‘गुँदेताल’संरक्षण अभावले लोप हुने अवस्थामा
पाेखरा | भदौ १५, २०७९
लेखनाथ । सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन । पोखरा–२६ लेखनाथमा रहेको गुँदेताल संरक्षणको अभावमै छ । एक वर्षअघि स्थानीयवासी ताल संरक्षणमा जुटे पनि रकम अभावकै कारण पूर्णरूपमा संरक्षण हुनसकेको छैन । सरकारको तर्फबाट संरक्षणमा काम अगाडि बढाइएको छैन । कास्कीमा रहेका नौवटा तालमध्ये खास्टे, न्यूरेनी र गुँदेताल पोखरा–२६ मा पर्छन् ।
गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीका अध्यक्ष ठाकुरप्रसाद ढुङ्गानाले सरकारी तहबाट चासो नदिँदा ताल संरक्षण हुन नसकेको गुनासो गर्नुभयो । अग्रज पुर्खाले बस्नका लागि गुन्द्री बुन्न प्रयोगमा आउने गुँद पाइने भएकाले परापूर्वकालदेखि नै उक्त तालको नाम गुँदे रहँदै आएको स्थानीय सुमन भट्टराईले जानकारी दिनुभयो ।
तालवरपर घाँसेमैदान भएकाले यसलाई चराहरूको बासस्थानका रूपमा विकास गराउन उपयुक्त छ । तर पोखरा महानगरले चराको बासस्थानका रूपमा विकास गर्न कुनै चासो देखाउँदैन । अब सरकारको मुख ताक्नुभन्दा स्थानीयवासी नै ताल संरक्षणमा जुट्न थालेका स्थानीय बताउँछन् ।
गुँदेताल वातावरण तथा मत्स्य सहकारी र गुँदेताल संरक्षण समिति तालको संरक्षणमा जुटेका छन् । ताल संरक्षणअन्तर्गत पहिलो चरणमा तालले ओगटेको जग्गाको सीमाङ्कन गर्ने काम भएको छ । साथै वरपर फुटट्रयाक निर्माण गर्ने कार्य सकिएको छ भने तालमा माछाका भुरा छाड्ने कार्य पनि केही वर्षदेखि सुरु गरिएको छ ।
विश्व सम्पदामा रामसार सूचीमा सूचीकृत गुँदेतालको संरक्षण र विकासमा स्थानीय नै जुटेपछि वन कार्यालय र हरियो वन कार्यक्रमले समेत केही मात्रामा सहयोग प्रदान गर्न सुरु गरेको गुँदेताल संरक्षण समितिका अध्यक्ष ढुङ्गानाले बताउनुभयो ।
वातावरणीय प्रभाव र मानवीय अतिक्रमणका कारण सागुरिँदै गएको यो तालको क्षेत्रफल १२.३८ हेक्टर रहे पनि जलक्षेत्र भने न्यून मात्रामा रहेको छ । जसको गहिराइ औसतमा दुई मिटर र सीमसारको भाग धेरै रहेकाले यो तालमा प्रशस्त कमल देख्न पाइन्छ ।
हेमन्त ऋतु अर्थात् जाडो मौसममा हिमाली भेगका चराचुरिङ्गी जाडो छल्न र गर्मीमा तराई क्षेत्रका चरा गर्मी छल्न गुँदेतालमा आउने गरेकै गुँदेताललाई बर्डवाचिङ सेन्टर अर्थात् चरा हेर्ने ठाउँका रूपमा विकास गर्न सकिने जानकारी स्थानीय गणेश अधिकारीले दिनुभयो ।
संरक्षण र आयआर्जनका रूपमा तालको विकास गर्ने उद्देश्यले केही वर्षदेखि स्थानीय सरोकारवाला सङ्गठितरूपमा ताल संरक्षणमा जुटेका र त्यो सदस्य सङ्ख्या एक सय ४५ पुगेका छन् । समितिमा रहेका सदस्य ताल संरक्षणका साथै माछा भुरा र चराको हेरचाहमा सक्रिय रहने छन्, ताल संरक्षणका नाममा पछिल्लो समय तालको जलाधार क्षेत्रभित्रै माटोले पुरेर ट्रयाक खोल्ने कामले यो ताल पनि मानवीय अतिक्रमणको चपेटामा परेको देखिन्छ । यसका लागि स्थानीय मौन बस्ने र सरकारी निकायबाट बेलैमा ध्यान नदिने हो भने तालको अस्थित्व नै लोप हुने र पछिका पुस्ताले यहाँ ताल थियो रे भन्ने इतिहास सुन्न नपरोस् ।
पछिल्लो सयम यहाँको रुपाताल र फेवातालमा बजेट विनियोजन गरिए पनि अन्य तालहरू संरक्षणको पर्खाइमा छन् । पोखरा नगर क्षेत्रमा मात्र फेवा, वेगनास, रुपा, कमल, गुँदे, न्यूरेनी, खास्टे, दिपाङ, मैदी गरी नौ वटा ताल छन् भने सहरी क्षेत्र बाहिर दुई सिक्लेसमा कफूचे र माछापुच्छ«े गाउँपालिकामा पिपर ताल छन् । तत्कालीन लेखनाथ नगरपालिकाले विसं २०५४ मा सात तालको बाटिका सहरका रूपमा विकास गर्ने योजना ल्याइएको भए पनि संरक्षणका लागि कार्य अगाडि नबढाएको स्थानीय सूर्यप्रसाद बरालले जानकारी दिनुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

