कपाल काटेरै तीनतले घर

काठमाडाैं | असोज ५, २०७९

कपाल काटेरै तीनतले घर

भरतपुर । सानै काम भए पनि निरन्तर लागिरह्यो भने सफलता मिल्छ भन्ने एक उदाहरण यहाँका सुरेश ठाकुरले देखाउनुभएको छ । परिश्रम गर्नसके स्वदेशमा नै काम गर्न सकिन्छ भन्ने उदाहरण ठाकुरले देखाउनुभएको हो । कपाल काटेरै उहाँले भरतपुरमा तीन तलाको घर बनाउनुभएको छ । 

    

त्यसो त उहाँका एक छोरा चार्टर एकाउन्टेन्ट उत्तीर्ण गरी काममा लागेका छन् । अर्का एक छोरा र एक छोरीले पनि उच्च शिक्षा हासिल गरिसकेका छन् । यो सबै ठाकुरको मेहनतको कमाइ हो । कलैया जिल्लाको देउताल गाउँपालिका–४ पिप्राडीका स्थायी बासिन्दा ठाकुरले स्थानीय विद्यालयबाट कक्षा १० उत्तीर्णपछि यो पेसामा लाग्नुभएको हो । स्थानीयस्तरमा काम सिकेर छ महिना उहाँले भारतको दिल्ली पुगेर तालिम लिनुभएको हो । 

    

विसं २०५० मा भरतपुरको तत्कालीन जिल्ला विकास समितिको जग्गामा रहेको सटरमा उहाँले कपाल काट्न सुरु गर्नुभयो । त्यतिबेला उहाँको उमेर १८ वर्षको थियो । उहाँले भन्नुभयो, “म मेरो फूपाजु रामकुमार ठाकुरसँग कपाल काट्ने कामका लागि चितवन आएँ ।” २६ वर्ष त्यहीँ ठाउँमा कपाल काटेपछि उहाँ अहिले केही पर सर्नुभएको छ ।

    

यहाँ आएर सुरुमा नै आफैँले व्यापार थालेको उहाँ सम्झनुहुन्छ । त्यतिबेला दाह्री र कपाल काटेको रु १० लिने गरिन्थ्यो । अहिले यो मूल्य बढेर रु एक सय ७० पुगेको छ । त्यतिबेला दैनिक ५० जना सम्मको दाह्री कपाल काटेको उहाँलाई अनुभव छ ।

    

अहिले यो सङ्ख्या ३०÷३५ छ । आम्दानी हुँदै गएपछि बसाइँ चितवन बनाउने रहर उहाँमा जाग्यो । यहाँ कमाएको पैसाले वीरगञ्जमा जग्गासमेत किनिसक्नुभएको थियो । सन्तान हुर्कंदै गएपछि त्यहाँको घडेरी बेचेर भरतपुर महानगरपालिका–१२ मा घडेरी किन्नुभयो । सोही घडेरीमा उहाँको तीन तलाको घर ठडिएको छ । ४५ वर्षीय ठाकुरका जेठा छोराले स्नातक गरेर जागिर खान थाल्नुभएको छ । कान्छो छोराले भारतको चण्डीगढबाट सिए उत्तीर्ण गरेर यही लेखापरीक्षण सुरु गर्नुभएको छ । उहाँका छोरी कक्षा १२ पढ्दै हुनुहुन्छ । अहिले पनि निरन्तर कपाल काट्दै आउनुभएका ठाकुर मेहनत ग¥यो भने यही कमाइ हुने बताउनुहुन्छ ।

    

जीवनको झण्डै तीन दशक यो पेसामा सङ्घर्षरत ठाकुरले भन्नुभयो, “मेहनत गरेर काम गर्नुस् विदेशिनु पर्दैन ।” कर्मथलो चितवन बनाउनु भएका ठाकुरको मेहनतको कमाइले स्थायी बसोबास भरतपुर बनेको हो । अहिले पनि उहाँको आफ्नै कमाइले परिवार धानेको छ । छोरीबाहेकको पढाइ खर्च घटेपछि र छोराको आम्दानी सुरु भएकाले अबका दिन यस्तै परिश्रम गरिरहनु नपर्ने उहाँ बताउनुहुन्छ ।

पोखरा:  यहाँको पोखरा महानगर– १७ स्थित सेती नदीको डिलैमा छ एउटा टिनको टहरा । प्राय त्यही टहरा भित्र भेटिनुहुन्छ ५५ वर्षीया मनमाया थापा मगर र उहाँकी २३ वर्षीय छोरा पूर्णबहादुर । पूर्णबहादूर पू...

थप पढ्नुहोस्

काठमाडौं: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अस्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अस्ट्रेलिया उडान गर्ने तयारी गरेको हो। उक्त प्रयोजनका निम्ति सिचुवान एयरलाइन्सले नियामक नेपाल ...

थप पढ्नुहोस्

काठमाडौं:  सरकारले सात दिन भित्र सामाजिक सञ्जाल दर्ता हुनुपर्ने निर्णय गरेको छ। भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुहुँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गु...

थप पढ्नुहोस्