गाउँघरमा जस्तो मौलिक परिकार पाक्नै छाड्यो
काठमाडाैं | कात्तिक ९, २०७९
काठमाडौं । तिहारलाई विशेष परिकारको पर्व भन्ने गरिन्छ । चाडपर्वका समयमा सहर बजारमा गाउँघरको जस्तो मौलिक परिकार पाक्नै छोडिसकेका छन् । परिकार बनाउने सीप भएका महिलाले तिहारअघि नै परिकार बनाएर बेच्न थालेका छन् ।
फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा, खुर्मालगायतका तिहार विशेष परिकार सहजै बजारमा किन्न पाउने भएपछि कामकाजी महिलालाई परिकार बनाउने झन्झट हटेको छ, भने सीप र जागर भएका महिलाले आयआर्जन गर्ने मौका पाएका छन् । नेपालगञ्जस्थित सफल बहुउद्देशीय सहकारी संस्थाकी सरस्वती सुवेदीलाई यतिबेला तिहार विशेष सामग्री बेच्न भ्याइनभ्याइ छ । बत्तीस सदस्य रहेको सहकारीले बचत र सदस्यहरुमै ऋण लगानी गर्दै आएको छ । विगत एक वर्षदेखि सञ्चालनमा रहेको सहकारी यसैवर्ष दर्ता भयो । पहिलो पटक संस्थामार्फत तिहारका लागि भाइमसला, चामलको साटो र पिठो बिक्री भइरहेको छ ।
नरिवल, ओखरलगायतका १७ सामग्री मिसाएको भाइमसला रु एक सय ५० देखि रु एक हजार ५० सम्म बिक्री भइरहेको छ । सधैँ बजारमा गएर तिहार विशेष सामग्री किन्ने संस्थाका सदस्य यसपटक घरमै तयार गरेर बिक्री गरिरहेका छन् । सामग्री धमाधम बिक्री हुन थालेपछि यो काममा उत्साह थपिएको उहाँको भनाइ छ ।
उहाँ जस्तै नेपालगञ्जका सीप र जाँगर भएका अन्य महिलाले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेर तिहार विशेष परिकार बिक्री गरिरहेका छन् । यस्ता महिलाको उत्पादनलाई बजारीकरण गर्न महिला उद्यमी सङ्घ बाँके र नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको कोसेली घरले सघाउँदै आएको महिला उद्यमी सङ्घ बाँकेका महासचिव सुनिता पाण्डेले बताउनुभयो ।
नेपालगञ्जमा विगत पाँच वर्षदेखि कोसेली घरले महिला उद्यमीले उत्पादन गरेका विभिन्न मौलिक सामग्री बजारीकरणमा सघाउ पुर्याउँदै आएको छ । यसपटक पनि फिनी, सेल रोटी, अनरसा, झिलिङ्गा खुर्मालगायतका तिहार विशेष परिकार बिक्रीमा राखिएको छ ।
चाडवाडमा अधिकांशको घरमा यी परिकार अनिवार्यरुपमा पाक्ने गर्छन् । तिहार परिकारको पर्व पनि हो । तर कामकाजी महिलालाई कामबाट फुर्सदलिएर परिकार बनाउनुपर्ने झण्झट रहेकोमा तयारी परिकार नै किन्न पाइने भएपछि सहज भएको भेरी नर्सिङ कलेजका सञ्चालक रेवती सिंहले बताउनुभयो ।
उहाँ जस्तै नेपालगञ्जकी महिला नेत्री नितु चन्दलाई पनि घरकै स्वादमा तयारी परिकार पाउन थालेपछि सहज भएको बताउनुहुन्छ । कामकाजी महिलालाई तयारी परिकारले एकातिर सहजता थपिएको छ, भने अर्कोतिर चाडवाडमा हातमा सीप भएका गृहिणी महिलाले रोजगारी समेत पाउन थालेका छन् । गतवर्ष कोशेली घरमार्फत करिब रु ४० हजार बराबरको परिकार विक्री भएको महिला उद्यमी संघ बाँकेका उपाध्यक्ष सावित्रा बस्नेतले जानकारी दिनुभयो । परिकार खेर जान नदिन कोशेली घरले माग अनुसार महिलाहरुलाई उत्पादनको काम दिने गरेको छ । गतवर्ष २ महिलालाई तिहार विशेष परिकार विक्रीका लागि जिम्मा दिएकोमा यसवर्ष माग बढेपछि १० जनाले यो काम पाएको उहाँको भनाई छ ।
चाडपर्वमा पाक्ने मौलिक परिकार केहि समय यता शहरमा देखिन छोडिसकेका थिए । सिप भएका महिलाहरुले व्यवसायका रुपमा गर्न थालेपछि विभिन्न समुदायका मौलिक परिकारबारे नयाँ पुस्ताले जान्ने अवसर पाएका छन् भने महिलाका आयआर्जनमा थप टेवा पुगेको छ ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

