किसानको गुनासो: मलले न कमाउन दियो न लगाउन

कैलाली | मंसिर १३, २०७९

किसानको गुनासो:  मलले न कमाउन दियो न लगाउन

कैलाली:   कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बस्नुभएको थियो । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उहाँ मलका लागि लाइनम बस्नुभएको हो । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । 


“खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । सहजरूपमा मल नपाउँदा समयमा खेती गर्न सकिएको  छैन”, उहाँले भन्नुभयो, “बजारमा मल पाइँदैन । सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन् । मल नहालेर उब्जनी हुँदैन ।” सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाड्नुभएको छ । उहाँ मल नपाएपछि गहुँ छर्ने काम हुन नसकेको बताउनुहुन्छ ।

 

“खेत जोतेको हप्ता दिनभन्दा बढी भइसक्यो । मल नपाएर गहुँ छर्न पाएको छैन”, उहाँले भन्नुभयो, “बर्सेनिको समस्या मल अभावको कहिल्यै समाधान हुन सकेन । यस्तो भए खेती गर्ने जाँगर पनि लाग्दैन ।” भजनी नगरपालिका–६ का सुरेश कठरिया खेतीपाती सकेर कमाउनका लागि बाहिर जाने तयारीमा हुनुहुन्छ । हिउँदे खेती लगाइसकेपछि चार–पाँच महिना घरमा खाली बस्नुपर्ने भन्दै त्यो समयमा ज्याला मजदुरी गरेर घरको अन्य खर्च टार्नका लागि कमाउन जाने तयारीमा रहनुभएका सुरेशलाई मल नपाउँदा समस्या भएको छ । उहाँले १५ बिघा क्षेत्रफलमा खेती गर्दै आउनुभएकामा जसोतसो पाँच बिघामात्रै गहुँ छर्न सफल भएको बताउनुभयो ।

 

“समयमै मल पाएको भए सबै खेतमा गहुँ छरिसकिन्थ्यो । मल नहालेर गहुँ छरेभन्दा नछरेजस्तै हो”, उहाँले भन्नुभयो, “मल नपाउँदा यता खेती पनि सयममा लगाउन सकिएन भने उता कमाउन जाने भनेको ठाउँमा पनि जान सकिएको छैन ।” भजनीका गणेश साउदको समस्या पनि उस्तै छ । उहाँले हिउँदे बाली लगाइसक्नुभयो, तर  निकै  मेहेनत गरेर । स्थानीय बजारमा रासायनिक मल नपाएपछि निकै कष्टका साथ छिमेकी बजार भारतबाट मल ल्याएर खेती लगाउनुपरेको उहाँको भनाइ छ  ।

 

“स्थानीय बजारमा मल पाइएन । मल भएका सहकारीले हामीलाई मल दिएन”, उहाँले भन्नुभयो, “नभन्नुपर्ने कुरा हो तर लुकीचोरी भारतबाट मल ल्याएर खेती लगाउनुपर्ने बाध्यता भयो ।” स्थानीय बजारमा रासायनिक मलको चरम अभाव छ । मल खरिदका लागि अख्तियारी पाएका सहकारीले माग भएअनुसारको मल खरिद गर्न पाएका छैनन् । मुख्य आपूर्तिकर्ताको रूपमा रहेका कृषि सहकारीमा दैनिक किसान सहकारी धाउने गरेका छन् । 

 

बर्दियाको राजापुरका भीमबहादुर चौधरी मल पाइन्छ भनेर   कैलालीको जानकी गाउँपालिका–४ मा रहेको बिजवृद्धि कृषक सहकारी संस्थामा पुग्नुभयो । सहकारीमा मल नपाएपछि उहाँ रित्तो हात फर्किनुपरेको बताउनुहुन्छ । “कताकता मल पाइन्छ भन्ने खबर सुनेपछि मलका लागि यहाँ आएका हौँ, यता पनि मल रहेनछ”, उहाँले भन्नुभयो, “बर्दियामा मल नपाउँदा कैलाली पुगियो तर पनि मल पाइएन, अब खेती कसरी लगाउने र?”
 


बिजवृद्धि कृषक सहकारी संस्थाले बीउ उत्पादनको काम गर्छ भने रासायनिक मल खरिद बिक्रीको काम पनि गर्दै आएको छ । अन्य कृषि सहकारीको भन्दा बढी मात्रामा मल बिक्री गर्दै आएको सहकारीले पनि माग भएबमोजिम मल नपाउँदा किसानलाई रित्तै फर्काउनुपरेको बताएको छ । सहकारीका व्यवस्थापन गोविन्दराज रावतले बिजवृद्धिका लागि बीउ उत्पादन गर्ने किसानलाई नै मल पु¥याउन नसकिएको बताउनुभयो । “मलको निकै अभाव छ, त्यसमा पनि डिएपी मल पाइँदैन”, उहाँले भन्नुभयो, “मल नपाएका कारण खेती गर्ने समय बित्दै गएको छ । किसान मलको खोजीमा दौडधुप गर्दैछन् ।”


  
टीकापुर नगरपालिका–८ मा रहेको धनसिंहपुर कृषि सहकारी संस्थाले पनि किसानको माग अत्यधिक भएका कारण मलको आपूर्ति गर्न नसकेको जनाएको छ ।  संस्थाका अध्यक्ष धनसिंह साउदले भन्नुभयो, “मल विक्रेता डिपोले  ५०–६० कट्टा मल दिन्छ । एउटै किसानलाई १०–१२ कट्टा मल चाहिएको हुन्छ । कसरी पु¥याउन सकिन्छ यस्तो अवस्थामा ?”

पोखरा: नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । कास्की जिल्ला पार्टी कार्यालयमा आयोजित बैठकमा सहभ...

थप पढ्नुहोस्

मकवानपुरः    मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले  आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् ।   प्रहरीचौकी पदमप...

थप पढ्नुहोस्

पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...

थप पढ्नुहोस्