेको जनाउँदै प्रजिअ पौडेलले आगन्तुक तथा धार्मिक यात्रीलाई सुलभ रूपमा सेवा प्रदान गरिदिन व्यवसायीलाई अनुरोध गरिएको बताए ।
उकालो हिँड्दा बढी स्वास्वा फ्याफ्या हुने यात्रीका लागि चन्दनबारीमा घोडाको समेत व्यवस्था भएकाले गोसाइँकुण्डसम्म पुग्न सहज वातावरण पाइएको तीर्थ यात्रीले बताएका छन् ।
चिकित्सकबाट स्वास्थ्य परीक्षण गराई तीर्थमा निस्कन र धार्मिक मार्गमा कुनै समस्या परेमा गस्तीमा रहेका प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी वा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रजिअ पौडेलले अनुरोध गरे ।
पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ । पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...
पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ । संस्थाले आफ्नो स्थापना...
पोखरा: घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ । अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

