हामी नजाँदा सरकार नै बन्दैन: सीके राउत
काठमाडाैं | मंसिर १८, २०७९
काठमाडौं: जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदमा बहुमत पुर्याउन आफूहरु निर्णायक हुने बताएका छन् । राष्ट्रिय समाचार समितिसँगको अन्तर्वार्तामा उनले सरकार गठनका लागि आफ्नो पार्टीले पाएको सिट संख्या निर्णायक हुने बताएका हुन् ।
‘जनमत पार्टीले अहिले ल्याएको सिट सङ्ख्या निर्णायक छ । सरकार गठनका लागि संसद्मा बहुमत पुर्याउनका लागि हाम्रो छ सिट निर्णायक हुन्छ । प्रदेशमा पनि जनमत पार्टीको समर्थन बेगर सरकार बन्नसक्ने अवस्था रहन्न’ उनले भने ।
जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सिट जितेको छ भने समानुपातिकतर्फ आइतबार दिउँसोसम्म १ करोड ४ लाख २० हजार मत गन्दा ३ लाख ९४ हजार ५२३ मत पाएको छ । त्यस्तै प्रदेश २ मा प्रत्यक्षमा ६ सिट र समानुपातिकमा कांग्रेस र एमालेपछि तेस्रो स्थानमा छ । २० लाख ८६ हजार मत गणना हुँदा जनमत पार्टीले ३ लाख २९ हजार मत पाएको छ । आफूहरुको समर्थनविना सरकार नबन्ने अवस्थामा डेडलक हुन नदिने राउतले बताए ।
‘हामी नजाँदा सरकार नै बन्दैन, त्यो भनेको ‘डेड्लक’को अवस्था हुन्छ । हाम्रो जिम्मेवारी भनेको निकास दिनु हो, हामी दिन्छौं । जसले हाम्रो शिक्षा, स्वास्थ्य र रोजगारीका माग र मुद्दालाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्छन् उसलाई नै हामी पनि समर्थन गर्छौं’ उनले भने ।
निर्वाचनबाट कसैको पनि बहुमत नआउँदा पार्टीहरुमा अहंको स्थिति भने नदेखिने र एक अर्कामा सहकार्यको सम्भावना बढाएको राउतले बताए । ‘सबैलाई मिलाएर जानुपर्छ, सानाभन्दा साना दल र आवाजका मुद्दालाई समेटेर जानुपर्छ भन्ने सन्देश दिएको छ’ उनले भने ।
मतदाताले परिवर्तनका लागि आफूहरुलाई मत दिएको भन्दै अध्यक्ष राउतले त्यसलाई खेर जान नदिने बताए । नागरिकले मतदानमार्फत व्यक्त गरेको परिवर्तनको आवाजलाई अन्य दलले पनि सुन्नुपर्ने उनको भनाइ छ ।
‘जनताले निर्वाचनमार्फत अहिले परिवर्तन खोज्न दिएको सन्देश आत्मसात् गर्नुस् । अन्यथा गरिए राजनीतिक दलहरुप्रति विद्रोह र वितृष्णा अझ बढेर जान सक्छ । अहिले सच्चिने मौका छ । सबैले जनमतको कदर गरौँ । सेवा प्रवाह र जनताका माग मुद्दालाई केन्द्रित भएर अघि बढौं’, अध्यक्ष राउतले भने ।
उनले आफूहरुको माग र मुद्दाप्रति सकारात्मक दलसँग मिलेर सरकारमा जाने पनि बताए । ‘हामीले पाएको जनमत एक्लै निर्णायक छैन । कसै न कसैसँग सहकार्य गरेरै सरकार बनाउनुपर्ने हुन्छ । त्यसकारण सहकार्य गर्ने सम्भावना जोसँग पनि हुन्छ । मूल विषय भनेको हाम्रा माग र मुद्दाप्रति सकारात्मक हुनुपर्यो । हामी केबल मन्त्री बन्न र सरकारमा जानैका लागि मात्रै आएका हैनौँ । जनताका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन सक्नुपर्छ’ अध्यक्ष राउतले भने ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

