उक्लँदै स्याउ, पग्लिदो माटो
मुस्ताङ | साउन २५, २०७९
गण्डकी । सुन्दा अचम्म लाग्न सक्छ, कुनै बेला स्याउ राम्रो फल्ने मुस्ताङको लेतेमा अहिले भने स्याउको उत्पादन छैन । लेते माथिको कोवाङमा पनि स्याउ खेती हुन छोडेको छ । आजभन्दा करिब डेढ दशक अघिसम्म समुद्री सतहबाट तीन हजार मिटर उचाइभन्दा माथि स्याउ नफल्ने गरेकामा अहिले भने झण्डै तीन हजार आठ सय मिटर उचाइको क्षेत्रसम्म स्याउ फल्न थालेपछि यहाँका स्थानीयवासी नै अचम्ममा परेका छन् ।
स्याउको उत्पादन र बेचबिखन नै मुख्य आयको स्रोत बनाउँदै आएका लेते र आसपासका स्थानीयका लागि भने आयआर्जनको नै विकल्प खोज्नुपर्ने अवस्था आएको छ । करिब दुई हजार पाँच सय मिटरको उचाइमा रहेको लेते र आसपासका क्षेत्रमा स्याउको विकल्पमा नासपाती, ओखर, खुर्पानी जस्ता फलफूल खेती विकल्पका रुपमा अघि बढाइएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले जानकारी दिनुभयो ।
पछिल्ला वर्षमा हिमाली क्षेत्रको माथिल्लो भागहरूमा स्याउ फल्न थालेको बताउँदै उहाँले करिब तीन हजार आठ सय मिटर उचाइको उपल्लो मुस्ताङको लोमन्थाङ र आसपासका क्षेत्रमा स्याउ खेती हुन थालेको बताउनुभयो ।
पछिल्ला वर्षमा टुकुचेभन्दा माथि मुक्तिनाथ, छुसाङ लगायतका स्थानमा स्याउ खेती फस्टाउँदै गएको स्थानीयवासी बताउँछन् । माथिल्ला भेगमा स्याउ खेती फस्टाउँदै गएपछि कृषकहरू पनि यसतर्फ आकर्षित बन्दै गएको मुक्तिनाथस्थित होटेल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले बताउनुभयो ।
“मुक्तिनाथभन्दा माथि उपल्लो मुस्ताङको लोमन्थाङसम्म स्याउ खेती बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “पहिला पहिला उपल्लो भेगमा सानो आकारमा फल्ने गरेका स्याउ अहिले ठूलाठूला फल्न थालेका छन् ।” पछिल्ला वर्षमा बर्सेनि बढिरहेको तापमान वृद्धिका कारण पनि स्याउ खेती माथिल्ला भेगतर्फ बढ्दै गएको हुन सक्ने उहाँको भनाइ छ ।
विगतमा पानी नपर्ने हिमाली बस्तीमा हिजोआज भने पानी पर्न थालेपछि वर्षौंदेखि बनेका माटाका संरचनाहरू जोखिममा पर्दै गएको उहाँले बताउनुभयो ।
बर्सेनि पानी नपर्ने ठाउँमा पानी पर्न थालेसँगै मुस्ताङको नीलगिरि हिमाल आसपासको बस्तीमा निर्मित माटाका संरचना जोखिममा पर्दै गएको स्थानीयवासी बताउँछन् । नीलगिरि हिमालका फेदीका बस्तीहरू लुप्रा, मार्फा, जोमसोम, छैरु, ठिनी, स्याङ लगायतका गाउँमा बर्सेनि प्रभाव पर्दै गएको छ । यी क्षेत्रमा प्राचीन कालदेखि नै परम्परागत माटोले छाइएका घरहरू छन् । पानीका कारण माटोका छत भएका घरमा माटो पग्लिन थालेको छ ।
