गण्डकीमा प्राविधिक शिक्षालय बनाउन कोइकाले सघाउने
पाेखरा | भदौ १७, २०७९
पोखरा । कोरिया इन्टरनेशनल कर्पोरेसन एजेन्सी (कोइका) ले गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधारका लागि सहयोग गर्ने भएको छ । बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग कोइका नेपालका देशीय निर्देैशक सङहुन घोले उक्त प्रतिबद्धता जनाउनुभएको हो ।
प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमार्फत गण्डकी प्राविधिक शिक्षालय (जिआइटी) सञ्चालन गर्दैछ । प्रदेशभित्र आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादन गरी युवालाई रोजगारीमा आबद्ध गर्ने उद्देश्यका प्रदेशले गण्डकी प्राविधिक शिक्षालय सञ्चालनको तयारी गरेको हो । यसका लागि नेपाल सरकारले स्याङ्जाको फेदीखोला गाउँपालिका–१ स्थित गुर्धुममा एक सय ६० रोपनी जग्गा प्रदान गरिसकेको छ ।
सो अवसरमा मुख्यमन्त्री पोखरेलले दक्षिण कोरियासँग नेपालको पुरानो सम्बन्ध रहेको जानकारी दिनुभयो । गण्डकीमा प्राविधिक शिक्षाका लागि कोइकाले चासो देखाएको प्रति उहाँले आभार व्यक्त गर्नुभयो । प्रदेश सरकारको परिकल्पनालाई साकार पार्न दक्षिण कोरियाले देखाएको चासो प्रशंसनीय रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।
सो अवसरमा कोइकाका देशीय निर्देशक सङहुनले पर्यटकीय नगरी पोखरामा कोरिया सरकारले लगानी गर्न इच्छुक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “गण्डकी प्रदेशका युवालाई रोजगारमा आबद्ध गराउन प्राविधिक शिक्षाबाट कसरी सहयोग गर्न सकिन्छ भन्ने हाम्रो मुख्य चासो हो ।” सुरुआती अवस्थामा युरोपेली मुलुकले कोरियामा प्राविधिक सीप सिकाएको र त्यसैको जगबाट अहिलेको अवस्थामा आइपुगेको स्मरण गर्नुभयो । त्यहीअनुसार गण्डकी प्रदेशमा सहयोग गर्न लागिएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारले अगाडि सारेको परियोजनाको प्रारम्भिक प्रस्तावबाट आफू निकै प्रभावित भएको उहाँले बताउनुभयो । उहाँले संरचना बनाइसकेपछि सरकारले कसरी सञ्चालन गर्छ भन्ने मुख्य चासोका विषय रहेको बताउनुभयो । कोरिया सरकारले लगानी गर्ने परियोजनाको महत्वपूर्ण पक्ष दिगोपना रहेको उहाँको भनाइ थियो ।
यस वर्षको अन्तिममा कोइकाको मुख्यालयमा यो परियोजनाको प्रस्ताव पठाएपछि प्रारम्भिक अध्ययनका लागि कोरियाबाटै टोली आउने उहाँले जानकारी दिनुभयो । यसका लागि चारदेखि पाँच जनाको विज्ञ टोलीले सबै पक्षसँग भेटेर अध्ययन गर्नेछ । कोरियाको नगद अनुदान मात्रभन्दा पनि प्राविधिक सहयोगमा बढी ध्यान केन्द्रित गर्नेछ । यसले परियोजना बढी प्रभावकारी हुने दाबी उहाँको छ ।
परियोजनाका बारेमा गण्डकी प्रदेश सरकारले गण्डकी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक सोमनाथ सापकोटाले विस्तृत जानकारी गराउनुभएको थियो । प्रदेशका लागि आवश्यकपर्ने जनशक्तिको प्रक्षेपणअनुसार तालिम सञ्चालन गर्नका लागि पूर्वाधारमा सरकारले सहयोगको अपेक्षा गरेको उहाँले जानकारी दिनुभयो ।
प्रदेश शिक्षा नीतिले प्रदेशभित्र सञ्चालन हुने सबै खालका प्राविधिक शिक्षा तथा तालिम यसै संस्था मातहत रहनुपर्ने परिकल्पना पनि गरेको छ । कोइकाले पोखराको फोहर व्यवस्थापनका लागि पनि काम गर्दैछ । खासगरी नकुहिने फोहरको व्यवस्थापनका लागि युएनडिपीलगायतका दातृ निकायसँग सहकार्य गरिएको छ । पोखराको सार्वजनिक यातायात व्यवस्थित बनाउनका लागि पनि कोरिया सरकारले विशेष चासो दिएको छ ।
पोखरा: प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ । लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

