पञ्चासेमा तोरण महोत्सव गरिँदै
पर्वत | कात्तिक १४, २०७९

पर्वत : पर्वत, कास्की र स्याङ्जा जिल्लाको सङ्गमस्थल प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल पञ्चासेमा तोरण महोत्सव गरिने भएको छ । यही कात्तिक १८ गते हरिबोधनी एकादशीको अवसरमा उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।
पछिल्लो समय पवित्र कालीगण्डकी नदीमा तोरण तार्ने प्रचलन लोपहुँदै गएकाले त्यसको जगेर्नाका लागि पञ्चासेमा विगत पाँच वर्षदेखि निरन्तर उक्त महोत्सव गरिँदै आइएको छ । हरिबोधिनी एकादशीलाई तोरण तार्ने दिनका रूपमा पनि लिने गरिन्छ । दुई–तीनदशक अगाडिसम्म जिल्लामा ‘तोरण तार्ने’ लाई ठूलो उत्सवका रूपमा लिने गरिन्थ्यो । हरिबोधिनी एकादशीका दिन गाउँ–गाउँबाट जन्तीले झैँ काँधमा डोला बोकेर हिँडेका देखिन्थे । उनीहरूको गन्तव्य पवित्र कालीगण्डकी हुन्थ्यो ।
जिल्लाको कुश्मा नगरपालिका–५ मोदीवेणीको मोदीवेणीधाम हुँदै बग्ने कालीगण्डकी नदी तारेर ‘तोरण’ तारिन्थ्यो । वारिपट्टि पर्वत र पारिपट्टि बागलुङको किनारमा बाबियोका मोटा लट्ठामा फूलमाला उनेको ‘तोरण’ तार्न कालीगण्डकी नदी पौडेरै वारपार गर्नेहरू भेटिन्थे । आजभोलि ‘तोरण’ तार्ने प्रचलन लोपहुँदै गएको छ । पछिल्लो पुस्तालाई त कालीगण्डकी तरेर ‘तोरण’ तारिन्थ्यो भन्दा पनि विश्वास लाग्दैन तर तीन जिल्लाको सङ्गमस्थल तथा जिल्लाकै उच्च स्थानमा रहेको पञ्चासेको तालमा भने विगत चार वर्षदेखि ‘तोरण महोत्सव’ हुँदै आएको हो । तोरणको महत्व लोप हुन नदिन तथा संस्कृतिलाई निरन्तरता दिन एकदिने महोत्सव आयोजना हुँदै आएको छ ।
पञ्चासे बुद्ध विहार साहिस्वारा र राधाकृष्ण सुदामा मन्दिरको संयुक्त आयोजनामा महोत्सव हुन लागेको छ । समुद्री सतहबाट करिब दुई हजार दुई सय मिटरको उचाइमा रहेको पञ्चासे ताल वारपार गर्ने गरी बाबियोबाट बनाइएको ‘तोरण’ तार्ने र सोही अवसरमा भजन चुड्कासहितका सांस्कृतिक कार्यक्रम राखेर महोत्सव आयोजना गर्न लागिएको राधाकृष्ण सुदामा मन्दिर सञ्चालक समितिका सचिव लक्ष्मण शर्माले बताउनुभयो ।
“पहिले–पहिले मोदीवेणीधाममा तोरण तार्नेको भीड हुन्थ्यो । गण्डकीको किनारमा हजारौँ जम्मा भएर वारिको तोरण पारी किनारमा लगिन्थ्यो ।
पौडीबाजहरूले ढाडमा तोरण बाँधेर पौडिएरै गण्डकी पारी लगेर बाँध्थे”, उहाँले भन्नुभयो, “विस्तारै यो परम्परा हराउँदै गयो। मोदीबेणीमा तोरण तारेको देख्न पाइएको थिएन तर यो लोप हुनु हुँदैन भनेर हामीले अहिले पाँचौँपटक तोरण महोत्सव आयोजना गरेका छौँ ।’
पञ्चासे बुद्ध बिहारको विशेष पहलमा हुन लागेको महोत्सवमा पर्वतका विभिन्न स्थानका भक्तजन सहित कास्कीको अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिका, स्याङ्जाको आँधीखोला गाउँपालिका, फेदीखोला गाउँपालिका र पुतलीबजार नगरपालिकाका सहित गुल्मीबाट पनि दर्शक तथा भक्तजन महोत्वसवमा आउने गरेका छन् ।
बालाचतुर्दशीमा भक्तजनको बढी भीडभाड हुने गरेको पञ्चासेमा पर्यटकीय दृष्टिले पनि आकर्षणको केन्द्र हो। पञ्चासेमा पूजा गरेपछि कुनै काम पूरा होस् भनी गरिएको भाकल पूरा हुने तथा दिवङ्गत आत्मले मुक्ति पाउने विश्वास गरिन्छ ।
सुनसान जङ्गलको बीचमा रहेको तालको वरिपरि रूख छन् । ती रूखबाट खसेका हरेक पात चराचुरुङ्गीले नै निकालेर ताल सफा राखिरहन्छन् । तालभन्दा माथि २५ मिटरभन्दा बढीको उचाइमा रहेको पञ्चासे मन्दिर धर्मावलम्बीहरूका लागि अर्को आकर्षण हो ।
बालाचतुर्दशीमा सतबीज छर्दा तालदेखि मन्दिरसम्म नै मानिसको घुइँचो लाग्ने गरेको छ । सुदामा मन्दिर सञ्चालक समितिका सचिव शर्माका अनुसार विगतको बालाचतुर्दशीमा झन्डै एक लाख भक्तजन आएको अनुमान गरिएको पञ्चासेमा हरिबोधिनी एकादशीमा पनि झन्डै त्यतिकै सङ्ख्यामा भक्तजन आउने अनुमान गरिएको बताउनुभयो ।
कास्कीको पोखरा महानगरपालिकाको पामे–घाँटीछिना हुँदै भञ्ज्याङदेखि आर्थरसम्म जोडिने सडक भने अहिलेसम्म पनि सञ्चालनमा नआउँदा पोखराबाट पञ्चासे आउने पर्यटक तथा धर्मावलम्बीलाई समस्या भइरहेको स्थानीय बासिन्दाले बताए ।
काठमाडौं: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–११ बस्ने ...
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका कार्यक्रम कार्यान्वयन अनुभवका आधारमा सम्बन्धित नीतिगत तथा कानुनी व्यवस्थाहरूमा सुधार, सङ्गठनात्मक संरचनामा सबलीकरण तथा थप सेवा विस्तार गरी चुरे संरक्षणलाई...
हुम्ला: हुम्ला– हुम्लाको सर्केगाड गाउँपालिका– ३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । आइतबार राति स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी स...