नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक २७ हजारको मृत्यु
काठमाडाैं | जेठ १७, २०७९
काठमाण्डौँः नेपालमा सुर्तिजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिलराज शर्माले आज विज्ञप्ति जारी गर्दै नेपालमा हरेक वर्ष २७ हजार १३७ मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको जनाउनुभयो । जुन सङ्ख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो ।
विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ ।
सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ । सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइसकेको जनाइएको छ ।
“आम जनताको सु–स्वास्थ्य सुनिश्चित गर्न, सुर्तीजन्य पदार्थ नयाँ सेवनकर्ताको दरमा कमी ल्याउन र अमलीहरुलाई लतबाट छुटाउन विभिन्न अभियान र कार्यक्रमसमेत भइरहेका छन्,” उहाँले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, “तर सुर्ती उद्योगको हस्तक्षेप र उनीहरुको रणनीतिले चुनौती भने यथावत् नै रहेको अवस्था छ । हाल प्रचलित ई–सिग्रेट, सिसा, हुक्कालगायतका सुर्तीजन्य पदार्थका आधुनिक र परिस्कृत रुपलाई समेट्ने गरी वृहत तरिकाले कार्यक्रम सञ्चालन गर्न समेत आवश्यक देखिन्छ ।”
हरेक वर्ष आज विश्व सुर्तीजन्य पदार्थरहित दिवस मनाउने गरिन्छ । “सुर्तीजन्य पदार्थ त्यागौँ, स्वास्थ्य र वातावरण जोगाआँैं रहेको छ” भन्ने नाराका साथ मनाइने गरिएको छ ।
सुर्तीजन्य पदार्थको सेवनले मानव स्वास्थ्यमा मात्र नभइ सबै वातावरणमा नै असर गर्ने भएकोले यसलाई त्याग्नु वा सेवन नगर्नु नै सबैभन्दा उत्तम उपाय रहेको उहाँले विज्ञप्तिमा जनाउनु भएको छ । सुर्तीजन्य पदार्थले प्रत्यक्षरुपमा मानिसको स्वास्थ्यमा असर गर्नुको साथै वातावरणमा पनि गम्भीर असर गर्ने गरेको जनाइएको छ ।
सुर्तीजन्य पदार्थको खेती, उत्पादन, सेवनका कारण निम्त्याउने वातावरणीय प्रभावलाई न्यूनीकरण गर्न सुर्तीजन्य पदार्थरहित दिवसलाई वर्षैभरि अभियानको रुपमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ । सुर्तीजन्य पदार्थको खेती र उत्पादन गर्ने क्रममा, प्रयोग÷सेवन गर्दा र प्रयोग पश्चातका फोहोरले पानीका स्रोत, माटो, वायु र सहर नै प्रदूषित भइरहेको अवस्था छ ।
विश्वमा हरेक वर्ष ३५ लाख हेक्टर जमिन सुर्ती खेतीका लागि नष्ट गरिन्छ । सुर्ती खेतीका कारण वन फँडानी हुने र माटोको उपादकत्वमा समेत ह्रास हुने गरेको पाइएको छ । “सुर्तीजन्य पदार्थको उत्पादनका क्रममा निस्कने विभिन्न विषाक्त ग्यासका कारण जलवायु परिवर्तन पनि भइरहेको बताइएको छ,” विज्ञप्तिमा भनिएको छ, “त्यसैले सुर्तीजन्य पदार्थको उत्पादन र सेवन दुबै कुरालाई निरुत्साहित गर्नु अति नै आवश्यक छ ।” विश्वमा उत्पादन गरिने सुर्तीजन्य पदार्थमध्ये ९० प्रतिशत विकोसोन्मुख देशमा उत्पादन गरिन्छ ।
न्यून तथा मध्यम वर्गीय देशका किसान तथा सरकारले सुर्तीजन्य पदार्थ उत्पादनलाई राम्रो आयस्रोतको रुपमा लिएको देखिए पनि उनीहरुले भविष्यमा यसले निम्त्याउने गम्भीर समस्या जस्तैः खाद्य असुरक्षा, रोग, गरिबी र वातावरणीय असरबारे भने सचेत नभएको पाइन्छ ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

