हातमा झाडु, साबेल र बाल्टीका साथ लामबद्ध विधार्थीः विश्व वातावरण दिवस
भक्तपुर | जेठ २२, २०७९

भक्तपुर: आज जुन ५, विश्व वातावरण दिवस । बिहान १०ः१५ बजे विद्यालयको पोसाकमा पञ्जा लगाइएको हातमा झाडु, साबेल र बाल्टीका साथ लामबद्ध थिए विद्यार्थी । लाममा रहेका विद्यार्थीसँग तिनका शिक्षक भन्दै थिए, “हामीले आफ्नो वरपरको वातावरण सफा राख्नुपर्छ र सबै जना हरेक सम्पदाको संरक्षणमा लाग्नुपर्छ ।”
कापी र किताबले भरिएका झोला बोकेर विद्यालय जाने विद्यार्थी आज भने हातमा पञ्जा लगाएर कुचो, साबेल र फोहर राख्ने भाँडो लिएर सडकमा थिए । सडक पेटीमा रहेका विद्यार्थीमध्ये कोही सडक र सँगैका नालामा रहेका फोहर टिप्दै डस्टबिनमा हाल्दै थिए भने कोही ढुङ्गेधारामा जमेको फोहर सफा गर्दै थिए ।
भक्तपुर नगरपालिकाको सल्लाघारीस्थित अक्सफोर्ड स्कुलमा अध्ययन गर्दै आएका विद्यार्थीले आज सल्लाघारी क्षेत्रको सडक तथा सम्पदामा सरसफाइ गरे । उनीहरूले यस क्षेत्रमा रहेका नाला, पाटी, ढुङ्गेधारा, मन्दिरलगायतमा रहेको फोहर सफा गरे ।
विद्यालयले पढाइका अतिरिक्त प्रत्यक्षरूपमा सरोकार राख्ने यस्ता विषयवस्तुका क्षेत्रमा विद्यार्थी स्वयंको प्रत्यक्ष संलग्नता रहोस् र पढाइका साथै सामाजिक काममा लाग्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको विद्यालयकी शिक्षिका इन्दु दुवाल बताउनुहुन्छ ।
विश्व वातावरण दिवसका अवसरमा आयोजित सरसफाइ कार्यक्रममा विद्यार्थीलाई यस क्षेत्र वरपर रहेका मन्दिर, पाटीपौवा, ढुङ्गेधाराजस्ता सम्पदाको सरसफाइका साथै तिनका बारेमा जानकारी दिँदै सम्पदाको महत्व र संरक्षण गर्नुपर्ने कारणका बारेमा जानकारीसमेत दिइएको थियो ।
नगरपालिकाले यहाँका विद्यालयमा यस क्षेत्रमा पर्ने सम्पदा, यहाँका परम्परा, संस्कृतिलगायत विषयवस्तु समावेश गरी पाठ्यक्रम नै बनाएर विद्यार्थीलाई सचेत बनाउन खोजेको देखिन्छ । अध्ययनका साथै अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
सरसफाइमा सहभागी विद्यार्थीले अबदेखि आफूले सार्वजनिक ठाउँमा फोहर नगर्ने र अरूलाई समेत गर्न हुँदैन भनेर सिकाउने बताए । सरसफाइका क्रममा वरपरका फोहर टिप्दै त्यहाँ रहेका मानिसलाई सम्पदा वरपर फोहर नगर्न र सरसफाइमा ध्यान दिनसमेत कक्षा ७ र ८ मा अध्ययनरत सहभागी विद्यार्थीले आग्रह गरिरहेका थिए ।
सो अवसरमा विद्यार्थीले सरसफाइका साथ वरपर वृक्षरोपणसमेत गरेका थिए । यस वर्ष विश्वमा ‘केबल एक पृथ्वी’ तथा नेपालमा ‘दिगो प्रकृतिमैत्री जीवनयापनः पृथ्वीको संरक्षण’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी विश्व वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७४ देखि हरेक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाइँदै आइरहेको छ ।
सुर्खेत: सुर्खेतमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । आज विहान वीरेन्द्रनगर–१३, करेखोलामा बस्दै आएका दानसिंह ठाडा मगरले दाउराको चिर्पटले हानेर श्रीमतीको हत्या गरेका हुन् । ४२ वर्षीय ठाडाले आ...
पोखरा: पोखरा महानगरपालिकिा वडा नं २५ मा रहेको गौरी शंकर माध्यमिक विद्यालयमा शनिबार वृक्षारोपण गरिएको छ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जे अन्तर्गत रहेको लायन्स क्लब अफ पोखरा हेमजा र...
गलकोट: सरकारले सय पर्यटकीय तथा धार्मिक क्षेत्रका रूपमा सूचीकृत बागलुङको कालभैरव मन्दिरमा गुठी व्यवस्थापन समिति सक्रिय भएपछि भौतिक पूर्वाधार निर्माणसँगै आम्दानीमा वृद्धि भएको छ । धार्मिक शिक्तपीठमध्येको एक ...