स्थानीय भन्छन् –‘औसतभन्दा कम उचाइमा पटकपटक घुमेको थियो जहाज’
पाेखरा | जेठ १५, २०७९

पोखरा: पोखराबाट मुस्ताङका लागि उडेको तारा यएरको नाइन एन एइटी ट्विनअटर विमान आज बिहान औसतभन्दा कम उचाइमा थासाङ पुगेको थियो ।
हल्का वर्षा भइरहेका समयमा घरभन्दा केही माथि जहाज दुई तीनपटक घुमेको देखेको थासाङ गाउँपालिका–२ बोक्सेखोलाका विकल बागदासले बताउनुभयो ।
“हामी खाना खाँदै थियौँ, जहाज धेरै पटक घुमेको थियो”, उहाँले भन्नुभयो, “हल्का कुहिरो लागेर पानी परिरहेको थियो” । उहाँले यसअघि मुस्ताङ जाने जहाज यति धेरै तल आएको नदेखेको बताउनुभयो ।
“घरमै ठोकिन्छ जस्तो गरेर दुई, तीन पटक घुम्यो, हामी गाउँले सबैले बाहिर निस्केर हेरेका थियौँ”, उहाँले भन्नुभयो, “केहीबेरमा अलिमाथि उडेर गयो, पानी परेकाले घुमेको होला भन्ने लागेको थियो ।”
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘इमरजेन्सी लोकेसन ट्रान्समिटर सङ्केत’ फेला परेको छ । सङ्केतअनुसार जहाज केही वस्तु वा पहाडमा ठोकिएको देखिन्छ । तर जहाज ठोकिएको आशङ्का गरिएको स्थान मानव बस्तीभन्दा निकै उच्च पहाडमा पर्ने उहाँले बताउनुभयो ।
“त्यो पहाड निकै टाढा र अप्ठ्यारो ठाउँमा हो, अहिले त जान सकिँदैन”, उहाँले भन्नुभयो, “आकाश खुल्यो भने हेलिकप्टरमा जान सकिएला ।”
सम्पर्कविहीन भएको तारा एयरको विमानमा १९ जना यात्रु लिएर बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको थियो । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार म्याग्दी, मुस्ताङ, पर्वत र कास्कीका सम्भावित सबै ठाउँमा खोजी भइरहेको भए पनि जहाज सम्पर्कविहीन नै छ । अहिले मुस्ताङका अधिकांश ठाउँमा बाक्लो बादल लागेर पानी परिरहेको स्थानीयले बताए ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरेको छ। मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदै बिदामा कटौती गर्नेगरी...
काठमाडौं: देशभर बिहीबार साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदे...
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा. विकास देव...