१२ वर्ष बित्दा पनि बनेन पुल, तोडियो ठेक्का
भोजपुर | पुस २७, २०७९
फाइल तस्बिर
भोजपुर: संखुवासभासँग भोजपुर जोड्ने अरुण नदीस्थित लम्छुवाघाटमा बन्दै गरेको पक्की पुलको ठेक्का सम्झौता बन्द भएको छ। झण्डै डेढ दशक बितिसक्दासमेत ठेकेदार कम्पनी स्वच्छन्द निर्माण कम्पनीले काम नगरेपछि सडक डिभिजन कार्यालय तुम्लिङटारले ठेक्का तोडेको हो।
१२ वर्षदेखि अलपत्र उक्त लम्छुवाघाटमा पक्की पुल निर्माण पुनः अलपत्र पार्ने ठेकेदार कम्पनीसँग ठेक्का तोडिएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ। डिभिजन कार्यालयका सूचना अधिकारी ईन्जिनियर दिपेन्द्रकुमार शाहले म्याद थप्दासमेत काम सुरु नभएपछि ठेक्का रद्द गरिएको बताए। सूचना अधिकारी शाहका अनुसार २०६७ सालमा स्वच्छन्द निर्माण सेवाले निर्माण कार्य सुरु गरे पनि विभिन्न बहानामा काम अलपत्र पारेको थियो। निर्माण सेवाले म्याद मात्रै थप्ने, काम नगर्ने भएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेको उनले बताए। विभिन्न कारण देखाउँदै स्वच्छन्द निर्माण सेवाले काम छाडेर भागेपछि पुल निर्माण अलपत्र बनेको थियो।
२०६७ सालमा सम्झौता भएको पुलको काम २० प्रतिशत मात्र सकिएको छ। निर्माण कम्पनीले गरी २०६७ असार २५ गतेभित्र काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो। १ सय ६७ मिटर लामो उक्त पुल निर्माणको काम २०७२ असोजसम्म सम्पन्न हुनुपर्ने सम्झौता भए पनि अहिलेसम्म ६ वटा पिलर मात्रै उठाइएको छ। जमिनमुनिको पिलर बिल निर्माण गर्ने क्रममा १२ मिटरमै चट्टान भेटिएको भन्दै ठेकेदारले काम छाडेको थियो।
निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न भन्दै पछिल्लोपटक २०७७ पुष १३ गतेसम्म म्याद थप गरेको थियो। १४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको उक्त पक्की पुल निर्माणमा ४ करोड रुपैयाँ बढी खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ।
१२ वर्ष बिते पनि निर्माण सम्पन्न नभएपछि जोखिमपूर्ण तवरले नदी तर्नुपर्ने स्थानीयवासीको बाध्यता हटेको छैन। लम्छुवाघाटको पुल नहुँदा ज्यानको जोखिम मोलेर काठको डुंगाबाट अरुण नदी वारपार गर्नुपरेको छ। नाउँबाट विद्यालय आउजाउ गर्नु लम्छुवाघाट बस्तीका बालबालिकाको बाध्यता हो। हिउँद होस् या वर्षा, भोजपुरको उत्तरी भेगका बासिन्दालाई अरुण नदी तर्न समस्या छ। पुल नहुँदा अत्यावश्यक सामान लिन १५ किलोमिटर घुमाउरो बाटो र नाउँको भरमा नदी तर्नुपर्ने बाध्यता रहेको स्थानीय रुद्रबहादुर मगरले बताए।
‘नुनभुटुन लिन पनि संखुवासभाको खाँदबारी नै जानुपर्छ’, मगरले भने। तत्कालीन भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदारले ०६७ सालमा पुल शिलान्यास गरेका थिए। तर, ठेकेदारको लापरबाहीले अलपत्र बन्दा षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिकालगायत उत्तरी भेगका ७० हजारभन्दा बढी जनसंख्याले कष्टकर यात्रा गरी खाँदबारी आउजाउ गर्छन्।
षडानन्दका मेयर सुरेन्द्र उदासले पुल निर्माणमा ठेकेदार कम्पनीको लापारबाहीका कारण नागरिकले सास्ती खेप्नु परिरहेको बताए। भने, ‘हाम्रो क्षेत्रको विकासको मूल ढोका भएको लम्छुवाको पुल निर्माणमा निर्माण व्यवसायीबाटै लापारबाही भयो, जसले जनता कष्टकर यात्रा गर्न बाध्य छन्,’ पुलको विकल्पमा षडानन्द नगरपालिकाको पहलमा केही दूरीमा रहेको कात्तिकेघाटको पुल निर्माणको काम भने सुरु भएको छ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

