कास्की कारागारबाट भागेका ८१ कैदीबन्दी पक्राउ
पाेखरा | असोज ३०, २०८२
कास्की: गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारको बन्दीगृहबाट भागेका ८१ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार विभागले विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई असोज २० गतेभित्र स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेको थियो ।
उक्त मितिभित्र हाजिर नभई फरार रहेका कैदीबन्दीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
“गत भदौ २३ र २४ गतेको प्रदर्शन, तोडफोड तथा आगजनीपश्चात् कारागारबाट फरार रहेका विभिन्न मुद्दाका कैदी तथा थुनुवालाई स्वःस्फूर्त कारागारमा फर्किन आग्रह गरेका थियौँ । तर सो समयभित्र हाजिर नभएकालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयबाट खोजतलास सुरु गरिएको हो”, उहाँले भन्नुभयो ।
पक्राउ परेकाहरूमा जबर्जस्ती करणी मुद्दा र लागुऔषध मुद्दाका १६–१६ जना छन् । चोरी मुद्दाका २५, कर्तव्य ज्यान मुद्दाका आठ, ज्यान मार्ने उद्योगका नौ, अभद्र व्यवहारका चार, सवारीसम्बन्धी, कुटपिट र मानव बेचबिखन मुद्दाका एक–एक जना रहेका प्रहरीले जनाएको छ ।
जिल्ला कारागारका प्रशासक राजेन्द्र शर्माले प्रदर्शनका क्रममा भागेका सात सय ७३ कैदीबन्दीमध्ये अझै दुई सय बढी फरार रहेका जानकारी दिनुभयो । कारागारबाट भागेका कैदीबन्दीलाई कार्यालयले असोज १२ गते सूचना जारी गरी यही असोज २० गतेसम्म फर्कन समय दिइएको थियो ।
तोकिएको समयमा पनि कारागार नफर्केका र सम्पर्क नगरेका कैदीबन्दीको खोजी कार्य प्रहरीले गरिरहेको हो । उनीहरूलाई प्रचलित कानुनअनुसार कारबाही हुने र फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसुरदार ठानी कानुनअनुसार कारबाही हुने कारागारले जनाएको छ ।
प्रदर्शनकारीको आगजनीबाट कार्यालयका अभिलेखहरू जलेका थिए । कैदीबन्दीको विवरण कम्प्युटर अभिलेखमा भने सुरक्षित छ । त्यसैगरी केन्द्रीय विभागको नेटवर्कमा समेत दर्ता रहेकाले सबै विवरण सुरक्षित रहेको कारागार प्रशासक शर्माले बताउनुभयो ।
पोखरा। पोखराका दुई अग्रज पत्रकारलाई कर्म–कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार रुद्र बहादुर हितानमगर र इ...
पोखरा । स्वर्डफिस टेक्नोलोजीले ज्वेलरी (गहना) क्षेत्रकै पहिलो म्यानेजमेन्ट सफ्टवेयर ‘दीपअर्थ’ गण्डकी प्रदेशमा भित्र्याउँदै आजबाट औपचारिक शुभारम्भ गरेको छ । परम्परागत रूपमा सञ्चा...
कास्की । पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । भोलिदेखि (अस...

