लेकसिटीका विद्यार्थी कक्षाकोठाको सिद्धान्त जाँच्न न्युजरुम पुगे

पाेखरा | मंसिर १५, २०८२

लेकसिटीका विद्यार्थी कक्षाकोठाको सिद्धान्त जाँच्न न्युजरुम पुगे

पोखरा:  पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिता अध्ययनरत विद्यार्थीले आइतबार कक्षाकोठाको चारदिवारी बाहिर निस्केर ‘मिडिया भिजिट’ गरेका छन् । 


स्नातक तहमा आमसञ्चार तथा पत्रकारिता विषयको पहिलो र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले कक्षामा पढेका सैद्धान्तिक ज्ञान र व्यवहारबीचको तालमेल बुझ्न विभिन्न सञ्चारगृहको अवलोकन गरेका हुन् । 


विद्यार्थीको टोलीले पोखराका रेडियो अन्नपूर्ण, समाधान दैनिक, पब्लिक टेलिभिन र रोजिना अफसेट प्रेसको भ्रमण गरे । त्यस क्रममा उनीहरुले बदलिँदो परिवेशमा मिडियाले भोगिरहेका चुनौती, आधुनिक प्रविधिको प्रयोग र अवसरका विषयमा सञ्चार उद्यमी तथा पत्रकारसँग अन्तर्क्रियासमेत गरे । विद्यार्थीहरु सुरुमा रेडियो अन्नपूर्ण पुगेका थिए । 


त्यहाँका स्टेसन म्यानेजर सञ्जय मल्लले २०५८ सालमा निजी क्षेत्रबाट एफएम रेडियो खुल्दाको समय र अहिलेको अवस्था नितान्त फरक रहेको अनुभव सुनाए । सूचना र मनोरञ्जनको विकल्प नभएका बेला रेडियो खुलेको तर अहिले प्रविधिले धेरै कुरा फेरिदिएको उनले बताए । 


तत्कालीन राजा ज्ञानेन्द्रको शासनकाल र सशस्त्र द्वन्द्वको समयमा रेडियोले भोगेको सास्ती उनले स्मरण गरे । मल्लले भने, ‘समाचारकक्षमा नेपाली सेना प्रवेश गरेर सम्पादकीय स्वतन्त्रता कुल्चिएको अवस्थादेखि भूकम्प र कोभिड महामारीसम्मका उथलपुथल हामीले भोग्यौं ।’ अहिले प्रविधिको विकाससँगै विज्ञापन बजार खुम्चिँदा रेडियोसहितका मिडिया आर्थिक मारमा परेको उनले सुनाए । 


रेडियोको अनुभव बटुलेपछि विद्यार्थी समाधान दैनिकको कार्यालय पुगे । त्यहाँ उनीहरुले समाचार उत्पादनको प्रक्रिया, ‘गेटकिपिङ’, सम्पादन र पृष्ठ संयोजनजस्ता प्राविधिक पक्षको जानकारी लिए । सम्पादक केशवशरण लामिछानेले सशस्त्र द्वन्द्वकै बीच २०५९ असोज १ गतेबाट पत्रिका प्रकाशन सुरु भएको जानकारी दिए ।


 ‘२०७२ को संविधान जारी भएपछि संघीयताको अभ्याससँगै समाधानले काठमाडौं बाहिरबाट पनि व्यावसायिक र सन्तुलित पत्रकारिताको अभ्यास गर्दै आएको छ,’ सम्पादक लामिछानेले भने । उनले पत्रिका अहिले प्रिन्ट संस्करणका साथै डिजिटल भर्सनमा पनि गइसकेको बताए । न्युजरुमको कार्यशैली बुझेपछि विद्यार्थीले रोजिना अफसेट प्रेसमा पुगेर छपाइ प्रविधिको अवलोकन गरे । 


प्रेस सञ्चालक रोजिना श्रेष्ठले समयसँगै छपाइको कामको चाप घटे पनि नयाँ प्रविधि र मेसिन भित्र्याएर व्यवसायलाई निरन्तरता दिएको बताइन् । परम्परागत र आधुनिक दुवै प्रविधि अपनाएको बताउँदै उनले भनिन्, ‘सामाजिक सञ्जालमार्फत् मार्केटिङ गरेर व्यवसायको दायरा बढाएका छौं ।’ अवलोकनको अन्तिम चरणमा विद्यार्थी बार्दली मिडिया प्रालिद्वारा सञ्चालित पब्लिक फोरके टेलिभिजन पुगे । 


त्यहाँ उनीहरुले स्टुडियो, रेकर्डिङ र प्रसारण प्रविधिबारे जानकारी लिए । कम्पनीका प्रबन्ध निर्देशकले काठमाडौं बाहिर मिडिया चलाउनु आफैमा चुनौतीपूर्ण रहेको र त्यसमाथि दक्ष जनशक्तिको अभाव खड्किएको बताए । 


सामाजिक सञ्जालका कारण विज्ञापन बजार घटेर मिडिया सञ्चालन कठिन भए पनि सामाजिक सञ्जालकै कारण केही आम्दानीसमेत भएको उनको भनाइ थियो । टेलिभिजनमा विचारमूलक कार्यक्रम ‘द भ्यु’ चलाउँदै आएका रघुराज वाग्लेले पत्रकारिताको मर्म बुझ्न विद्यार्थीलाई आग्रह गरे । उनले भने, ‘औपचारिक पढाइ सकेर यो पेसामा आउन सके पेसाको मर्यादा बढ्छ ।’ 


लेकसिटी कलेजमा पत्रकारिता अध्यापन गराउने पत्रकार भरत कोइरालाले कक्षामा पढेका विषयवस्तुलाई अझै प्रभावकारी रूपमा बुझाउन भ्रमण गराइएको बताए । भ्रमणमा सोसल वर्क पढाउने शिक्षिका रोशिना कुँवर पनि सहभागी थिइन् । 


गैरापाटनस्थित लेकसिटी कलेजमा पत्रकारिता र सोसल वर्क पढाइ हुनुका साथै कलेज मातहतको समाज विज्ञान केन्द्रले समसामयिक विषयमा मासिक रूपमा कचहरीसमेत चलाउँदै आएको छ ।

पोखरा:  रेडियो अन्नपूर्ण ९३।४ मेगाहर्ज पोखराले मंसिर १८ गते “स्मृतिमा झलकमान र नारायण गोपाल साँझ” आयोजना  गर्ने भएको छ ।  झलकमान गन्धर्व सारङ्गी पाठशाला र पोखरा महानगरपालिका...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा सम्पन्न नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेको छ ।  पोखरा–३ नदी...

थप पढ्नुहोस्

पोखरा: कास्की जिल्ला टेनिस संघद्वारा आयोजनामा पोखरा रंगशालाको टेनिस सेन्टरमा सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे-३० सर्किट १ र २ को सम्पूर्ण तयारी पुरा भएको छ ।   भोली (सोमबार) बाट सुरू हुन...

थप पढ्नुहोस्