बागलुङको ऐतिहासिक गढी संरक्षणको पर्खाइमा
बाग्लुङ | पुस २४, २०७९
तस्बिर साभार
बागलुङ: बागलुङको जैमिनी नगरपालिकाका तीनवटा वडाको संगमस्थल माईकोस्थान मन्दिर क्षेत्र हो। जैमिनी नगरपालिका वडा नं.–१० राङखानी, वडा नं.–४ सर्कुवा र वडा नं.–७ जैदीको माथिल्लो भागमा अवस्थित माईकोस्थान मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासले मात्रै होइन, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ।
माईकोस्थान मन्दिरदेखि करिब दुई किलोमिटर दूरीमा रहेको ऐतिहासिक कोत तथा गढी भवन संरक्षणको अभावमा भताभुङ्ग भएको छ। तत्कालीन भुरेटाकुरे राजाले आफ्नो सुरक्षाका लागि तयार गरेको गढी क्षेत्रको संरक्षण नहुँदा भग्नावशेषको रूपमा परिणत भएको हो।
तत्कालीन राजाले आफ्नो दरबार, हतियार भण्डारण, विश्राम स्थल, रानीको शयन कक्ष तथा पूजास्थल, चौपारी, सेनाले पहरादिने संरचना कतै पूर्ण रूपले भत्किएको तथा कतै आधा पुरिँदा पहिचान गर्न नसक्ने अवस्थामा पुगेको सर्कुवाका स्थानीय नरवीर थापाले बताउनुभयो।
त्यो समयमा सत्रु पक्षबाट बच्नका लागि सेनाले प्रयोग गरेको एक थान तोपको अवशेष मात्र कोत मन्दिरमा सुरक्षित गरेर राखिएको छ। तोपको नाल र पछाडिको भागलाई मन्दिर निर्माण गरी सुरक्षा गरेको कोत मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले जानकारी दिनुभयो। माईकोस्थान क्षेत्रको डोका, देउराली, गुरुङकोट क्षेत्रमा तत्कालीन सेनाले निर्माण गरेका बङ्करहरू केही पुरिएको तथा केही आधा पुरिएको अवस्थामा छन्। सेनाले ओतका लागि निर्माण गरेका सत्तलको भग्नावशेष देख्न सकिने सचिव थापाको भनाइ छ। ऐतिहासिक गढी क्षेत्रको संरक्षणमा राज्यले चासो नदिँदा प्राचीनकालका मौलिक सामग्रीहरू मासिँदै गएका छन्। हातहतियार चोरी भएको छ। “कोत क्षेत्र ऐतिहासिक स्थल हो,” सचिव थापाले भन्नुभयो, “अहिले एउटा तोप मात्रै बाँकी छ। तोप संरक्षण पनि चुनौती पूर्ण भयो।”
तोपको पाङ्ग्रा र त्यसलाई बाँधिने साङ्लाहरू छैनन्। बाहिर प्रदर्शन गरेर राख्दा चोरी हुने डर भएपछि मन्दिर बनाएर राखिएको सचिव थापाको भनाइ छ। राजाले दरबार वरिपरि खेती गर्दै आएको जग्गामा कालोपाती, ऐँसेलुलगायतका बिरुवाको झाडी बनेको छ। दरबार, चौपारी जीर्ण भएका छन्।
सो दरबार क्षेत्रदेखि करिब एक सय मिटर पूर्वपट्टी रानीले घाम ताप्दै कपाल कोर्न निर्माण गरेको सत्तल जसलाई स्थानीय रानीले कपाल कोर्ने ढुङ्गाको नामले पहिचान गर्छन् त्यो संरचना पनि आधा भत्किएको थापाले बताउनुभयो।
उक्त ढुङ्गामा करिब पाँच जना आरामसँग बस्न मिल्ने छ। आफ्नो क्षेत्रमा अतिनै महìवपूर्ण ऐतिहासिक पूर्वाधार भए पनि त्यसको संरक्षण र प्रचारप्रसार अभावले गर्दा ओझेलमा परेको थापाको भनाइ छ। राज्यले ऐतिहासिक गढीको संरक्षण गरेर पर्यटन विकासमा ध्यान दिनुपर्ने थापाको जोड छ।
तीन वर्षअघि गण्डकी प्रदेश सरकारले साढे छ लाख रुपियाँ र वडा कार्यालयको दुई लाख रुपियाँ सहयोगमा सडक मार्गदेखि कोत भवन पुग्ने पक्की पदमार्ग र कोत क्षेत्रको तारबार गरेको थियो। कोतमा बडादशैँ र चैतदशैँमा विशेप पूजा हुन्छ।
अझै पनि खानेपानी, तारबार, झाडी सफा, पहुँचमार्ग विस्तार, ऐतिहासिक गढी संरचनाको पुनर्निर्माण तथा उत्थानको काम बाँकी छन्। गढी क्षेत्रको संरक्षण, पुनर्निर्माण, उत्थानका लागि राज्यले विशेष ध्यान दिन सके पर्यटन विकास हुनुका साथै इतिहासको अध्ययन स्थलका रूपमा विकास हुने स्थानीय जनप्रतिनिधि चक्रबहादुर थापाले बताउनुभयो।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

