भुजीखोला लघुजलविद्युत्को कुलो बग्दा तीन सय ५० परिवार बिजुलीबिहीन
बाग्लुङ | असोज ५, २०७९
 
                                
                            
बागलुङ । अविरल वर्षापछि खसेको पहिराले ढोरपाटन नगरपालिका–७ स्थित लघुजलविद्युत् आयोजनाको कुलो बगाएको छ । कुलो बग्दा यहाँका तीन सय ५० परिवार बिजुलीबिहीन अवस्थामा छन् । भुजीखोला लघुजलविद्युत् आयोजना बन्द भएको छ ।
एक सय किलोवाट क्षमताको सो आयोजनाको कुलो बग्दा ढोरपाटन नगरपालिका–७ का तीन सय ५० परिवार बिजुलीबाट वञ्चित भएका छन् । अन्धकारमा बस्नुपर्दा उनीहरूको दैनिकी कष्टकर भएको छ । “बिजुली नभएपछि बालबालिकाले पढ्न लेख्न पाएका छैनन्, गृहकार्य पनि अँध्यारो नहुँदै सकाउनु परेको छ”, ज्ञानोदय माविका प्रधानाध्यापक यामबहादुर कायतले भन्नुभयो, “मोबाइलसमेत चार्ज गर्न सकिएको छैन ।” चाडपर्वका बेला देश–विदेशमा बसेका आफन्तलाई सम्पर्क गर्नसमेत नसकिएको उहाँले गुनासो गर्नुभयो ।
ढोरपाटन नगरपालिकाको वडा नं ५, ६, ७, ८ र ९ मा अहिले पनि राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छैन । गाउँलेकै चन्दाका भरमा एक दशकअघि बनेको उक्त लघुविद्युत् आयोजनाका भरमा स्थानीयले कुटानी, पिसानी तथा विद्यालयमा कम्प्युटर कक्षा चलाएका थिए । “भत्के–बिग्रेको काम पनि चन्दा उठाएरै गरिरहेका थियौँ, अहिले त पहिरो खसेर बर्बादै बनायो”, नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले भन्नुभयोे, “चाडपर्वमा बत्ती नभए कसरी खुसी हुने रु” कायतले स्थानीय युवाहरू परिचालन गरेर अस्थायीरूपमा पानी चलाउने प्रयास भएको बताउनुभयो ।
भुजीखोलाबाट निकालिएको बिजुलीको झण्डै २० मिटर कुलो पहिराले बगाएको छ । बगेको पहिरो तीन सय मिटर उचाइको छ । भिरमा गएर काम गर्न कठिन भएपछि स्थानीयले जस्तापाता र पाइपबाट पानी कटाएर कुलो चलाउने प्रयास गरिरहेका छन् । दिगो व्यवस्थापनका लागि भने स्थानीयले नगरपालिकासँग सहयोग मागेका छन् । वर्षात् नरोकिएकाले तत्काल दिगो व्यवस्थापन गर्न नसकिने अवस्था देखिएको उहाँले बताउनुभयो ।
“पहिरो अझै खस्नेजस्तो छ, मौसम ठिक भएपछि मात्रै बनाउने योेजना छ”, कायतले भन्नुभयो, “अस्थायीरूपमा पानी चलाउन पनि रु १० लाखभन्दा बढी खर्च हुने अवस्था छ ।” तीन वर्षअघि भुजीखोलाको बाढीले मुहान बगाएको थियो । मर्मत गरेर चलाएको कुलोको बीच भागमा खसेको पहिराले फेरि विद्युत् अवरुद्ध भएको हो ।
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर साधरणतया बदली रहेको छ । गण्डकी प्रदे...
प्रधानमन्त्री सुशीला कार्कीले सरकार, विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू र जेनजीका प्रतिनिधिबिच त्रिपक्षीय संवाद आह्वान गरेकी छन् । भदौ २३ र २४ गतेको उथलपुथलकारी जेनजी विद्रोहपछि गठित सर...
दमक नगरपालिका–२ पाङ्गिनीचोक नजिक गए राति यात्रीवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            