कतारमाथि नेपालको रोमाञ्चक जित

काठमाडाैं | असोज २८, २०८२

कतारमाथि नेपालको रोमाञ्चक जित

काठमाडौं: सनसनीपूर्ण खेलमा लेग स्पिनर सन्दीप लामिछाने एक्लै पाँच विकेट र कप्तान रोहितकुमार पौडेलले अर्धसतकीय इनिङ्स खेलेपछि नेपालले कतारमाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ । 


ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा सोमबार राति भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा हारको नजिक पुगेको नेपालले अन्तिम ओभरमा नतिजा उल्टाएको हो । 


जितका लागि एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा सवै विकेट गुमाएर एक सय ४२ रनमा समेटिएको थियो । 


कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाउनुभयो । यस्तै जुबेर अलीले ५२ रन बनाउँदा अन्य ब्याट्सम्याच चल्न सकेनन् । 


कतारको ब्याटिङ कमजोर बनाउन बलिङमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले ३.५ ओभरमा १८ रन खर्चिएर पाँच विकेट लिए ।


यससँगै सन्दीपको अन्तर्राष्ट्रिय विकेट सङ्ख्या दुई सय ५४ पुगेको छ। सन्दीप प्लेयर अफ द म्याच बने ।  यस्तै नन्दन यादवले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए । 


यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो ।


नेपालका लागि कप्तान रोहितले ४१ बलमा ५८ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ र गुल्शन झाले आठ बलमा १६ रन बनाए । अन्य खेलाडीको ब्याटिङ सन्तोषजनक रहेन । 


बलिङमा कतारका कप्तान मिर्जा बेग र डानियल लुइसले तीन तीन विकेट लिए । मुहम्मद असिमले एक विकेट लिए । 


नेपालले सुपर सिक्सको पहिलो खेलमा आइतबार युएईलाई एक रनले हराएको थियो । जितसँगै सुपर सिक्समा ६ अङ्क बनाएको नेपाल विश्वकप छनोट नजिक पुगेको छ । 


ओमानको पनि समान ६ अङ्क छ । नेपालले बुधबार सुपर सिक्सको शीर्ष टोली ओमानसँग खेल्नेछ । ओमानलाई हराएमा नेपालले विश्वकपमा सथान बनाउनेछ । 


त्यसपछि नेपालले अन्तिम तथा चौथो खेल शुक्रबार सामोआसँग खेल्नेछ । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् । 

काठमाडौं: नेपाली विद्यार्थी विपिन जोशीको निधन भएको पुष्टि भएको छ। हमासले ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका जोशीको शव इजरायललाई बुझाउने भएको हो।   इजरायलको अखबार (जेरुसेलम पोस्ट)ले यसअघि अज्ञात ...

थप पढ्नुहोस्

काठमाडौं:  गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले २ वर्षदेखि आफ्नो कब्जामा राखेका २० जना जीवित बन्दीलाई रेडक्रसको जिम्मा लगाएको छ । सोमबार बिहान सुरूमा सातजनालाई रिहा गरेको हमासले अन्तिम १३ जना जीवित...

थप पढ्नुहोस्

रौतहट: रौतहट जिल्लाको गौर नगरपालिका–१, कानुपट्टीस्थित भित्री सडक खण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका तीन जनाको शव सशस्त्र प्रहरीले असोज २७ गते फेला पारेको छ । सोही जिल्लाको राजदेवी नगरपालिक...

थप पढ्नुहोस्