व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक

काठमाडाैं | असोज ९, २०७९

व्यावसायिक किबीखेतीबाट आम्दानी गर्दै मेलम्चीका कृषक

 

मेलम्ची । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किबी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । वर्षौ देखि परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर उनीहरु किबीबाट मनग्य आम्दानी गर्न थालेका हुन् ।

    

सिन्धुपाल्चोकमा किबी खेतीका लागि उपयुक्त वातावरण भएकाले कृषक यस पेसातर्फ आकर्षित हुन थालेका छन् । मेलम्ची नगरपालिका–१ भोटेचौरमा १४ जना कृषक मिलेर किबी खेती गरिरहेका छन् । उनीहरुले हैबुङ कृषि फार्मबाट मेलम्ची–१ भोटेचौर र मेलम्ची–३ हैबुङमा किबी उत्पादन गर्दै आएका छन् । पचास रोपनी बढी जमिनमा उनीहरुले खेती गर्दै आएका हुन् ।

    

परम्परागतरुपमा लगाउँदै आएको मकै खेती छाडेर हावापानीअनुसारको खेती गर्न उनीहरु लागिरहेका छन् । मेलम्चीमा किबी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको मेलम्ची–१ का कृषक राजेन्द्र दुलालले बताउनुभयो । “करिब १२०० बोट किबी लगाएका छौँ । २०७० साल बाट सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “बजारमा किबीको मूल्य र माग दुवै रहेको छ । किबी रोपेर आम्दानी राम्रो भएको छ ।”

  

 “बिरुवा हुर्केर आम्दानी दिन पाँच वर्ष लाग्ने रहेछ । युट्युव र किताब हेरेरै खेती गर्ने प्रक्रिया सिकेका हौँ । सुरुमा रु एक करोडभन्दा माथि लगानी लागेको छ”, उहाँले सुनाउनुभयो । किबी खेती सँगसँगै बिरुवा पनि बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । 

  

 “जमिन बाँझो भएर बसेको छ । धेरै युवाहरुले वैदेशिक रोजगारी लाई रोज्ने गरेका छन् । हामी गाउँमै आधुनिक खेती गर्नपर्छ भनेर लागीरहेका छौँ । यो खेती गरेपछि पहिलाको जस्तो धेरै बाँदर र बँदेलले पनि दु:ख दिएको छैन । वार्षिक १० लाखभन्दा माथि आम्दानी हुन्छ”, दुलालले थप्नुभयो ।

  

किबीखेती गरेमा आम्दानी राम्रो हुने भएपछि आफूले किबी लगाएको मेलम्ची नगरपालिका–१ कुलप्रसाद चौँलागाइले बताउनुभयो । “किबी फल गाउँमा बिरलै सुन्न पाइन्थ्यो, एकजना अग्रज बाट यो फल राम्रो हो भन्ने जानकारी पाएँ । नौ/दश वटा फलमा हुने गुण एउटै किबी फलमा हुने रहेछ भन्ने ज्ञान प्राप्त गरेर हामीले यो फल सुरु गरेका हौँ’, उहाँले भन्नुभयो । किबी फलको भविष्य राम्रो रहेको उहाँले बताउनुभयो । 

  

 यो व्यवसाय अन्य बाली भन्दा उपलब्धिमूलक रहेको समेत उहाँले बताउनुभयो । सरकारले यो खेतीलाई प्रोत्साहन गर्नुपर्ने उहाँको माग छ । घरपरिवारको जीविकोपार्जन समेत किबी खेतीबाट राम्रो चलाइरहेको उहाँ बताउनुहुन्छ । 

 

मेलम्ची नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ९ वडाका कृषकले १० हजार किबीको बिरुवा लगाएका छन् । करिब छ सय २५ रोपनी जमिनमा कृषकले किबीखेती गर्दै आएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो । “पचास प्रतिशत लागत साझेदारीमा गतवर्ष १६ वटा फार्मलाई अनुदान दिएको थियो । यस वर्ष पनि प्रदेशको रु १५ लाख अनुदान वडा नं १ र ९ का कृषकलाई दिन लागिएको छ”, आचार्यले भन्नुभयो ।

  

 सुरुमा एक पटक लगानी गरेपछि ४०/५० वर्षसम्म उत्पादन दिइरहने भएपछि किसान यो खेतीतर्फ आकर्षित भएका हुन् । किबीखेती मौसमका अनुसार पनि मेलम्ची उपयुक्त मानिने हुँदा त्यसतर्फ बढी आकर्षित भएर यो खेतीको सुरुआत गरिएको मेलम्ची नगरपालिकाका कृषि शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो ।

    

किबी खेती समुद्री सतहबाट एक हजार दुई सय मिटरदेखि दुईहजार चार सय मिटर उचाइमा लगाइन्छ । यसलाई सिँचाइको आवश्यक पर्ने भए पनि वर्षामा पानी जम्न भने हुँदैन । किबी फललाई चाउरीपन, उच्च रक्तचाप, पोषण, छाला तथा मुटुका रोगीका लागि महत्वपूर्ण औषधिका रूपमा लिइन्छ ।

काठमाडौं:  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले केहि दिनको लागि अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन् ।  उनले सामाजिक सञ्जालमार्फत भनेका छन्– अस्तिदेखि मोबाइलमा, मेसेन्जरमा ...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसदलगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविध...

थप पढ्नुहोस्

पोखरा:  युनाइटेड क्लब पोखराले पोखरा महानगरपालिका वडा नं १० र १२ लाई सहयोग स्वरुप कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ ।  जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते आगलागीबाट वडा कार्यालयहरु पूर्ण र...

थप पढ्नुहोस्