म्याग्दी र मुस्ताङमा फापरखेती फस्टाउँदै
काठमाडाैं | पुस ३, २०७९
म्याग्दी र मुस्ताङमा मानव स्वास्थ्यका लागि गुणकारी मानिने फापरको खेती फस्टाउँदै गएको छ । सिँचाइ आवश्यक नपर्ने सुक्खा खेत बारीमा समेत राम्रोसँग फल्ने फापरखेतीप्रति यहाँका किसान आकर्षित भएका छन् । विगत वर्षको तुलनामा यसपाली फापर फस्टाएपछि मुस्ताङ र म्याग्दीका फापर खेती गर्ने किसानको आम्दानी बढ्ने देखिएको छ ।
फापर छर्ने समय भदौ, असोज र कात्तिक तथा फापरको फूल फुल्ने समय कात्तिकदेखि मङ्सिरमा अनुकूल मौसम भएका कारण फापर उत्पादन बढेको किसानले बताएका छन् । म्याग्दीको लेकाली क्षेत्र र मुस्ताङका अधिकांश बारी र सिँचाइ नहुने तथा सुक्खा टारी खेतमा लगाइएको मिठे, तितेलगायत स्थानीय जातका फापर बालीमा दाना राम्रैसँग लागेपछि किसान खुसी भएका छन् ।
अन्य अन्नबालीको तुलनामा फापरका लागि धेरै मेहनत गर्न नपर्ने र गोडमेलको झन्झटसमेत नहुने भएकाले धान र गहुँको तुलनामा फापरखेती गर्नका लागि किसानले सजिलो मान्दै आएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो । ग्रामीण भेगमा किसानले फापरको रोटी र ढिँडोजस्ता परिकार खाने गरेका छन् । पछिल्लो समयमा सहर बजार क्षेत्रमा समेत ठूला होटलमा फापरको ढिँडो र रोटी बढी प्रचलनमा छ । “फापरको माग बजारमा बढ्दै गएको छ”, मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ का शैलेन्द्र शेरचनले भन्नुभयो । फापरको पिठो मानव स्वास्थ्यका लागि उपयोगी हुनेमात्र होइन फापरको छवाली घाँस घर पालुवा गाई भैँसीका लागि पौष्टिक मानिने र फापरको भुस पनि खेर नजाने भएकाले खेतीमा किसानले जोड दिएको उहाँको भनाइ छ ।
फापरको पिठो गहुँ, मकै, कोदो र चामलको पिठोमा मिसाएर रोटी–ढिँडोलगायतका परिकार बनाएर खाने गरिन्छ । फापरको पिठो प्रतिकिलो रु दुई सयदेखि रु तीन सयसम्ममा बिक्री हुँदै आएको छ । फापरको पिठो विभिन्न खालका औषधिमा समेत प्रयोग गरिन थालेको छ । बेनी नगरपालिकासहित छवटै स्थानीय तहमा फापरखेती हुने गरेको कृषि ज्ञानकेन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताउनुभयो ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

