मतदानका लागि तीन दिन छुट्याउनुपर्ने बाध्यता हट्यो

म्याग्दी | मंसिर ३, २०७९

मतदानका लागि तीन दिन छुट्याउनुपर्ने बाध्यता हट्यो

म्याग्दी: गाउँमै मतदान केन्द्र स्थापना भएपछि म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने सिमकोस बगर गाउँका बासिन्दालाई मतदानका लागि तीनदिन छुट्टयाउनुपर्ने बाध्यता हटेको छ ।  


भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा व्यवस्थित यातायात सुविधा नपुगेको सिमकोस बगरका बासिन्दालाई मतदान केन्द्रमा पुग्न र घर फर्कन तीन दिन लाग्ने गरेको थियो । यसपटक बगरको कैलाश आधारभूत विद्यालयमा नयाँ मतदान केन्द्र स्थापना भएको छ । 


गत वैशाखमा भएको स्थानीय तह निर्वाचनअघिका चुनावमा मतदानका लागि तीन दिनको समय व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो । गाउँमै मतदान केन्द्र स्थापना भएपछि समयको बचत र सहज भएको स्थानीयबासी चित्रबहादुर तिलिजाले बताउनुभयो ।


“मतदान हुनुको अघिल्लो दिन गाउँबाट हिँडेर नाउरामा पुग्ने र भोलिपल्ट मतदान केन्द्रमा पुगेर मतदान गरी फर्किएर त्यहीँ बास बस्नुपर्ने र हिँडेको तेस्रो दिन मात्र घर पुग्ने गरेका थिर्याँ,” उहाँले भन्नुभयो “यसपटक गाउँमै केन्द्र भएपछि सहज भएको छ । गाउँले खुसी भएका छन् ।”


धौलागिरि हिमालको आधार शिविर जाने अन्तिम मानव बस्ती सिमकोस गाउँमा ५० घरधुरीको बसोबास छ । साविक मुदी गाविस–९ मा पर्ने सिमकोस बगरका बासिन्दाको मतदान केन्द्र यसअघि मुदीको बुद्धिविकास मावि थियो । 


त्यहाँ जिल्लामा सबैभन्दा कम एक सय ५७ मतदाता छन् । गत स्थानीय तह चुनावमा ५० जनाले मतदान गरेका थिए । विसं २०५४ को स्थानीय चुनावमा बगर वडाका सबै निर्विरोध भएका थिए । घर कुर्नुपर्ने भएकाले सबै स्थानीयबासी मतदान केन्द्रमा जान सकेका थिएनन् ।  


ज्येष्ठ नागरिक, अपाङ्ग र अशक्त नागरिकलाई मतदान केन्द्रमा पुग्न सास्ती हुने गरेको थियो । पशु गोठमा बस्ने गोठाला प्नि मतदानबाट बञ्चित हुने गरेका थिए । नाउराको अक्करे भिरको पैदलमार्ग छिचोलेर नौ घण्टा पैदल हिँडेर मतदान अधिकृत गिरिप्रसाद छन्त्यालको टोली बगर पुगेको छ । 


पहिलो पटक गाउँमै मतदान गर्न पाउँदा बगरबासी खुसी र उत्साहित भएका उहाँले बताउनुभयो । अपायक पर्ने र भौगोलिकरूपमा विकट बस्तीका लागि स्थानीय तह चुनावपछि आठ ठाउँमा नयाँ मतदान स्थल थपिएको थियो । 


म्याग्दीका एक सय २० वटा मतदान केन्द्रमा आइतबार हुने चुनावको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताउनुभयो । नौ सय ५६ कर्मचारी र दुई हजारभन्दा बढी सुरक्षाकर्मी निर्वाचनमा परिचालित भएका छन् ।


छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा ८६ हजार मतदाता छन् । प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

पोखरा:   नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् ।    सामाजिक क्षेत्रमा...

थप पढ्नुहोस्

काठमाडौ:   सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ।   एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...

थप पढ्नुहोस्

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्