बागलुङ र पर्वत जोड्ने लामो पुलमा आगन्तुकको भीड
बाग्लुङ | कात्तिक १३, २०७९
बागलुङ : फुर्सद झिकेर घुमघाममा निस्केका ३० जना पोखरेलीले बागलुङलाई गन्तव्य बनाए । छोटो दूरीको यात्राका लागि उनीहरूले बागलुङ रोजेका थिए । सुरुमा प्रसिद्ध कालिका भगवतीको दर्शन गरे । दोस्रो रोजाइमा भने ‘गण्डकी गोल्डेन ब्रिज’लाई पारे ।
पाँच सय ६७ मिटर लामो उक्त झोलुङ्गे पुलले बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ अदुवाबारी जोड्छ । पछिल्लो समय बागलुङ भित्रने जो–कोहीलाई सो पुलले लोभ्याउने गर्छ । मानिसहरू रुचिपूर्वक पुल हेर्न पुग्छन् ।
धेरैले तरेरै रमाइलो लिन्छन् । नसक्नेले चाहिँ हेरेरै चित्त बुझाउँछन् । पुल तर्दा हलुका डर लागे पनि रोमाञ्चक अनुभव भएको यात्रामा सहभागी रेश्मा ढुङ्गाना बरालले बताउनुभयो । पुल छेउछाउको दृश्यले पनि आकर्षित गरेको उहाँको भनाइ छ ।
पवित्र कालीगण्डकी नदीमाथि बनेको उक्त पुलबाट देखिने प्राकृतिक सौन्दर्य पनि मनमोहक छ । ‘सिङ्गल स्पाम’तर्फ देशकै लामो सो झोलुङ्गे पुल एक सय ६५ मिटर अग्लो छ । पर्वतको फलेबासदेखि आएका किशोरीहरू पनि मध्याह्नपख पुलमा रमाइरहेका देखिन्थे ।
तस्वीर लिन र ‘टिकटिक’ बनाउन तँछाडमछाड थियो । नाम बताउन नचाहने पनि उनीहरूले यति लामो झोलुङ्गे पुल पहिलोपटक तरेको सुनाए । चाडबाडको बिदा पारेर घुम्न निस्केको उनीहरूको भनाइ थियो । बागलुङ–१ का वडाध्यक्ष जयबहादुर केसीले बिदा पर्दा पुलमा दैनिक सयौँ पर्यटकको भीड लाग्ने गरेको बताउनुभयो ।
“कालिका भगवतीको दर्शन गर्न आउने अधिकांश पुल पनि हेर्न आइपुग्छन्, पोखरालगायत ठूला सहर र बाहिरी जिल्लाबाट पनि पर्यटक आउन थालेका छन्”, उहाँले भन्नुभयो, “पुल आसपासमा सौन्दर्यीकरण गर्ने र अरु पूर्वाधार थप्न सके अझ धेरै पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।”
छेउमै रहेको सहिद उद्यानले केही मात्रामा भए पनि पुलको आकर्षण बढाएको उहाँको भनाइ छ । पुल बनेपछि सर्वसाधारणको आउजाउ सहज हुनुका साथै पर्यटकीय गतिविधि बढेको हो । स–साना रेष्टुराँ, खाजाघर खोलेर स्थानीयवासी आयआर्जनमा जोडिएका छन् । होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले पुल बनेपछि बागलुङले नयाँ गन्तव्यस्थल पाएको बताउनुभयो ।
“लामो पुलले नयाँ पर्यटकीय आकर्षण थपेको छ, बाहिरबाट पर्यटक पनि आइरहेका छन्”, उहाँले भन्नुभयो, “पहिले रातिको समयमा पुलमा झिलीमिली बत्ती बल्थ्यो, अहिले त्यो नहुँदा सौन्दर्य केही घटेजस्तो भएको छ ।”
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विकास विभाग, सस्पेन्सन ब्रिज डिभिजन कार्यालयमार्फत रु १२ करोड २२ लाखको लागतमा उक्त पुल बनेको हो । अध्यक्ष चोखालले आन्तरिक पर्यटक बागलुङ आउने दिनभर घुम्ने र साँझ फर्कने गरेको स्थितिलाई फेर्नुपर्ने धारणा राख्नुभयो ।
“बागलुङ पनि एउटा पर्यटकीय गन्तव्य हो भन्ने विस्तारै स्थापित त हुँदैछ तर पर्यटकलाई एक–दुई रात बास बसाउने गरी घुमघामको प्याकेज दिन आवश्यक छ”, अध्यक्ष चोखालले भन्नुभयो, “पर्यटन व्यवसायीलगायत सरोकारवाला बसेर पर्यटन प्रवद्र्धनको योजना बनाउनुपर्छ, पर्यटनमा हाम्रो भविष्य छ ।”
उहाँले पर्यटक भित्र्याउन सजिलो नभएको भन्दै पूर्वाधार र प्रवद्र्धनको कमी रहेको उल्लेख गर्नुभयो । अहिलेसम्म बागलुङको पर्यटन गुरुयोजनासमेत बन्न सकेको छैन । छोटो समय लिएर बागलुङ आउने पर्यटकले कालिका भगवती मन्दिर, लामो झोलुङ्गे पुल, पञ्चकोट, शालिग्राम सङ्ग्रहालय आदि घुमेर यात्रालाई बिट मार्छन् ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

