‘गण्डकी लोक तारा’ ९ जिल्लाका १८ जना छानिए
पाेखरा | असार २, २०८२
पोखरा: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल प्रदेश कार्यसमिति गण्डकी पोखराले आयोजना गरेको ‘आरके हस्पिटालिटी प्रथम गण्डकी लोक तारा’ को लागि १८ जना प्रतिभा छनोट भएका छन् ।
सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार प्रतिष्ठानले गण्डकी प्रदेशका ९ जिल्लामा गरेको अडिसन मार्फत उनीहरु छानिएका हुन् ।
यसरी छानिनेमा कास्कीबाट उमेश अधिकारी र सपना विश्वकर्मा रहेका छन् । स्याङजाबाट दिलिप कुमार मानन्धर र ज्ञानीमाया गुरुङ, पर्वतबाट अप्सन बिक र शोभा परियार, बागलुङबाट प्रेम बिक र ललिता घर्ती छनोट भएका छन् ।
म्याग्दीबाट विजय परियार र गरिमा परियार, तनहुँबाट अन्जना गुरुङ, कमल आले, गोरखाबाट पवन श्री परियार र निश्चल गुरुङ, लमजुङबाट मन बहादुर गुरुङ रञ्जित र युगेश परियार, नवलपुरबाट यजीकल परियार र कोपिला गुरुङ रहेका छन् । गण्डकी प्रदेशका मनाङ र मुस्ताङमा भने प्रतिष्ठानको शाखा छैन ।
विश्व सङ्गीत दिवसको दिन असार ७ गते हुने अन्तिम प्रतिष्पर्धाको लागि उनीहरू आ–आफ्नो जिल्लामा भएको जिल्ला अडिसनबाट छानिएको प्रतिष्ठान गण्डकी प्रदेश समितिका अध्यक्ष राजन कार्कीले जानकारी दिए ।
नयाँ कलाकारलाई मञ्च प्रदान गर्दै लुकेर रहेको उनीहरूको प्रतिभा बाहिर ल्याएर अगाडि बढ्न हौसला प्रदान गर्ने उद्देश्यले पहिलोपटक यो कार्यक्रम गरिएको उनको भनाइ छ । कार्यक्रमको तयारी तीव्रताका साथ अगाडि बढिरहेको उनले बताए ।
प्रतियोगितामा प्रथम हुन सफल प्रतिभाले लोक ताराको उपाधि सहित नगद ५१ हजार १ सय ११ रुपैयाँ समेत हात पार्नेछन् । द्वितीय पुरस्कार ३१ हजार १ सय ११ रुपैयाँ, तृतीय पुरस्कार २१ हजार १ सय ११ रुपैयाँ र सान्त्वना पुरस्कार ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । प्रथम, द्वितीय र तृतीयले निःशुल्क एउटा अडियो रेकर्ड गर्ने अवसर समेत पाउनेछन् ।
प्रतियोगिताको निर्णायक संयोजकमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष दुर्गा रायमाझी रहेका छन् । अन्य निर्णायकमा वरिष्ठ संगितकार नवराज बराल, प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष पुरुषोत्तम न्यौपाने, लोक दोहोरी गायक पशुपति शर्मा, गायिका शान्ति गुरुङ रहेका छन् ।
सेमिफाइनल र फाइनल प्रतिष्पर्धा असार ७ गते पोखरा उद्योग वाणिज्य संघको हलमा हुनेछ । प्रतियोगीले ५ मिनेटको प्रस्तुती राखेपछि उत्कृष्ट १० छनोट गरिने कार्यक्रम संयोजक कृष्ण सुवेदीले जानकारी दिए । उत्कृष्ट १० पुग्नेले आयोजकले दिएका १९ वटा गीत मध्येबाट एउटा गीत र आफ्नो इच्छा अनुसारको एउटा गीत गाउनुपर्ने कार्यक्रम संयोजक सुवेदीले खुलाए ।
‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो । प्रतिष्ठान गण्डकीले गर्ने कार्यक्रम आउन एक महिना बाँकी हुँदै गर्दा तयारी तीव्रताका साथ अगाडि बढाइरहेको कार्कीले बताए ।
यो वर्ष अधिवेशनको वर्ष समेत भएको र यो कार्यक्रम आफ्नो कार्यकालको विशेष कार्यक्रम समेत भएको भन्दै कार्कीले सबैको साथ सर्पोटमा भव्यताका साथ कार्यक्रम सम्पन्न हुने विश्वास गरेको सुनाए ।
प्रतियोगितामा मुख्य प्रायोजन पोखराको सिर्जनाचोकमा रहेको आरके हस्पिटालिटी ह्युमन रिर्सोस मेनेजमेन्ट प्रालिले गरेको छ ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

