चितुवाको आक्रमणबाट ज्यान गुमाएकी बालिकाको परिवारलाई राहत
तनहुँ | कात्तिक ५, २०७९
तनहुँ । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–३ सिस्नेघारीकी ११ वर्षीया वीना चेपाङको परिवारलाई राहत उपलब्ध गराइएको छ । डिभिजन वन कार्यालयले किरिया खर्चबापत मृतकका परिवारलाई रु ५० हजार उपलब्ध गराएको हो ।
शुक्रबार बिहान ६ः३० बजे चितुवाको आक्रमणमा परी चेपाङको मृत्यु भएको थियो । सहायक वन अधिकृत काशीराज पण्डितका अनुसार मृतकका बुबा चन्द्रबहादुरलाई किरिया खर्च बापत उक्त रकम उपलब्ध गराइएको हो । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाएकालाई राहतस्वरुप रु दश लाख दिने प्रावधान रहेको र बाँकी रकम प्रक्रिया पूरा गरेर पीडित परिवारलाई उपलब्ध गराइने उहाँको भनाइ थियो ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी सामान्य घाइते भएमा रु पचास हजारसम्म, सख्त घाइते भएमा रु दुई लाखसम्म र मृत्यु भएमा अधिकतम रु दश लाखसम्म उपलब्ध गराउने व्यवस्था छ ।
बन्दीपुरमा केही समययता चितुवाको आक्रमण बढेकाले चितुवा नियन्त्रणका लागि प्रयास थालिएको छ । चितुवालाई डार्टिङ गरी नियन्त्रणमा लिन तालिमप्राप्त प्राविधिकसँग समन्वय गरिएको उहाँले बताउनुभयो । “अहिले तत्कालका लागि उक्त ठाउँमा खोर राखेका छौँ, केही समयपश्चात् तालिमप्राप्त टोली आएपछि डार्टिङ गरेर चितुवा नियन्त्रणमा लिने प्रयास गरिनेछ”, सहायक बन अधिकृत पण्डितले भन्नुभयो, “यसका साथै स्थानीयवासीलाई सचेत रहन पनि आग्रह गरेका छौ ।”
चाडपर्वका बेला चितुवाको त्रास बढेपछि स्थानीयवासी आतङ्कित भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । वडा नम्बर १, ३ र ४ मा विगत चार महिनाको अवधिमा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको अन्य दुई जना घाइते भएका थिए अहिले झन तिहार सुरु भएकाले स्थानीयवासी त्रस्त छन् ।
गत असारमा वडा नं १ र ४ मा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको र अन्य दुई घाइते भएका थिए । चितुवाको आक्रमणबाट पछिल्लो पाँच वर्षको अवधिमा १२ बालबालिकाले ज्यान गुमाए का र उनीहरु १२ वर्षभन्दा कम उमेरका थिए ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

