शहरमा रहर, गाउँमा गोठालाकाे भर
म्याग्दी | कात्तिक ७, २०७९
बेनी:
प्रायः शहरी क्षेत्रमा रहरमा कुकुर पाल्ने गरिन्छ । आर्थिकरुपमा सम्पन्न व्यक्तिले आफ्नो सोखका लागि कुकुर पाल्ने गर्छन् । यसरी पालन गरिने कुकुरको भूमिका खास नभए पनि ग्रामीण भेगका गोठमा पाल्ने कुकुर भने गोठालाका सुरक्षाको भरोसा बन्ने गरेका छन् ।
परम्परागत रुपमा घुम्ती गोठ राखेर गरिने पशुपालनमा कुकुर गोठालाका सारथी बन्ने गरेका छन् । अनकन्टार जङ्गल, पहाड र हिमालका बुकीसम्म नै घुम्तीरुपमा गरिने भेडापालन र गाईभैँसीका गोठमा कुकुरलाई मुख्य हेरालुको रुपमा पाल्ने गरिन्छ ।
अन्नपूर्ण गाउँपालिका–५ का भेडापालक युवा प्रकाश पुनले भेडीगोठमा रहेका भेडाको हेरालु र गोठको सुरक्षाका लागि कुकुर पालिएको बताउनुभयो । “हामी पनि गोठमा हुन्छौँ, तर कहिलेकाहीँ जङ्गली जनावरले गोठमा रहेका भेडामाथि आक्रमण गर्नसक्ने जोखिम रहन्छ, जङ्गली जनावरको आक्रमणमा प्रतिकार गर्न र पशुधनको रक्षा गर्न कुकुरले ठूलो सहयोग पुग्ने गरेको छ”, उहाँले भन्नुभयो ।
खोप्रा र खयर क्षेत्रमा व्यावसायिक भेडापालन गरेका हरेक गोठमा ‘भोटे’ जातका कुकुर रहेका छन् । अधिकांश समय जङ्गलमै बिताउनुपर्ने भएकाले कुकुरको सुन्ने र सुँधेर पत्ता लगाउन सक्ने शक्ति बढी हुने भएकाले गोठमा गोठाला र गोठका भेडाबाख्राको सुरक्षामा कुकुरलाई द्वारपालकको रुपमा लिने गरिन्छ ।
खासगरी पहाडी क्षेत्रमा घुम्ती चरनमा लैजाने गरी राखिने गोठका गाईभैँसीपालन र भेडाबाख्रासँगै गोठमा रहेका गोठाला र हेरालुका समेत सारथी र साथी कुकुर नै हुन् । चरन क्षेत्रको लागि गोठको दूरी टाढा–टाढा राख्ने भएकाले गोठमा सुरक्षाको भरोसा कुकुरमै निर्भर हुने गरेको धौलागिरि गाउँपालिका–५ मल्कबाङका भेडापालक कृषक हिमबहादुर छन्त्यालले बताउनुभयो ।
जङ्गलका बाघ, चितुवा, भालुलगायतका हिंस्रक जनावरको आक्रमणले भेडाबाख्रामा पार्ने क्षति न्यूनीकरण गर्न कुकुरले महत्वपूर्ण भूमिका खेल्ने गरेको उहाँले सुनाउनुभयो ।
“गोठदेखि जङ्गलमा चरन क्षेत्रसम्म नै कुकुरले भेडाबाख्रालाई घुमीघुमी रेखदेख गर्छन्, जङ्गली जनावरको आवाज र सङ्केत पनि कुकुरले नै छिटो थाहा पाउने भएकाले ठूलो स्वरमा भुकेर भगाउने गर्छन्, हामीगोठमा कुकुरकै भरमा हुन्छौँ”, उहाँले भन्नुभयो । करिब छ सय बढी भेडापालन गर्नुभएका छन्त्यालको गोठमा दुई जना हेरालु र चार कुकुरले भेडीगोठ धानेका छन् ।
चरन क्षेत्रमा समेत कुकुरले नै भेडाबाख्रालाई जोखिमपूर्ण ठाउँमा जानबाट रोक्ने र साँझ गोठतर्फ भेडाबाख्रा ल्याउन सहयोग गर्ने गरेको विगत ६० वर्षदेखि नै भेडापालनमा सक्रिय रहनुभएका अन्नपूर्ण गाउँपालिका–५ का ७८ वर्षीय लालविर तिलिजा बताउनुभयो ।
गोठका सारथी बनेका कुकुरलाई जङ्गली जनावरको आक्रमणबाट बचाउन कुकुरको घाँटीमा काँडेमाला लगाइदिने गरिन्छ । जिल्लाको लेकाली क्षेत्र समेटिएको क्षेत्रमा घुम्ती गोठ राखेर पशुपालन गर्ने प्रचलन रहेको छ । घरपालुवा गुनिलो र आज्ञापालक तथा सुरक्षामा भरपर्दो जनावरको रुपमा चिनिने कुकुरको महत्वलाई तिहारको अवसरमा गरिने कुकुर तिहारको पूजा आराधानाले थप बढाउने गरेको छ ।
यमपञ्चकअर्थात् दीपावलीपर्वको कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ ।
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

