‘खुसी जीवनका लागि समस्या बाँड्न आवश्यक’
कैलाली | भदौ २८, २०७९
कैलाली । कैलालीको टीकापुरका निर्मला चौधरीको जीवनमा विभिन्न खाले समस्या आइरहन्छन् । उहाँ समस्या पर्दा श्रीमान्लाई सबैभन्दा पहिले सम्झनुहुन्छ । आर्थिकलगायतका समस्या हुँदा उहाँ श्रीमान्सँग सल्लाह गर्ने, मनलाई बलियो बनाउने गर्नुहुन्छ । “समस्याबिनाको जीवन हुँदैन, आर्थिकलगायतका विभिन्न समस्या झेल्नुपर्छ । मलाई पनि विभिन्न समस्या पर्दै आएका छन्”, उहाँ भन्नुहुन्छ, “आर्थिक समस्या पर्दा श्रीमान्सँग सल्लाह गर्छु । अन्य समस्या पनि पर्छन् । तिनको समाधानका लागि अरुलाई सहयोग माग्ने गर्छु तर समाधान छैन भन्दै पीर मानेर बस्दिनँ ।”
जुन्नी चौधरी पनि आर्थिक अभावजस्ता समस्या हुँदा श्रीमान्सँग माग्ने, गाउँमा भएको समूहबाट ऋण लिने गर्नुहुन्छ । अन्य खाले समस्या परेमा गाउँकै बडघर र भल्मन्साको सहयोग लिनेजस्ता कार्य गर्नुहुन्छ । “हाम्रो समाजमा बडघर, भल्मन्सा र जनप्रतिनिधि छन् । हामी उनीहरुको सहयोगमा समस्या समाधान गर्छौँ”, जुन्नी भन्नुहुन्छ, “बच्चा बिरामी हुन्छन्, गाइभैँसी बिरामी हुन्छन्, आर्थिक अभाव हुन्छ, खेतीपाती गर्दा सहयोगी चाहिन्छन् । यी सबै समस्यामा साथ र सहयोग लिन्छु, तनावमा बसेर फाइदा छैन ।”
मानिसको जीवनमा समस्या आइरहन्छन् । समस्या, अभाव, दुःख, खुसी जीवन चलाउने माध्यम हुन् । खुसीले उमङ्ग दिन्छ भने समस्याले समाधानको खोजी गर्न र हिम्मतिलो बनाउँछ । समस्याले नै मानिसलाई सङ्घर्ष गर्न सिकाउनुका साथै हिम्मतिलो बनाउने गर्छ । जो मानिस समस्यासँग डराउँछ ऊ कमजोर हुन्छ भने जसले समस्यासँग जुध्ने कोसिस गर्छ ऊ सफल हुनुका साथै मानसिकरूपमा समेत बलियो बन्छ ।
धेरैजसो महिलाको जीवनमा आर्थिकलगायतका समस्या बढी हुन्छन् । ललिता थारूले समस्या पर्दा सासुलाई सबैभन्दा पहिला बाँड्नुहुन्छ । अन्य समस्या पर्दा छिमेकी तथा आफन्तलाई भन्नुहुन्छ र समस्यामा हिम्मत हार्नुहुन्न । “कस्ता अप्ठ्याराहरू झेल्नुपर्छ । म हिम्मत हार्दिनँ, हिम्मत हारेमा मन कमजोर हुन्छ”, उहाँ भन्नुहुन्छ, “कति कठिन दिन सहनुपरेको छ । समस्या निम्तनेबित्तिकै सासु–बुहारी छलफल गर्छौँ, उपाय सोच्छौँ र सहयोगी पहिचान गरेर सहयोग लिन्छौँ ।”
टीकापुरकी कविता चौधरीका घरमा घरमुली सासु–ससुरा हुनुहुन्छ । घरका सबै समस्या उहाँहरूले नै समाधान गर्नुहुन्छ । घरमा आइपर्ने समस्या उहाँहरूलाई कविताले राम्रो साथ दिनुहुन्छ । “आजभोलि सामान्य समस्या छिमेकीसँग सहयोग लिने, थप जटिल भएमा जनप्रतिनिधि, बडघरलाई गुहार्ने चलन छ”, कविताले भन्नुभयो, “समाज सरसापट र सहयोगमा चलेको छ ।”
अधिकांश महिलाले समस्या पर्दा श्रीमान्, सासुससुरालाई गुहार्छन् । बाँकी समस्या हुँदा आजभोलि वडामा रहेका जनप्रतिनिधिसँग सहयोग लिनेहरू पनि बढेका छन् । समस्या पर्दा नआत्तिने गरेको उनीहरू बताउँछन् । कैलालीकै सुनिता धामी समस्या समाधान गर्न नसक्दा आफैँ समस्यामा पर्नुभएको छ । “सुनिताको परिवारले गत वर्ष कोरोना महामारीका कारण धेरै पीडा झेल्यो । भारतमा कमाउने सुनिताका श्रीमान्को रोजगारी गुमेपछि आर्थिक सङ्कटसँगै थप सङ्कट झेल्नुप¥यो ।
“गत वर्ष निकै कठिन समय चल्यो । कोरोना महामारीले ठूलो मर्का पर्यो । श्रीमान्को कमाइ नभएपछि घर चलाउन धौँधौँ भयो”, उहाँले भन्नुभयो, “त्यसैमाथि सासु र मलाई कोभिड सङ्क्रमण भयो । अभाव र रोगले च्यापेपछि मलाई तवान भयो, म त निद्रा नलाग्ने समस्याले जेलिए ।” लामो समय यस्तै चलेपछि आजभोलि सुनिताले मनोपरामर्श सेवा र चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गरिरहनुभएको छ ।
समस्याको समयमै समाधान गर्न नसकेमा मानिसमा मनोसमस्या हुने, काम गर्न नसक्दा आर्थिकरूपले कमजोर हुनसक्ने, गलत निर्णय लिनसक्ने भएकाले मानिस संयमित हुन आवश्यक रहेको टीकापुर अस्पतालका डा लालसिंह टमट्टा बताउनुहुन्छ । “समस्या नभएको मानिस हुन्न तर समस्या समाधान गर्न पहल गर्नुपर्छ, नत्र समस्याले मानिसलाई खान्छ”, उहाँ भन्नुहुन्छ, “समस्याका कारण तनावमा बस्नु हुँदैन । एकोहोरो भएर बस्नु, मनमा कुरा राख्नुभन्दा योग, ध्यान गर्ने, मनका कुरा अरुलाई बाँड्ने, समस्याको पहिचान गरेर समाधानको बाटो खोजेमा जीवन सहज हुन्छ । समस्या आइपर्दा मन शान्त राख्न ध्यान दिनुपर्छ यसले स्वास्थ्य जोगाइराख्छ ।”
अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ। संघीय उड्डयन प्रशासन (एफएए) ले...
म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ। वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्यो। दोस्रो हाफको सुरुवाती चार म...
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...

