एमाले विधान महाधिवेशनको तयारी तीव्र, २३ सय ९२ जना सहभागी हुने

काठमाडाैं | भदौ १, २०८२

एमाले विधान महाधिवेशनको तयारी तीव्र, २३ सय ९२ जना सहभागी हुने

काठमाडौं:  यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् ।


पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सङ्गठन विभागले पेश गरेको प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ ।


पार्टी स्थायी कमिटी सदस्य एवं प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार सहभागी मध्ये २१ सय २८ जना प्रतिनिधि र २६४ जना आयोजकको रुपमा सहभागी हुनेछन् ।


२०७८ सालमा चितवनमा भएको १०औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिमात्रै विधान महाधिवेशनका प्रतिनिधि हुने भएकोले कतिपय केन्द्रीय सदस्य पनि आयोजकको हैसियतमा रहनेछन् । प्रतिनिधिहरूलाई डिजिटल कार्डको व्यवस्था गरिनेछ ।


शनिबार भएको बैठकमा महाधिवेशनलाई भव्य बनाउनका लागि सातदोबाटोदेखि गोदावरी सनराइज हलसम्म विभिन्न ठाउँमा स्वागतद्वार राख्ने निर्णय भएको छ । गौतमका अनुसार बागमती, ललितपुर जिल्ला, स्थानीय कमिटी र जनसङ्गठनहरूको तर्फबाट स्वागतद्वार राखिने भएको हो ।


यसैगरी महाधिवेशन स्थलमा कम्तीमा ३ सय जना स्वयंसेवक परिचालन गर्ने तयारी छ । स्वयंसेवकको जिम्मा युवा संघ, खेलकुद महासंघ लगायतका जनसङ्गठनले लिएका छन् ।


बैठकमा महाधिवेशन स्थलमा सञ्चार माध्यमलाई समाचार सम्प्रेषण गर्ने सहजताका लागि व्यवस्थित न्यूज डेस्क स्थापना गर्ने निर्णय भएको छ । यसैगरी मिडियालाई महाधिवेशनको रिपोर्टिङका लागि पासको पनि व्यवस्था गरिने जनाइएको छ ।


महाधिवेशनको मूल नारा तय गर्ने काम भइरहेकाले केही दिनभित्रै महाधिवेशनको प्रचार व्यापक बनाउन, भिडियो सामग्रीहरू उत्पादन गरेर नेता कार्यकर्ताले सामाजिक सञ्जालमा ब्यापक बनाउने तयारी छ ।


महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई कुनै शुल्क नलिने र आवासको प्रबन्ध प्रतिनिधि आफैँले गर्नुपर्ने निर्णय गरिएको छ ।


गौतमका अनुसार सातदोबाटोबाट गोदावरीसम्म जानका लागि सार्वजनिक यातायातको व्यवस्था पार्टीका विभिन्न कमिटीहरूले गर्नेछन् । महाधिवेशन स्थलमा तीन सिफ्टमा चिकित्सक सहितको स्वास्थ्य जाँच डेस्क स्थापना गरिने छ ।


एमालेले भदौ १० गतेसम्ममा मातहतका कमिटीलाई विधानका बारेमा सुझाव दिन समय दिएको छ । सबै प्रदेशहरूले सुझाव पठाएपछि तिनीहरूलाई समेत समेटेर राजनीतिक प्रतिवेदन तयार गर्ने गृहकार्य भइरहेको छ ।


महाधिवेशनमा राजनीतिक प्रतिवेदन अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, विधान संसोधन सम्बन्धी प्रस्ताव उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले  र साङ्गठनिक प्रतिवेदन महासचिव शङ्कर पोखरेले पेस गर्ने छन् ।


एमालेले महाधिवेशन सफल पार्नका लागि यस अघि नै विभिन्न कमिटीहरु बनाएर नेताहरुलाई जिम्मेवारी तोकिसकेको छ । सबै कमिटीहरूले महाधिवेशन तयारीको काम गरिरहेको गौतमले जानकारी दिए ।


व्यवस्थापन समितिको बैठकलाई सम्बोधन गर्दै महासचिव शङ्कर पोखरेलले एमालेलाई एकमना एकताका साथ अघि बढाउने र एमालेले लिने नीति र विधी तय गर्ने उत्सव भएकाले सबैलाई गम्भिरतापूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् ।


महासचिव पोखरेलले व्यवस्थपनको जिम्मा पाएका सबै समितीहरुलाई तिव्रताका साथ काम गर्न पनि निर्देशन दिए । एमालेले आजदेखि विधान महाधिवेशनको काउन्ट डाउन ९दिनगन्ती० पनि सुरु गर्ने भएको छ । विधान महाधिवेशन सुरु हुन अब १९ दिन बाँकी छ । 

काठमाडौँ:    वैचारिक आस्था र राजनीतिक आबद्धतालाई ‘रिजर्भ’ मा राखेका समाजका चर्चित व्यक्तिहरूले जेनजी आन्दोलनयता खुलेर राजनीतिक यात्रा थालेका छन् ।   राजनीतिक यात्राको आर...

थप पढ्नुहोस्

उदयपुर:  सबै मानिसको आ–आफ्ना सपना लक्ष्यहरु रहेका हुन्छन्, कसैको लक्ष्य सङ्घर्षका क्रममा पूरा हुन्छ भने कसैले लक्ष्य प्राप्तिका लागि सङ्घर्षरत रहँदै गर्दा अचानक बीचमा जीवनलीला नै अन्त्य भएर यो संसारबाट सधैँ...

थप पढ्नुहोस्

म्याग्दी:   यहाँ उत्पादन हुने कोदोको परिकारको विविधीकरण र बजारीकरण हुन थालेको छ । कोदो पछिल्लो समय सहरबजार र विदेशमा बस्नेहरूका रोजाइमा परेको छ ।  कोदोको परिकार ढिँडो, रोटी र खोलेमा मात्र ...

थप पढ्नुहोस्