पुनहिलमा पर्यटकको भीड
म्याग्दी | कात्तिक ५, २०७९
म्याग्दी । म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा अवस्थित पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेपछि होटल व्यवसायी उत्साहित बनेका छन् । दसैँ र तिहार बिदाको सदुपयोग गर्न निस्केका आन्तरिक पर्यटकहरु प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका हुन् ।
विद्यालय र कलेज तिहारसम्म बिदा हुने भएकाले विद्यार्थीलाई घुम्न निस्कने राम्रो समय पनि अहिले हो । निरन्तरको वर्षाका कारण रोकिएका पर्यटक मौसममा सुधार आएसँगै यस क्षेत्रको भ्रमणमा आउने अन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुनथालेको होटल व्यवसायीले बताएका छन् ।
विश्वप्रसिद्ध चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको घोरेपानी र पुनहिल क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेपछि होटल व्यवसायीहरु उत्साहित भएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष विरेन पुनले जानकारी दिनुभयो । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पाइन्छ । समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा पुनहिल रहेको छ । घोरेपानीदेखि पुनहिलसम्म पुग्न पदमार्ग निर्माण गरिएको छ ।
असोज महिनाको सुरुवातसँगै पर्यटकको आगमन बढेको घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । पुनहिलमा बिहानीको सूर्योदयसँगै आँखैअगाडि देखिने हिमशृङ्खलाको अवलोकनका लागि पर्यटक पुग्ने अन्नपूर्ण गाउँपालिका–५ शिखका स्थानीयवासी सुरेन गुरुङले बताउनुभयो । चम्किला किरण छर्दै हिमालकै छेउबाट उदाउने सूर्योदयको दृश्यावलोकनसँगै पूर्वदेखि पश्चिमसम्म नै लहरै देखिने हिमचुचुरोको दृश्यले पर्यटक खुसी भएर फर्कने गरेको गुरुङले जानकारी दिनुभयो ।
पुनहिलबाट आठ हजार मिटरभन्दा अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमालको रेञ्जमा पर्ने झन्डै २० भन्दा बढी हिमचुचुरालाई नजिकबाट नियाल्न सकिन्छ । “दसैँसँगै प्रतिदिन तीन सय ५० जनासम्म विदेशी पर्यटक घोरेपानी भित्रिएको हाम्रो अभिलेख छ । धेरैजसो पर्यटक घान्द्रुक एवं अन्नपूर्ण बेसक्याम्प (एबिसी) बाट फर्कने वा पोखराबाट घोरेपानी आएर घान्द्रुक वा एबिसीतिर जाने गरेका छन्”, प्रहरी सहायक निरीक्षक सन्तोष भुसालले बताउनुभयो ।
घोरेपानीमा सानाठूला गरी ३० होटलमा चार सय शय्या छन् । अन्नपूर्ण फन्को मार्न र दसैँतिहारको छुट्टी मनाउन आएका आन्तरिक पर्यटकको भीडले तातोपानीका होटल तथा गेस्ट हाउस पनि खचाखच भएका हुन् ।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

