दसैँको बेला सडक अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा | असोज १३, २०७९
बाजुरा । लगातारको वर्षाका कारण जेठ पहिलो सातादेखि अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्ग चार महिना बितिसक्दा पनि खुलेको छैन ।
राजमार्गमा पर्ने बूढीगङ्गा नगरपालिकाको अम्कोटमा पहिरो नरोकिएपछि सडक खुलाउन समस्या भएको हो । अम्कोटमा दसैं अघि सडक सञ्चालन नहुने निश्चितजस्तै भएको छ । चार महिनासम्म पनि सडक सञ्चालन हुन नसक्दा समस्या भएको छ । सडक डिभिजन कार्यालय साँफेबगर, अछामले गत साउन २३ गते वैकल्पिक सडक खोल्नका लागि काम सुरु गरे पनि त्यो बीचमै रोकिएको छ ।
सडक भत्किएकै ठाउँबाट सडक खोल्न खोज्दा स्थानीयले काम गर्न रोकेका छन् । अम्कोटमा अवरुद्ध सडक पहिरो हटाउन खोज्दा स्थानीयले अवरोध गरेका हुन् । सडक सञ्चालनमा नआउँदा सदरमुकाम मार्तडीलगायत पूर्वी उत्तरी क्षेत्र, हुम्ला र मुगुका बासिन्दा यातायात सेवाबाट वञ्चित छन् । दसैं तिहारका लागि घर आवत जावत गर्नेलाई सकस भएको छ ।
चाडपर्वमा स्थानीय महँगीको मारमा परेका छन् । स्थानीय अर्जुनप्रसाद जैशीका अनुसार वैकल्पिक सडक खुलाउनका लागि जग्गा उपलब्ध गराए पनि उक्त कार्य बीचमै रोकिएपछि सडक खुलाउन नसकिएको हो । उहाँले सडकमा आएको पहिरो हटाउन झनै जोखिम भएको बताउनुभयो । “वैकल्पिक सडक बनाउन जग्गा दियौँ, काम नगरेपछि हाम्रो के लाग्यो”, जैशीले गुनासो गर्नुभयो ।
सडक डिभिजन कार्यालय साँफेबगरका प्रमुख विवश बस्नेतले वैैकल्पिक मार्ग खोल्न आठ सय मिटर मात्र बाँकी रहेको बताउनुभयो । वैकल्पिक सडक खुलाउने क्रममा डोजर बिग्रेका कारण काम नभएको उहाँको भनाइ छ । सडकमा गएको पहिरो हटाएर यातायात पुनःसञ्चालन गर्न खोज्दा स्थानीयले अवरोध गरेको बस्नेतको आरोप छ ।
प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले तत्काल पहिरो गएको ठाउँमा सडक सञ्चालन गर्न पहल भइरहेको बताउनुभयो । विसं २०७६ यता बर्सातको चार महिना सडक अवरुद्ध हुँदै आएको छ । विसं २०७७ र २०७८ मा पनि बर्सातमा त्यही ठाँउमा चार महिना सडक अवरुद्ध भएको थियो । हिउँदमा सडक विभागले सडक बनाए पनि बर्सातमा पहिराले सडक भासिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले बताउनुभयो ।
सडक बन्द भएपछि मार्तडीलगायत बजारमा दैनिक उपभोग्य सामानको मूल्य वृद्धि हुन थालेको छ । जिल्ला अस्पतालबाट रिफर गरिएका बिरामीलाई जिल्ला बाहिर लैजान समस्या भएको छ । बूढीगङ्गा नगरपालिकाको अम्कोटस्थित सडक पहिराको उच्च जोखिममा छ । अम्कोटमा २०७७ भदौमा सडक भासिँदा एक जनाको मृत्यु भएको थियो ।
चार वर्षदेखि साँफे–मार्तडी सडक अवरुद्ध हुँदै आएको छ । सडकबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि वास्ता नगरेको नागरिक समाजका अगुवा सन्तोष विकले बताउनुभयो । अम्कोटको पहिरोबारे भूगर्वविद् आएर माटोको अध्ययन गरिसकेको छ । बर्सातमा पूर्णरुपमा बन्द हुने उक्त ठाउँमा वैकल्पिक मार्गका लागि पहल गरिनुपर्ने स्थानीयको माग छ ।
बागलुङ: तराई र पहाडलाई जोड्ने गरी निर्माण भएको सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा कामले गति लिन सकेको छैन । ट्र्याक खुलेको वर्षौँसम्म सडक स्तरोन्नति हुन नसक्दा स्थानीय र ढोरपाटन आउने पर्यटकले सास्त...
पोखरा: पोखराको लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पत्रकारिता अध्ययनरत विद्यार्थीले आइतबार कक्षाकोठाको चारदिवारी बाहिर निस्केर ‘मिडिया भिजिट’ गरेका छन् । स्नातक तहमा आमसञ्चार तथा पत्र...
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भएको छ। आइतबार औपचारिक रुपमा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममार्फत दुवै दलका शीर्ष नेताले एकता घोषणापत्रमा हस्ता...

