मनै लोभ्याउँने ‘दगाम’, जाने हैन त !
तनहुँ | मंसिर १७, २०७९
तनहुँ: मंसिर महिना चिसो बढ्ने महिनामात्र हैन, घुमघामको सिजन पनि हो । यदि तपाई पोखरामा हुनुहुन्छ भने आसपासका प्राय: स्थानमा पुगिसक्नु भयो होला । अब केही फरक र नयाँ ठाउँको खोजीमा हुनुहुन्छ भने तपाइकालागि उचित गन्तव्य हुनसक्छ छिमेकी जिल्ला तनहुँको मगर गाउँ ‘दगाम’ ।
दगाम नाम कसरी रहन गयो भन्नेमा कुनै खास आधार र तर्क छैन । यद्यपि, पहिले दलित जातिको बस्ती रहेकाले दगाम भन्न थालिएको केही स्थानीय बताउँछन् । खैर, लेखको उद्देश्य भने दगामको प्राकृतिक छटालाई वर्णन गर्नु हो ।
गण्डकी प्रदेशको राजधानी पोखराबाट यात्रा तय गर्दा २४ किलोमिटर पूर्वतर्फ कास्की र तनँहुका सिमाना कोत्रे पुगिन्छ । त्यहाँबाट साढे ६ किलोमिटर उत्तरतर्फ कच्ची सडकखण्डको यात्रापछि शुक्लागण्डकी नगरपालिका २ को दगाम गाउँ पुगिन्छ ।
जहाँ ३८ घर धुरी रहेको छ । मगर जातिको बाहुल्यता रहेको सो गाउँमा ३ घर मात्रै गुरुङ जातिको रहेको छ । यहाँका स्थानीयहरु मुख्यत: कृषि, मौरीपालन, र घरबास व्यवसायबाट जिविकोपार्जन गर्दै आएका छन् ।
किन जाने दगाम?
गण्डकी प्रदेश प्रकृति र संस्कृतिले सम्पन्न छ । त्यसको केही अंश हेर्न तपाई दगाम पुग्नैपर्छ । दगाम पुग्नु अघि उत्तरतर्फ रहेको माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी, गणेश लगायतका हिमश्रृंखलाहरुले हाँस्दै स्वागत गर्छ । त्यसपछि दगाम होमस्टेको भवनमा पुगेपछि मगर भेषभूषामा सजिएका आमा समूहद्वारा टिका, फुलका गुच्छा तथा मालाले स्वागत गरिन्छ ।
त्यसपछि पर्यटकलाई गाउँमै पाइने अर्गानिक परिकारको स्वाद चखाइन्छ । र सुरु हुन्छ साँस्कृतिक कार्यक्रमहरु ।

यस गाउँमा मगर जातिको बाहुल्यता रहेकै कारण कौराहा, घाटुँ तथा झ्याउरेको लोकप्रियता छ । यसबाट दगाममा मगर समुदायको कला तथा संस्कार अझै पनि जिवित रहेको प्रष्ट हुन्छ । त्यसैले संस्कृतिसँग पिरती गाँस्न चाहनेहरु दगाम पुग्नै पर्छ ।
साँस्कृतिक रुपमा धनि यस गाउँ प्राकृतिक रुपमा पनि उत्तिकै सम्पन्न छ । दगाम यस्तो ठाउँ हो, जहाँबाट सूर्याेदय र सूर्यास्त नियाल्न सकिन्छ । यतिमात्रै होइन यहाँबाट उत्तरमा हाँसिरहेको माछापुछ्रे, अन्नपूर्ण, धौलागिरी, गणेश लगायतका हिमश्रृंखलाहरु आँखै अगाडि देखिन्छ ।