अत्यधिक चिसो हुने ठाउँ भएका कारण तापक्रम सन्तुलनका लागि माटाले छाइएका घरमा यहाँका स्थानीयवासी कहिलेकाहीँ पर्ने हिउँ बेल्चा लगायतको प्रयोगबाट फाल्ने गर्दथे । पछिल्ला वर्षमा पानी नै पर्न थालेपछि माटो निर्मित संरचना पग्लन थालेको स्थानीयको दुःखेसो छ ।
प्रायः चिसो भइरहने भएका कारण माटोले बनाइएका यहाँका घर वातावरण अनुकूलका मानिन्छन् । माटो छाइएका घरमा बाहिर जस्तोसुकै हिउँ परे पनि घरभित्र न्यानो भइरहन्छ । माटोका घर हिमाली क्षेत्रका बस्तीको मौलिकता भए पनि वातावरणीय प्रभावका कारण यहाँका बस्ती उच्च जोखिममा रहेको स्थानीयवासी बताउँछन् ।
बढ्दो तापक्रमसँगै पानी पर्ने क्रम बढ्दा माटोको सहरको मौलिकता नै धरापमा परेको छ नै यसले हिमाली क्षेत्रमा बाढीपहिराको प्रकोप बढ्नाका साथै कृषि प्रणाली पनि प्रत्यक्ष प्रभावित बनेको छ । तापक्रम बढेसँगै चाँदीजस्तै टलक्क टल्कने हिमालहरू बर्सेनि कालापत्थरमा परिणत भएका छन् ।
हिमाली क्षेत्रमा पानी पर्ने क्रम बढ्नु, कृषि प्रणालीमा परिवर्तन आउनु लगायतका विषय जलवायु परिवर्तनको असरसँग जोडेर हेर्न सकिने विगत लामो समयदेखि हिमाली क्षेत्रका विभिन्न विषयमा अनुसन्धान गर्दै आउनुभएका पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापनरत रामचन्द्र बराल बताउनुहुन्छ । स्याउ खेती माथिल्ला भागतर्फ फैलँदै गएको विषयलाई आफूले नजिकबाट नियालिरहेको बताउँदै अनुसन्धाता बरालले आजभन्दा नौ वर्ष अघि २०७० सालमा मुस्ताङको अनुसन्धानात्मक भ्रमणको अनुभव सुनाउनुभयो ।
तत्कालीन समयमा ठाउँअनुसार प्रतिकिलो स्याउ मार्फामा रु ६०, झारकोटमा रु एक सय र झोङमा रुएक सय ५० रुपैया तिरेको अनुभव सुनाउँदै उहाँले उचाइअनुसार स्याउको स्वाद झन् झन् मीठो पाइएको बताउनुभयो । पछिल्ला वर्षमा मुस्ताङको यारा, घमी लगायतका उच्च हिमाली क्षेत्रमा स्याउको बगैँचा निर्माणमा आकर्षण बढिरहेको बरालले बताउनुभयो ।
बढ्दो तापक्रमकै कारण तराई र मधेसका फाँटमा मात्र पाइने लामखुट्टे पहाड हुँदै हिमाल चढिसकेको छ । विगतमा लामखुट्टेको नामसमेत नसुन्ने यस क्षेत्रमा अहिले भने झूल पुग्ने गरेको छ । उपल्लो मुस्ताङका लोमन्थाङ, छोनुप, छोसेर, सुर्खाङ, चराङ, घमी लगायतका स्थानमा अत्यन्त कम मात्रामा हिउँ पर्न थालेपछि ती स्थानमा खानेपानीको अभाव बढ्दै गएको छ । पानीको चरम अभावसँगै छोसेरको सामजुङ बस्तीलाई एक दशकअघि पानीकै खोजीमा नमासुङ गाउँमा सारिएको थियो । “पहिले पहिले मनसुनले हिमाल चढ्दैन भन्ने गरिन्थ्यो, अहिले भने मनसुनले हिमाल पार गरिसकेको छ”, अनुसन्धाता बरालले भन्नुभयो, “गत वर्ष हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा अप्रत्याशित आएको बाढी यसको ज्वलन्त उदाहरण हो ।”
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

