मध्य वर्षात्‌मा हायु परिवार सञ्चार सम्पर्कविहीन भएपछि...

काठमाडाैं | साउन १३, २०८२

मध्य वर्षात्‌मा हायु परिवार सञ्चार सम्पर्कविहीन भएपछि...

काठमाडौं:  साउन १२ गते सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ का जङ्गल छेउ एकान्तमा रहेको घरबाट उर्मिला हायुसहित परिवारका १६ सदस्य सम्पर्कविहीन भएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रशासन कार्यालय र जिल्लास्थित सबै सुरक्षा निकायले दिनभर र राति अबेरसम्म खोज तलासलाई तीव्र बनाएका थिए ।


त्यसक्रममा विभिन्न अड्कलबाजी गर्दै घर वरपरको जङ्गल, सम्भावित दुर्घटना हुनसक्ने स्थल, माइतीमावल, नातागोता र अरु आफन्तजनसँग जानकारी लिने र सम्पर्क कायम गरी बुझ्ने कार्य दिनभर भइरह्यो । परिवारका साबै घरबाट ठ्याक्कै कहिले बाहिरिए भन्नेबारे घर वरपरका कसैबाट यकीन जानकारी आउन सकेन ।


यही साउन ६ गते खुर्कोटस्थित हिमालयन बैंकबाट सामाजिक सुरक्षाभत्ता झिकेको तथा ९ गते वडा कार्यालयमा गई सामाजिक सुरक्षा भत्ता नवीकरण गरेको सुरक्षा टोलीलाई सूचना प्राप्त भएको जनाइएको छ । त्यसलगत्तै उनीहरूको पछिल्लो पटक गत शुक्रबार साँझ ७ बजेर २८ मिनेटमा नेपाल टेलिकम रामेछापको टावरसँग मोबाइल सम्पर्क भएको सूचना सुरक्षा टोलीले प्राप्त गर्‍यो ।


वर्षात्‌को मौसम भएकाले विपद्मा पर्नसक्ने पाटो, विदेशबाट भर्खर छोरा आएको र सामाजिक सुरक्षाभत्ताको रकमसमेत झिकेकाले कसैको गलत दृष्टि रह्यो की भन्ने कोणबाट पनि सुरक्षा विश्लेषण गर्दै सुरक्षा टोलीले खोजतलासलाई दिनभर तीव्र बनाएको हो ।


सम्पर्कविहीन हायुको घरमा केही परिमाणमा सुँगुरको मासु फेला परेकाले छोरो विदेशबाट आएको र भत्ता बुझेको खुसियालीमा रमाइलो गर्दै कतै घुमघाममा निस्केका वा आफन्तजन भएका ठाउँमा जानसक्ने पक्षलाई महत्त्व दिएर विश्लेषण गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो ।


अनुमान गरिएजस्तै स्थानीय बलेनीबाट गाडी रिजर्भ गरी सिन्धुली, हेटौँडा, मुङ्लिन हुँदै हायु परिवार पोखरा पुगेको प्रहरीको भनाइ छ । हायु परिवारलाई पोखरा पुर्‍याएर त्यहाँस्थित जननी होटलमा छोडेको भन्ने सवारी चालकबाट सूचना प्राप्त भएपछि जिल्ला प्रशासन र जिल्ला प्रहरीले पोखरा खबर गरेको थियो ।


सोही आधारमा हायु परिवारलाई सोमबार साँझ अबेर प्रहरीले पोखरामा फेला पारेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार हायु परिवारका सबै जना पोखरा प्रहरीको सम्पर्कमा आएका छन् ।


अर्कातर्फ हायु परिवार सम्पर्कविहीन भएको घटनालाई दिनभरजसो सबै सञ्चारमाध्यमले प्राथमिकताकासाथ प्रचारप्रसार गरेका थिए भने हायु परिवार सम्पर्कविहीन भएको घटनालाई विभिन्न अड्कलबाजी गरिएको थियो ।


घरबाट बाहिरिँदा हायु परिवारले घरमा बाँधिएका छ वटा बाख्रा छोडेर गएका थिए । ती पशुको अवस्था हेर्दा हायु परिवारले एक–दुई दिनअघि मात्र घर छोडेको पूर्वअनुमान गरिएको थियो ।


खोजतलासका क्रममा बाख्रा र कुकुरलाई कसैको जिम्मा नलगाइ किन परिवार बाहिरियो होला भन्ने प्रश्न पनि आफैँमा गम्भीर बन्न पुगेको थियो । उनीहरू खोरमा बाख्रा बाँधेर तथा कुकुर घरमा छाडेर वरपर कसैलाई पनि जानकारी नदिएर पोखरा घुम्न निस्केका घटनाले पुष्टि गरेको छ ।


उर्मिला हायुका श्रीमान् पनि केही वर्षअघि बेपत्ता भएकामा जङ्गलमा भेटिएको अस्थिपञ्जरबाट मृत्यु भएको अनुमान गरिएको छ । सम्पर्कविहीन भएका हायु परिवारका १६ सदस्यमध्ये १६ वर्ष मुनिका आठ जना थिए भने घरमुली उर्मिला ५२ वर्षकी हुन् ।


अन्य सदस्यहरू कमला, कोमल माया, उषा, सुजता, अस्मिता, राजु, हिमाल, लालबहादुर, वेगबहादुर, लक्ष्मण, सुवर्ण, ओमकुमारी, अर्जुन, रियासा र शान्ता हायुलाई पनि यकीन गरिसकेको प्रहरीले जानकारी दिएको छ ।

पोखरा:   सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । पोखरा–३०...

थप पढ्नुहोस्

हेटौंडा:   बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।  मुख्यमन्त्री कार्यालयमा मंगलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्...

थप पढ्नुहोस्

गण्डकी:  सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । उर्मिला सहित उहाँका परिवारक...

थप पढ्नुहोस्