त्यसैगरि कास्कीको रुपाताल, बेगनासताल र पर्यटकीय नगरी लेखनाथको मनोरम दृश्यहरु अवलोकन गर्न पाइन्छ । भने दगाम आसपासमा रहेको भूमिकोट, विरकोट, थानकोट दर्शन गर्ने अवसर पाइन्छ ।
सोही स्थानबाटै तनहुँको दुलेगौँडा र खैरेनीटार पनि नजरमा पर्छ ।
दगामको सम्भावना
तनहुँको शुुक्लागण्डकी नगरपालिका–२ को दगाम गाउँ पर्यटकको पर्खाइमा रहेको छ ।
पर्यटकीय सम्भावना बोकेको यस ठाउँको प्रचारप्रसारमा कमी हुदाँ ओझेलमा परेको स्थानीय अगुवा नन्द बहादुर थापामगरले बताए । ‘हामी सस्कृतिमा मात्रै होइन प्रकृतिले पनि धनि छौं, उनले भने, ‘हाम्रो गाउँको उचित प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेका छौं ।’
खानेपानी र सडकको सुविधा भएपनि पर्यटकीय दृष्टिकोणले यथेष्ट नभएको थापामगरको भनाई छ । ‘बाटो पनि छ खानेपानी पनि लिफ्टिङबाट प्रयोग गरिराछौ, उनले भने ‘तर पर्यटकको ओइरो लाग्नको लागि सडकको सहज पहुँच हुनुपर्छ । त्यसको लागि हामी नगरपालिकालाई गुहारेका छौ ।’

शुक्लागण्डकी वडा नम्बर २ को सम्पत्तिको रुपमा रहेका भूमिकोट, विरकोट, थानकोटको संरक्षण र सम्वद्र्धन अपरिहार्य छ । र स्थानीयहरु ऐतिहासिक महत्व बोकेका सम्पदा तथा संस्कार र संस्कृति संरक्षण गर्न लागि पर्दै आएका छन् । ‘हामीसँग हाम्रो आफ्नैँ मौलिक पहिचान छ । हामीसँग भाषा छ । कला छ । धर्म र संस्कार छ, स्थानीय तोरण बहादुर थापामगरले भने ‘त्यसैले पनि पाहुनाहरु यहाँसम्म आउनुहुन्छ । अझ यहाँ आउने बाटो पक्की भयो भने बाह्य पर्यटक पनि भित्रिन्थे । त्यसको लागि हामी आफ्नो तर्फबाट पहल गरिरहेका छौ ।’
होमस्टे व्यवस्थापन समितिका अध्यक्ष तिला थापा मगरका अनुसार विगत ९ वर्षदेखि दगाम सामुदायिक होमस्टे सञ्चालनमा छ । यस दगाम होमस्टेसँग शुक्ला गण्डकी २ मै स्थानथोक कोट दरबार सामुदायिक होमस्टे, बाघ भैरव सामुदायिक होमस्टे, इमान्दार सामुदायिक होमस्टे सञ्चालनमा छन् ।
‘यो क्षेत्रमा अहिले ४ वटा सामुदायिक होमस्टे सञ्चालनमा छन् । तुलनात्मक रुपमा दगाममा बढी पाहुना आउनुहुन्छ, उनले भनिन्, ‘अझ बढी पाहुना भित्राउनका लागि हामी नगरपालिका तथा वडासँग समन्वय गरिरहेका छौ ।’

दगाममा आन्तरिक पाहुनाको तुलनामा बाह्य पर्यटक कम आएको उनको अनुभव छ । थापामगरका अनुसार होमस्टे व्यवस्थापन समितिले प्रतिव्यक्ति १ रात बसेको १२ सय रुपैया निर्धारण गरेको छ ।
पर्यटकीय स्थलको रुपमा सम्भावना बोकेको दगामको मुख्य समस्या कच्ची सडक भएको होमस्टे सञ्चालिका सुस्मिता पुलामीमगरले बताइन् । ‘दगाममा आउनको लागि बाटो पक्की छैन र तरपनि पाहुनाहरु आइरहनुभएको छ । अझ बाटो पक्की भयो भने पाहुनाको ओइरो लाग्ने आशा गरेका छौ ।’ उनले भनिन् ।
शुक्लागण्डकी नगरपालिका २ का वडाध्यक्ष सुमन रानाले दगम पुग्ने सडक स्तरोन्नतीको काम अगाडि बढिसकेको बताए । ‘म निर्वाचित भएको बल्ल ६ महिना भएको छ । मैले तपाइहरुलाई ५ वर्षमा बाटोको सहज पहुँच दिलाउछु भन्ने प्रतिवद्धता गरेको थिए । अहिले काम अगाडि बढिरहेको छ । तपाइहरु ढुक्क हुनुहोस् ।’ उनले भने ।
तस्बिर: सुशान्त गाहा मगर (अर्जुन)








राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

