भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा
काठमाडाैं | भदौ १९, २०७९

काठमाडौं । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन् । सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढङ्गले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । यहाँ उत्पादन भएका अकबरे खुर्सानी, तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौँलगायत सहरमा पुग्न थालेका छन् ।
सडकको सहज पहुँच भएका स्थानका कृषकको फार्मबाट नै सोझै कृषि उत्पादन बाहिरी जिल्लामा जाने अवस्था बनेको छ । यसबाट व्यवसायलाई थप राहत पुगेको कृषक रमिला श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कृषि कर्म बाँच्ने आधार बनेको छ । व्यावसायिकरूपमा गरेको तरकारी खेतीले वार्षिक रु आठ लाखसम्म आम्दानी हुन्छ ।”
यहाँको उत्पादन जिल्लासँगै धरान, विराटनगर, काठमाडौँलगायत स्थानमा जाने गरेको छ । सडकको सहज पहुँचका कारण फार्मबाट बेच्न पाएको किसान बताउँछन् । त्यस्तै जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका कृषक नगेन्द्र राईले पनि सात रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको खेती गर्दै आउनुभएको छ । उहाँले स्थानीय बजारमा प्रतिकेजी रु एक सय ५० देखि तीन सयसम्ममा खुर्सानी बेच्न गरेको जानकारी दिनुभयो । कृषक राईले भन्नुहुन्छ, “खर्सुानी तथा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । बजारको मागलाई पूरा गर्न नै समस्या छ । तर यस वर्ष मेरो भने ढुसीलगायतका रोगका कारण केही खुर्सानीका बोटमा क्षति भयो । तर पनि राम्रै आम्दानी गरिरहेको छु ।”
टेम्केमैयुङ –८ गोगने सल्लेनीका कृषक शम्भु नेपालले २२ रोपनी क्षेत्रफलमा ड्रागन फलको व्यावसायिक खेती गरिरहनुभएको छ । कृषक नेपालले अहिले २२ रोपनी क्षेत्रफलमा डा«गनफल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायीक खेती गरिरहनुभएको छ । उहाँले एक हजार बोट कुरिलो, एभोकाडोलगायतका बिरुवासमेत लगाउनुभएको छ ।
उहाँले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले एक हजार पाँच सय बढी पिलरमा ड्रागनफल लगाउनुभएको छ । ड्रागन र कागती बिक्रीबाट वार्षिक रु १२ लाख बढी आम्दानी हुने कृषक नेपालको भनाइ छ । अरुण गाउँपालिका–६ जरायोटारका प्रेमकुमार राईले पनि एभोकाडोको व्यावसायिक खेती गरिरहनुभएको छ । करिब पाँच वर्ष विदेश बसेर आउनुभएका राईले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडोको व्यावसायिकखेती सुरु गरेको जानकारी दिनुभयो । उहाँको फार्ममा अहिले एक हजार सय बढी एभोकाडोको बिरुवा छन् । एभोकाडो प्रतिकेजी रु तीन सयदेखि रु पाँच सयसम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ ।
केही वर्षबाट यसले उत्पादन दिन थाल्ने र वार्षिकरूपमा रु ३० लाखसम्म आम्दानी लिने लक्ष्य राखेको राईको भनाइ छ । कृषक राई भन्नुहुन्छ, “विदेशमा धेरै समय बसेँ, त्यहाँ धेरै दुःख गरियो । तर सोचेअनुसारको आम्दानी गर्न सकिएन, अहिले आफ्नै ठाउँमा व्यावसायिक एभोकाडो ९घ्यूफल० खेतीमा लागेको छु । मेरो वार्षिक रु ३० लाख आम्दानी लिने लक्ष्य छ ।”
सरकारले कृषकलाई प्रोत्साहन गर्ने विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएसँगै यसतर्फ कृषकको आर्कषण बढेको देखिन्छ । पछिल्लो समय फार्म नै दर्ता गरेर कृषि तथा पशुपालन व्यवसाय गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । यसबाट धेरै कृषकले आफ्नो आयस्रोतमा वृद्धि गरेका छन् । यस वर्ष पनि कृषक लक्षित कार्यक्रम सरकारले सञ्चालनका लागि बजेट पठाएको छ । यसबाट अझै धेरै कृषकलाई लाभ पुग्ने देखिन्छ ।
कृषि ज्ञान केन्द्र भोजपुरमार्फत नमूना कृषि फार्म, सुन्तला बगैँचा व्यवस्थापन, खाद्यन्न फलफूल, तरकारी खेती विस्तार, पशु सेवाअन्तर्गत च्यापकटर वितरण, बाख्रापालन, भेडापालन, अण्डा उत्पादन, बङ्गुरपालनलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । यहाँका धेरै कृषकले व्यावसायिक कृषिबाट राम्रो आम्दानी गर्दै आएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । यहाँका उत्पादन अहिले बाहिरी बजारमा जान थालेको अवस्था छ । विभिन्न स्थानीय तहमा पकेट क्षेत्र तथा ब्लक सञ्चालन भइरहेको छ ।
सरकारले कृषि तथा पशुपालनमा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा ल्याएसँगै यस क्षेत्रमा युवाको समेत आकर्षण बढेको छ । तर कतिपय कानुनी जटिलता तथा पहुँचका आधारमा अनुदान वितरण हुँदा लक्षित कृषकसम्म पुग्न नसेकाले यसतर्फ सजग हुन सरोकारवला पक्षले सुझाव दिएका छन् ।
काठमाडौं: सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै सुनचाँदी व्यवसायीहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप स...
सुनसरी: सप्तकोसी नदीमा उद्धार तालिमको क्रममा बेपत्ता भएका सशस्त्र प्रहरी बलका जवान सुरज साउदको शव फेला परेको छ। उनको शव कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकै शनिवार फेला परेको सशस्त्र प्रहरीले जनाएको छ...
काठमाडौं: नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा&ndas...