कास्कीका अध्यक्षबीच ‘खोस्ने’ र ‘जोगाउने’ भीडन्त
कास्की | कात्तिक १६, २०७९
कास्कीको क्षेत्र नम्बर १ मा दुबै उम्मेदवार दोहोरो भूमिकामा छन् । जसमध्ये मनबहादुर गुरुङ नेकपा एमाले र किशोरदत्त बराल नेपाली कांग्रेसका जिल्ला अध्यक्ष हुन् ।
यस चुनावमा दुबैले पहिलोपटक सांसद हुने दौडमा होमिएका छन् । जिल्लामा कत्तिको पकड छ । र, संगठन निर्माणमा को अगाडी छ भन्ने परीक्षा पनि हो प्रतिनिधिसभाको चुनाव । यसअघि वाम गठबन्धनको ताकतमा यस क्षेत्रबाट नेकपा एमालेका खगराज अधिकारीले जितेका हुन् ।
अहिले अधिकारीको सट्टा मनबहादुर छन् । जसको विरुद्ध छ सत्ता गठबन्धन । अधिकारीले ३९ हजार दुई सय ४२ मत ल्याएर कांग्रेसका यज्ञबहादुर थापालाई पराजित गरेका थिए । थापाले २५ हजार आठ सय २६ मत ल्याउँदा १३ हजार चार सय १६ मतले हार व्यहोरेका हुन्।
एमालेले जितेको यस क्षेत्र खोसेर बराल आफ्नो धाक जमाउन दिनरात खटिरहेका छन् । हरेक चुनावी कार्यक्रमलाई सकेसम्म प्रत्यक्ष प्रशारण गरेर आम जनतासमक्ष पु¥याइरहेका छन् बराल । जसरी पनि एमालेबाट कास्की – १ खोस्न लागिरहँदा एमालेका मनबहादुर पनि विरासत जोगाउन उस्तै स्तरमा लागिरहेका छन् ।
असली अर्थमा यसपटकको चुनाव खोस्ने र जोगाउनेबीचको भीडन्त हो ।
अधिकारी प्रदेशसभा सदस्यमा उम्मेदवार हुने भएपछि प्रदेश सदस्य गुरुङलाई प्रतिनिधिसभामा उम्मेदवार बन्ने बाटो खुलेको हो । अघिल्लो निर्वाचनमा जितेकाले एमाले आफ्नो विरासत जोगाउन लागिपरेको छ ।
तर अघिल्लो चुनावको साझेदारी अहिले कायम छैन । अघिल्लो निर्वाचनको समीकरण बदलिएर बनेको कांग्रेस, माओवादी, एकीकृत समाजवादीसहितको गठबन्धन उक्त विरासत भत्काउने लक्ष्यका साथ चुनावी गतिविधिलाई सक्रिय बनाएको छ ।
यसपटक जित्ने गरी तयारीमा जुटेको गठबन्धनबाट कांग्रेसका उम्मेदवार बरालले बताए। स्थानीय तहको परिणाम र गठबन्धनमा रहेका दलको साथका कारण कास्की–१ मा आफूले जित्नेमा उनी ढुक्क छन्। “मूल प्रसार–प्रसारको काम भइरहेको छ । प्रत्येक वडामा सम्पर्क कार्यालय खोलिरहेका छौँ”, उनले भने, “जित्ने भन्ने त पक्का नै छ तर कति मतान्तरले जितिन्छ भन्ने कुरामा जोड दिएका छौँ ।”
एमाले पनि अघिल्लो निर्वाचनको शाख जोगाउन लागिपरिरहेको छ । कास्की क्षेत्र नं १ का जनताको सुख, दुःखमा साथमा रहेकाले आफ्नो विजयी सुनिश्चित रहेको एमालेका उम्मेदवार गुरुङले बताए। “कास्कीमा मेरो सङ्गठन बलियो पनि छ । मेरो क्षेत्रको जनताले मलाई चिनिसकेको छ”, उनले भने, “मेरो काम र क्रियाशीलताले मैले जित्छु भन्नेमा ढुक्क छु ।”
यस निर्वाचन क्षेत्रमा मादी र रुपा गाउँपालिकासहित पोखरा महानगरपालिकाका १०, १२, १३, १४, २६, २७, २८, २९, ३०, ३१ र ३२ गरी ११ वटा वडा पर्दछन् । यीमध्ये वैशाखमा भएको स्थानीय तह निर्वाचनमा मादी गाउँपालिका कांग्रेस र रुपा गाउँपालिका एमालेले जितेको हो भने पोखरा महानगरको ११ वटा वडामध्ये एउटा वडा एमालेले १० वटा वडा कांग्रेसले वडाध्यक्ष जितेको थियो ।
क्षेत्र नं १ मा स्थानीय तहमा वडाध्यक्षका उम्मेदवारको दलगत मतले कांग्रेस ठूलो दल देखिन्छ । गठबन्धनमा रहेका कांग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्रसमेतको मत जोड्दा कांग्रेसलाई सहज देखिन्छ ।
स्थानीय निर्वाचनमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले कुल ३३ हजार आठ सय ३७ मत प्राप्त गर्दा यस क्षेत्रमा एमालेका वडाध्यक्षले ३० हजार एक सय ९६ मत ल्याएको हो । यसबाहेक माओवादी केन्द्रका वडाध्यक्षले तीन हजार दुई सय ७८ पाएका थिए ।
सो क्षेत्रमा कुल एक लाख १० हजार सात सय १५ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। यस क्षेत्रमा प्रदेशसभा (क)मा ५८ हजार चार सय ४५ र प्रदेशसभा (ख) मा ५२ हजार दुई सय ७० मतदाता छन् ।
सूचना अधिकारी न्यौपानेअनुसार यस क्षेत्रको प्रदेशसभा सदस्यका लागि प्रदेशसभा (क)मा आठ र (ख) मा सात जना चुनावी प्रतिस्पर्धामा छन् ।
- राससको सहयोगमा
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...
पोखरा: ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...
काठमाडौंः नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

