भूमिहीनहरूले लालपुर्जा पाइँदैन कि भन्ने कुराको शङ्का नगर्नुहोस्: प्रमुख आचार्य
पाेखरा | भदौ २२, २०७९
पोखरा। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कुनै पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी लालपुर्जा विहीन नहुने बताउनुभएको छ । पोखरा महानगरपालिका वडा नं.१४ मा जग्गाधनी पुर्जाको निस्सा वितरण गर्दै प्रमुख आचार्यले नागरिकको संवैधानिक अधिकारको प्रत्याभुतिका लागि आफूहरू प्रतिबद्ध रहेको बताउनुभएको हो ।
“वर्षौँदेखि यहाँहरूको अव्यवस्थित तरिकाले अन्यौलता बिचमा रहेका सबै कुराहरू सकिएका छन्, उहाँले भन्नुभयो, अव आफ्नो लालपुर्जा पाइँदैन कि भन्ने कुराको कुनै शङ्का छैन, तपाँईहरु सबैले प्राप्त गर्ने ठाउँमा पुग्नुभएको छ ।” मुलुक प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको मुखमा रहेका कारण केही समय यो स्थगित हुन सक्ने भए पनि यसको निरन्तरतामा कुनै प्रकारको सङ्कोच नराख्न उहाँले विश्वास समेत दिलाउनुभयो ।

राज्यले तोकेको मापदण्डमा रहेर मिले हाल बसिरहेकै स्थानमा नभए उपयुक्त स्थानको खोजी गरेर भए पनि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई उचित व्यवस्थापन गरिने उहाँले बताउनुभयो ।
राष्ट्रिय भूमि आयोग कास्कीका अध्यक्ष गङ्गा पोखरेलले आफूहरू निस्सा लगत्तै जग्गा धनी पुर्जा वितरणको तयारीमा रहेको बताउनुभयो । कास्कीमा पनि यस अभियानको सुरुवात गरिएको जनाउँदै उहाँले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुले प्राप्त गरेको निस्सालाई कमजोर नआँक्न सुझाव समेत दिनुभयो । जग्गा प्राप्ति अघिको लालपुर्जाका रूपमा यसलाई बुझ्न उहाँले आग्रह गर्नुभयो ।
पोखरा महानगरपालिका वडा नं. १४ का वडा अध्यक्ष बोध बहादुर कार्कीले मङ्गलवार १०० जना भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई निस्सा वितरण गरिएको जानकारी दिनुभयो । आफ्नो वडामा ७०० वटा निवेदन परेको जनाउँदै उहाँले क्रमशः सबैलाई निस्सा वितरण गर्ने बताउनुभयो । 
 
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                            