पर्वतको धरामराउँदो खेलमा नवौँ राष्ट्रिय खेलकुदले थप्यो उत्साह

पर्वत | कात्तिक ८, २०७९

पर्वतको धरामराउँदो खेलमा नवौँ राष्ट्रिय खेलकुदले थप्यो उत्साह

 

पर्वत । कुनै समय सदरमुकाम कुश्मा बजारमा फराकिलो खेलमैदान थियो । हरेक हप्ता  विभिन्न खेलकुद प्रतियोगिता भइरहन्थे । सदरमुकाम कुश्माका युवा साँझबिहान खेल मैदानमा भेटिन्थे । उनीहरुको खेलकुदमा बेग्लै उत्साह र लगाव पनि थियो । 


तर माओवादी द्वन्द्वकालमा कुश्माको बडगाउँ खेलकुद मैदानको जिम्मा सशस्त्र प्रहरीले लियो । खेलमा भविष्य खोज्दै गरेका युवा खेल खेल्नबाट बञ्चित भए । खेलमैदान नहुँदा लामो समयसम्म यस क्षेत्रमा खेलकुदका गतिविधि ठप्प रहे । आज पनि सदरमुकाम कुश्मामा राम्रो खेल मैदान बन्न सकेको छैन । 


विसं २०५८ मा बडगाउँ खेलमैदानमा सशस्त्र प्रहरी बसेपछि पर्वतको खेलले गति लिन छाडेको खेलप्रेमीहरुको गुनासो छ । “मापदण्ड अनुसारको खेलमैदान नहुँदा एन्फाले दिने सेवा तथा सुविधाबाट फुटबल खेल र खेलाडी बञ्चित भएका छन्”, पूर्व फुटबल खेलाडी राजन गुरुङले भन्नुभयो, “पहिले हप्तैपिच्छे प्रतियोगिता भइरहन्थ्यो । तर अहिले त्यो हुन छाडेको छ ।” गुरुङसँग क्षेत्रीय तथा राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागी भएका अनुभव छ ।


“२०५४ तिर बडगाउँ चौरमा पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भएको थियो, मैले गोल्डमेडल जितेको थिएँ”, ४५ वर्षे खेलाडी नरेश श्रेष्ठले भन्नुभयो, “अन्य जिल्लामा पनि पर्वतका खेलाडीको सम्मान थियो तर खेलमैदानको अभावमा खेलाडी उत्पादन हुन सकेका छैनन ।” 

 

विगतमा बडगाउँ खेल मैदानमा फुटबल, भलिबल, ह्याण्डबल, टेबलटेनिस, तेक्वान्दो, कराते, हाइजम्प, लङजम्प, दौडलगायत खेल नियमित भइरहन्थे । 
तर लामो समयपछि पर्वतमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको राष्ट्रिय कराते खेल सञ्चालन भएको थियो । यसले यहाँका खेलाडी, दर्शक तथा खेलप्रेमीमा नयाँ उत्साह थपेको छ ।


“द्वन्द्वकालीन अवस्था र खेलमैदानको अभावले गर्दा पर्वत खेलकुदमा लामो समयसम्म पछाडि रह्यो, यसबीचमा पर्वतले राष्ट्रिय स्तरका खेलाडी जन्माउन सकेन”, कराते प्रशिक्षक तथा कराते महासङ्घ पर्वतका संयोजक राम श्रेष्ठले भन्नुभयो । 


तर नवौँ राष्ट्रिय खेलकुदबाट पर्वतले पनि राष्ट्रिय खेल सम्पन्न गर्न सक्दोरहेछ भन्ने प्रमाणित भएको उहाँको भनाइ छ । धेरै वर्षपछि खेलाडी, अभिभावक र खेलप्रेमीमा हौसला र उत्साह जागेको उहाँको भनाइ छ । 


“राष्ट्रिय प्रतियोगिता आयोजना गर्नु सहज थिएन । आवश्यक पूर्वधार बिना पनि छोटो समयमा बन्दोबस्त गर्न सफल भयौं”, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले भन्नुभयो । 


पूर्वधार निर्माणका लागि भनेर राष्ट्रिय खेलकुदबाट कुनै पनि रकम उपलब्ध नभएको उहाँको भनाइ छ । उहाँका अनुसार रु पाँच लाखभन्दा बढी रकम जिल्ला खेलकुद विकास समिति आफैले ऋण खोजेर खर्च गरेको छ । 


कुश्मामा सम्पन्न राष्ट्रिय कराते खेलले समग्र पर्वतको पहिचानलाई देशभर चिनाउन भूमिका खेलेको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले बताउनुभयो ।


“हामीले पूर्वाधार निर्माणका लागि रु दश लाख उपलब्ध गराएका थियौँ”, उहाँले भन्नुभयो, “खेलकुदको विकासका लागि भोलिका दिनमा पनि सहयोग गर्न कुनै कन्जुस्याइ हुँदैन ।”

पोखरा:  नेपाली समाज अनि संस्कृतिको बारेमा गहन अध्ययन गरेका वेलायतका प्राध्यापक डेविड गेल्नरले शुक्रबार पोखरामा यसबारे चर्चा गरेका छन् ।  अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक गेल्नरले नेपाली दलित सम...

थप पढ्नुहोस्

काठमाडौं:   सरकारले आगामी आर्थिक वर्षदेखि नियुक्त हुने सरकारी कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गर्ने भएको छ । पेन्सन वा उपदानको सट्टा उक्त प्रणाली लागू गर्न लागिएको अर्थ मन्त्रालयले ज...

थप पढ्नुहोस्

पोखरा: देशभरका सुनचाँदी व्यवसायीहरुले एकसातादेखि पसलमा ताला लगाएर सुनचाँदीमा लगाएको ‘विलासी कर’ को खारेजी माग राखेर विरोध गरिरहेका छन् ।  नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र स...

थप पढ्नुहोस्