आजदेखि पोखरा विमानस्थलमा यान्त्रिक उडान

पाेखरा | मंसिर ५, २०७९

आजदेखि पोखरा विमानस्थलमा यान्त्रिक उडान

पोखराः   मुलुककै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज  (सोमबार) देखि यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ सञ्चालन हुँदैछ ।

 

यान्त्रिक उडानका लागि सम्पूर्ण तयारी पूरा भएको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पोखरा विमानस्थलमा एक साता यान्त्रिक उडान हुनेछ । उक्त प्रयोजनका लागि एरोथाई कम्पनीको जहाज शनिबार नै पोखरा विमानस्थलमा पुगिसकेको छ । प्राधिकरणले मङ्सिर ५ देखि १२ गतेसम्मको यान्त्रिक उडानको तालिका बनाएको हो ।

 

यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे÷नगरेको परीक्षण गरिनेछ । यान्त्रिक परीक्षण सफल भएपछि मात्रै व्यावसायिक उडान सञ्चालन गरिन्छ । प्राधिकरणले आगामी जनवरी १ (पुस १७ गते) देखि पोखरा विमानस्थल व्यावसायिक सञ्चालनको घोषणा गरिसकेको छ ।

 

यान्त्रिक उडानका क्रममा पोखरा विमानस्थलमा हुने आन्तरिक उडान सामान्य प्रभावित हुनेछ । उडान प्रभावित हुने भएकाले साबिकको उडान तालिका हेरफेर गर्न सरोकारवाला एयरलाइन्ससँगको छलफलपछि निर्णय भएको प्रवक्ता निरौलाले बताउनुभयो । उडान तालिका परिवर्तन हुने भएपछि एयरलाइन्सले सूचना निकालेर यात्रुलाई जानकारी गराइसकेका छन् ।

 

“बिहान १० बजेसम्म उडान हुन्छ र उडान बन्द हुन्छ । १० देखि दिउँसो १ बजेसम्म यान्त्रिक परीक्षण उडान हुन्छ । पुनः १ देखि २ः३० बजेसम्म उडान हुन्छ र त्यसपछि पुनः यान्त्रिक उडान सञ्चालन गरिन्छ । यान्त्रिक उडानका बेला नियमित उडान सामान्य प्रभावित हुने भएकाले एयरलाइन्सलाई ‘रिसेड्युल’ गर्न आग्रह गरेका छौँ”, प्रवक्ता निरौलाले भन्नुभयो ।

 

पोखरा विमानस्थलमा बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्सले उडान गर्दै आएका छन् । पोखरालगायत देशका अन्य विमानस्थलमा पनि यान्त्रिक उडान गरिने प्राधिकरणले जनाएको छ । यान्त्रिक उडान सकेर आगामी डिसेम्बर ५ मा एरोथाईको जहाज फर्किने प्रवक्ता निरौलाले बताउनुभयो । एरोथाईको जहाजले देशभरका आन्तरिक विमानस्थलको उपकरण जाँचमा नियमित परीक्षण उडान गर्नेछ ।


 
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा विमानस्थल करिब तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । यो विमानस्थलको लगानी करिब २२ अर्ब हुने प्राधिकरणले जनाएको छ । विमानस्थलको हाल दुई हजार पाँच सय मिटरको धावनमार्ग र ४५ मिटर चौडाइ तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर रहेको छ । 


 
ठूला जहाजको उडान एवं अवतरणमा अवरोध गर्ने भनिएको पोखरा विमानस्थल नजिकै रिट्ठेपानी डाँडो पहिलो चरणमा १४ मिटर कटान कार्य सकिएको प्राधिकरणले जनाएको छ । धावनमार्गको ‘अप्रोच’  पर्ने भएकाले करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । यान्त्रिक उडानका लागि सुरुमा १४ मिटर डाँडा कटान गरिएको हो ।

काठमाडौं:  जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो । ...

थप पढ्नुहोस्

पोखरा: पोखरा आउने चिनियाँ पर्यटकलाई लक्षित गरी नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट (नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको सहकार्यमा पोखरामा ४५ दिने चिनिया भाषा तालिम सम्पन्न ...

थप पढ्नुहोस्

गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ज्येष्ठ नागरिकका बारेमा जनचेतना अभिवृद्धि जरुरी रहेको बताउनुभएको छ ।   ज्येष्ठ नागरिकलाई सम्मान आत्मानुभूतिको आवश्यकता पर्ने भएकाले ज्येष्ठ नागरिक प्रति गरिने व्यवह...

थप पढ्नुहोस्