जलविद्युत् आयोजना भित्रियो, सडक बन्यो
काठमाडाैं | पुस २०, २०७९
 
                                
                            म्याग्दी: बजेट अभावमा वर्षौंदेखि थला परेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङ बेँसीदेखि लेकगाउँ जोड्ने सडक योजना गाउँमा जलविद्युत् आयोजना भित्रिएसँगै निर्माण भएको छ। सडक निर्माण गर्न गाउँलेहरूले चन्दा सहयोग तथा जग्गाधनी पुर्जा बैङ्कमा धितो राखी रकम जोहो गरेर १० वर्षअघि सडक निर्माण थाले पनि आवश्यक रकम जुटाउन नसक्दा सडक योजना थला परेको थियो।
गाउँमा भित्रिएको ६ मेगावाट क्षमताको रेले खोला जलविद्युत् आयोजनाले वर्षौंदेखि थला परेको सडक निर्माण गरिदिएपछि दुर्गम लेक गाउँ सडक सञ्जालसँग जोडिन पुगेको हो। आयोजनाले बेँसीदेखि लेकगाउँसम्म पाँच किलोमिटर सडक गत वर्ष निर्माण गरिदिएको थियो। मिस्त्री खोला जलविद्युत् आयोजनाले कालीगण्डकीमा बेलिब्रिज निर्माण गरेपछि बेँसीसम्म सडक पुगेको थियो। बेँसीदेखि लेक गाउँबीचको हकली गौडाको अक्करे भीर फुटालेर सडकको ट्र्याक खोल्न नसक्दा वर्षौंदेखि योजना थला परेको लेकगाउँका स्थानीय श्याम पुर्जाले बताउनुभयो। 
“गाउँलेहरूले एकदशकअघि सडक निर्माण गर्न सामूहिक रूपमा लालपुर्जा  बैङ्कमा धितो राखेर ऋण निकालेर सडक निर्माणमा खर्चिएका थिए तर गाउँमा सडक पुर्याउन सकिएको थिएन। लेक गाउँमा जलविद्युत् आयोजना भित्रिएसँगै थला परेको योजनाले पूर्णता पाएको छ। हाम्रो मोटर चढ्ने वर्षौंदेखिको अधुरो सपना पूरा भएको छ,” पुर्जाले भन्नुभयो। तत्कालीन समयमा जिल्ला विकास समिति र चन्दा सहयोगबाट लाखौँ रुपियाँ खर्च गरे पनि अक्करे भीर छिचोल्न नसक्दा लेकगाउँमा सडक पुर्याउन सकिएको थिएन स्थानीय पुर्जाले भन्नुभयो, “गाउँमा निर्माणाधीन जलविद्युत् आयोजनाले पहुँचमार्ग निर्माण गर्दा अप्ठ्यारो र कठिन मानिएको भीर फुटालेर सडक ट्याक खोलिदिएपछि लेकगाउँमा सरर मोटर गुडेका छन्। हाम्रा लागि जलविद्युत् आयोजना भगवान् आएसरह भएको छ।”
भीरमा सडक निर्माण गर्न जलविद्युत् आयोजनालाई करिब चार वर्ष लागेको रेले खोला जलविद्युत् आयोजनाका इन्जिनियर आयुष भट्टराईले बताउनुभयो। अक्करे भीर फुटालेर ट्र्याक खोल्न निकै चुनौती थियो उहाँले भन्नुभयो, “सडक खुलेसँगै आयोजनाका लागि निर्माण सामग्री ढुवानी गर्न र स्थानीयवासीलाई आवतजावतमा सुविधा पुगेको छ।” बेँसीदेखि लेकगाउँसम्म करिब २२ भन्दा बढी घुम्ती छन् भने उक्त अक्करे भीरमा मात्र ११ वटा घुम्ती छन्। ग्रेड मिलाएर सडक फराकिलो पारिएको छ। सडक निर्माणपछि लेकगाउँका करिब १५० घरधुरीलाई सडक सुविधा पुगेको वडा अध्यक्ष लोकबहादुर फगामीले बताउनुभयो। 
स्थानीयवासीको चन्दा सहयोग, तत्कालीन जिविस र गाउँपालिकाले डेढ करोड रुपियाँभन्दा बढी खर्च गरे पनि बेँसीदेखि लेकगाउँ जोड्ने सडकको बीचमा रहेको पहाड छिचोल्न नसक्दा लेकगाउँमा सडक पुर्याउन सकिएको थिएन वडा अध्यक्ष फगामीले भन्नुभयो, “गाउँमा जलविद्युत् आयोजना भित्रिएपछि लेकगाउँमा सडक पु(याउने हाम्रो सपना पूरा भएको छ।” सडक निर्माण भएसँगै लेकगाउँमा उत्पादित कृषि उपजको बजारीकरण, खाद्यान्न ढुवानी र आवतजावत गर्न सुविधा भएको उहाँले बताउनुभयो।    
काठमाडौँ: यो साता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो चार दिनदेखि सुनको मूल्य लगातार ओरालो देखिएको हो । गत ...
कपिलवस्तु : पूर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा बस दुर्घटना भएको छ। राति करिब २ बजे काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ...
पाल्पा: बगनासकाली गाउँपालिका ५ तल्लोकोलडाँडामा सम्पन्न ढल्क्यो जोवान (३० वर्षमाथि) भलिबल प्रतियोगितामा फोक्सिङकोट भेट्रान्स र साबिक वडास्तरीय पुरुषतर्फ जनज्योती युवा क्लब दान्सिँघा च्याम्पियन बनेको छ । &...
 
                    

 
                                         
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            