अध्यागमन विभागको कालोसूचीमा सन्दीप लामिछाने
काठमाडाैं | भदौ २६, २०७९

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार उनी जतिबेला पनि नेपाल आउन सक्ने हुँदा प्रहरीलाई ‘अलर्ट’ गरिएको छ।
विमानस्थलबाटै नेपाल आउने सम्भावना उच्च भएकाले जिल्ला प्रहरी परिसर काठमाडौंको पत्राचारपछि उनलाई कालोसूचीमा राख्न भनिएको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र घर्ती क्षेत्रीले जानकारी दिए।
काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न गत बिहीबार अनुमति दिएको थियो। पुर्जी जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई कप्तानबाट निलम्बन पनि गरिसकेको छ। लामिछाने जुनसुकै स्थानबाट पनि नेपाल आउन सक्ने हुँदा प्रहरीले देशैभर पक्राउ गर्न पत्राचार गरेको छ।
भदौ ६ गते उनी केन्यामा हुने टी २० खेलका लागि गएका थिए। त्यहाँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न उनी वेष्ट इन्डिज पुगेका थिए। क्यानले उनलाई निलम्बन गरेपछि लामिछानेले सिपिएल पनि खेल्न पाएनन्।
गत शुक्रबार उनले फेसबुकमार्फत आफूले सिपिएल छाडेर केही दिनमै नेपाल आउने बताएका थिए। उनले आफूमाथि लागेको आरोपको सामना गर्ने र निर्दोष भएको बताएका थिए। लामिछाने नेपाल कहिले आइपुग्छन् भन्ने टुंगो लागेको छैन।
उनी नेपाल नफर्किए इन्टरपोलको सहयोगमा उनलाई पक्राउ गरिने पनि प्रहरीको भनाइ छ। भदौ ५ गते काठमाडौंको एक होटलमा पुर्याएर १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको भन्दै लामिछानेविरूद्ध गत मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। जाहेरी परेपछि प्रहरीले सोही दिन पीडितको स्वास्थ्य परीक्षण गराएको थियो।
प्रहरीले घटनास्थलबाट प्रमाणहरू जुटाउने काम गरिरहेको जनाएको छ। प्रहरीले काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि संकलन गरेको छ। उनीहरू काठमाडौंको होटलमा जानुअघि भक्तपुरको नगरकोटस्थित होटलमा पनि पुगेको प्रहरीले जनाएको छ।
चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा ठूलो पहिरो खसेको छ । शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर खसेको पहिरोले १०० मिटर सडक ढाकेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नाराय...
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ । शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू...
काठमाडौं: गत वैशाखदेखि हालसम्म देशभर कूल तीन हजार ६८१ विपदका घटना भएका छन् । यसबाट छ हजार ५९० घर परिवार प्रभावित भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । सो अवधि...