चर्का भाषण गर्दिनँ, सस्तो आश्वासन बाँड्दिनँ: रास्वपा उम्मेदवार बिना
पाेखरा | माघ १८, २०८२
पोखरा: कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् ।
आइतबार पोखराको पुरन्चौर क्षेत्रका मतदातासँग भेटघाट गरेकी बिनाले सोमबार हेमजावासीका कुरा सुनिन् र आफ्ना प्रतिबद्धता जनाइन् ।
याम्दी, जैसीचौर, मीलनचोक, झिझिर्कालगायतका ठाउँका मतदातासँग भेटेकी गुरुङले राष्ट्रिय नीति निर्माणको विषयदेखि स्थानीयका मुद्धासमेतलाई केन्द्रमा राखेर छलफल गरिन् ।
आलु, तरकारी उत्पादनको पकेट क्षेत्र मानिने हेमजावासीले अहिलेसम्मका उम्मेदवारले कृषिको आधुनिकीकरण र बजारीकरणको कुरा गरेर मत मागे पनि पूरा नगरेको दुखेसो पोखे ।
अहिले पनि किसानका उपजको बजारीकरणमा विचौलिया हाबी हुने गरेको तितो यथार्थ उनीहरुले पोखे । हेमजाजस्तो कृषियोग्य भूमिको व्यवस्थित प्रयोग र बढ्दो सहरीकरणको हस्तक्षेपबारे ध्यान दिन स्थानीयले बिनालाई सुझाव दिए ।
हेमजावासी र कास्की–३ का मतादातको सुझावलाई सम्वोधन गर्दै उम्मेदवार बिनाले आफूले चर्का भाषण र सस्तो आश्वासन नबाँड्ने तर नीतिगत तहबाटै नागरिकको पक्षमा काम गर्ने सुरुमै प्रतिवद्धता जनाइन् ।
करिब २५ करोड रुपैयाँको आलुमात्रै उत्पादन गर्ने हेमजाजस्ता क्षेत्रमा व्यवस्थित सहरीकरणको योजना बनाउन नीतिगत रुपमै काम गर्ने उनले बताइन् ।
कृषिलाई आधुनिकीकरण, यान्त्रीकरण र बजारीकरणका लागि विचौलियाको अन्त्य गर्ने गरी कृषि नीति आवश्यक पर्ने भएकाले आफूले ध्यान दिने बिनाको भनाइ थियो ।
‘हेमजाले वार्षिक २५ करोड रुपैयाँको त आलुमात्रै बेच्दो रहेछ । यही ठाउँले सिंगो पोखरलाई नै तरकारीमा आत्मनिर्भर बनाउन ठूलो योगदानसमेत गरेको छ,’ बिनाले भनिन्, ‘फेरि अर्कोतिर यही कृषि क्षेत्र बढ्दो सहरीकरणको चपेटामा छ । अब कृषि क्षेत्र र बढ्दो सहरीकरणलाई व्यवस्थित गर्ने राज्यले नीतिगत रुपमै ध्यान दिनुपर्छ । म संसदमा गएर यस्तै कुरामा ध्यान दिने हो ।’
कास्की क्षेत्र नम्बर ३ का विभिन्न ठाउँमा पुग्दा थुप्रै सम्भावना भएर पनि राजनीतिक स्वार्थ र कोपभाजनमा परेर प्रगति गर्न नसकेको धेरैले गुनासो गरेको बिनाले सुनाइन् । कुनै स्वार्थ राखेर आफू राजनीतिको मैदानमा नहोमिएको बताउँदै बिनाले विशुद्ध नागरिकको पक्षमा, सुशासनको पक्षमा काम गर्ने प्रतिवद्धता जनाइन् ।
काठमाडौँ: रास्वपाबाट आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार रहेका बालेन्द्र शाह (बालेन) काे चुनावी प्रचारमा हिँडेका चलचित्र पत्रकार दिनेश सिटौलाको निधन भएको छ । ग्रान्डी अस्पतालका अनु...
पोखरा: २५औं आहा! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता यही माघ २७ गदेखि सुरु हुने भएको छ । मोफसलको प्रतिष्ठित सहारा क्लबले आयोजना गर्ने २५ औं संस्करणको प्रतियोगिताको तिब्र पारिएको प...
काठमाडौं : नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। यसदिन सुन तोलामा १८ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै एक तोला सुनको भाउ ३ लाखमा झरेको छ। अघिल्लो साता...

