विद्यार्थीबारे म्यासेजको व्यवस्था, अभिभावकलाई पनि ढुक्क

काठमाडाैं | भदौ २७, २०७९

विद्यार्थीबारे म्यासेजको व्यवस्था, अभिभावकलाई पनि ढुक्क

 


काठमाडौं । चितवनको एक सामुदायिक विद्यालयले मोबाइल म्यासेजमार्फत विद्यार्थी विद्यालय पुगेको र बाहिरिएको जानाकारी दिने प्रविधि प्रयोगमा ल्याएको छ  । भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माविले विद्यार्थीलाई समयमै विद्यालय आउने र घर जाने वातावरण बनाउन अभिभावकको मोबाइलमा म्यासेज पठाउन थालेको हो ।

 

यो प्रविधि जडान भएपछि विद्यार्थी विद्यालय पुग्नासाथ र विद्यालयबाट घरका लागि हिँड्नासाथ म्यासेज अभिभावकको मोबाइलमा पुग्छ । विद्यालयका प्राचार्य पूर्णप्रसाद दवाडीले स्कुलमा विद्यार्थीको सङ्ख्या धेरै भएका कारण व्यवस्थापनमा सहजता ल्याउन मोबाइलमा म्यासेज पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी घरबाट हिँडेर कहिलेकाहीँ स्कुल नपुग्ने र स्कुलबाट छुटेपछि पनि समयमा घर नजाने गुनासो आउने गरेपछि यो प्रविधिको सुरुआत गरेका हौँ ।” उहाँले विद्यालयले विद्यार्थीबारे म्यासेजको व्यवस्था गरेपछि अभिभावकलाई पनि ढुक्क हुने बताउनुभयो ।

 

“कहिलेकाहीँ ५ बजेसम्म पनि अध्ययन हुनसक्छ, म्यासेज नआएसम्म आफ्ना छोराछोरी स्कुलमा सुरक्षित छन् भनेर अभिभावक ढुक्क हुनुहुन्छ”, प्रचार्य दवाडीले भन्नुभयो । यो प्रविधिमार्फत विद्यार्थीको वैज्ञानिक व्यवस्थापनको अभ्यास थालिएको उहाँको भनाइ छ । यो प्रविधि जडानका लागि विद्यालयले भरतपुरको प्राचीन मेटल आर्टस् एण्ड फ्लेक्ससँग सम्झौता गरेको छ ।  प्राचीन मेटलका सञ्चालक गोपालभक्त अधिकारीले विद्यार्थीको आइडी कार्डमा चिप जडान गरिएको र विद्यार्थी विद्यालय प्रवेश गर्ने र बाहिरिने बित्तिकै अटोमेटिक रिड गरेर अभिभावकलाई म्यासेज पठाउने बताउनुभयो । अभिभावकलाई म्यासेज पठाउने प्रविधि केही निजी स्कूल कलेजमा यसअघिनै जडान गरे पनि सामुदायिक विद्यालयमा नारायणी नमूना मावि जिल्लामा नै पहिलो भएको उहाँले बताउनुभयो । 

 

विद्यालयसँग एक वर्षको सम्झौता गरेर काम गरिएको अधिकारीले जानकारी दिनुभयो । विद्यालयको बसमा समेत जिपिएस जडान गरिएको छ । जसको माध्यमबाट अभिभावक तथा शिक्षकले मोबाइल एपको माध्यमबाट स्कुल बसलाई ट्रयाक गर्न सक्नेछन् ।

 

विद्यालयमा तीन हजार पाँच सय बढी विद्यार्थी अध्ययनरत छन् । अभिभावकले विद्यालय पुर्याउने र लैजानेबाहेकका अन्य विद्यार्थीलाई म्यासेज पठाउने व्यवस्था गरिएको छ । करिब तीन हजार विद्यार्थीलाई एकैपटक म्यासेज जाने प्राचार्य दवाडीले बताउनुभयो । 

 

विद्यालयले सूचना र प्रविधिको माध्यमबाट अध्ययन अध्यापन गराउने कुरालाई प्राथमिकतामा राखेको जनाएको छ  । सबै कक्षाकोठामा प्रोजेक्टरको व्यवस्था गरिएको छ भने सिसीटिभी जडान समेत गरिएको दवाडीेले जानकारी दिनुभयो । विद्यालयले पढाउने विधिलाई पनि प्रविधिमैत्री बनाएको उहाँले जानकारी दिनुभयो ।

पोखरा:   सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट सम्पर्कविहीन भइ कास्कीको पोखरा महानगरपालिका– ३० गगनगौडामा भेटिएका उर्मिला हायूका परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । पोखरा–३०...

थप पढ्नुहोस्

हेटौंडा:   बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।  मुख्यमन्त्री कार्यालयमा मंगलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्...

थप पढ्नुहोस्

गण्डकी:  सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट थाकथलो छाडेर सोमबार बेलुका पोखरामा भेटिएका उर्मिला हायूको परिवारका सदस्यबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । उर्मिला सहित उहाँका परिवारक...

थप पढ्नुहोस्