स्ववियुको विषय लिएर विद्यार्थी आन्दोलित, क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनमा तालाबन्दी
सर्लाही | फागुन १४, २०७९
तस्बिर: साभार
सर्लाही: सर्लाहीको हरिवनस्थित चतुर्भुजेश्वर जनता बहुमुखी (चजब) क्याम्पसले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन् ।
उनीहरुले निर्धारित मिति चैत ५ गते नै स्ववियु निर्वाचन गराउनुपर्ने माग गर्दै आज बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुखेपोखरीमा टायर बालेर प्रदर्शन गरे । उनीहरुले क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासन शाखामा तालाबन्दीसमेत गरेका छन् ।
अखिल क्रान्तिकारीका नेता विवेक मैनालीले क्याम्पस प्रमुख र व्यवस्थापन प्रमुखले विद्यार्थीहरुसँग समन्वय नगरी शुक्रबार राति एकलौटी ढंगले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय गरेकाले विरोध प्रदर्शन गरेको बताए ।
क्याम्पस प्रमुख गंगा बहादुर भुजेलले भने विद्यार्थी भर्नाको विषयमा सामान्य विवाद रहेकाले त्यसलाई समाधान गरेर मात्र स्ववियु निर्वाचन गराउने भनेर स्थगित गरिएको बताए । ‘भर्नाको विषयमा विवाद भएकाले स्ववियु निर्वाचन अहिले स्थगित गर्ने निर्णय गरेका हौं,’ क्याम्पस प्रमुख भुजेलले भने, ‘विवाद समाधानका लागि आज सर्वपक्षीय भेला पनि बोलाएका छौं ।’
विवाद के हो ?
क्याम्पस प्रमुख भुजेलका अनुसार स्ववियु निर्वाचनका लागि फागुन ५ गते ४ बजेसम्म विद्यार्थी भर्नाको समय तोकिएको थियो । तर केही विद्यार्थीहरुको भर्ना फारम ४ बजेभित्रै आए पनि भर्ना फारममा टाँस्नुपर्ने फोटो ५ मिनेट ढिला आएकाले विवाद भएको उनले बताए ।
‘केहीले फारम चार बजेभित्रै आएको हो, फोटो मात्र ५ मिनेट पछि आएको त हो नि, त्यही भएर भर्ना लिनुपर्छ भन्नुभयो । केहीले फेरि ४ बजेपछि आएकोलाई किन स्वीकार गर्ने भन्नुभयो, त्यही भएर विवाद भयो,’ क्याम्पस प्रमुख भुजेलले भने ।
तर अखिल क्रान्तिकारीका नेता मैनालीले भने ५ मिनेटमात्रै ढिलो फोटो आएको भन्ने क्याम्पस प्रमुखको भनाइ सत्य नभएको बताए । ‘त्यो दिन म क्याम्पसमै थिएँ, ५ मिनेट ढिलो होइन, पाँच बजेसम्म पनि फोटो आएको छैन,’ उनले भने ।
भर्ना बन्द गरेर निस्किने बेला क्याम्पस प्रमुखले के गर्ने भनेर ‘भोलि सन्चालक समितिलाई सोध्छु’ भनेको बताउँदै मैनालीले भने, ‘झगडाको बिउ उहाँले नै रोप्नुभयो ।’
स्ववियु निर्वाचन स्थगित गर्न नपाइने भन्दै नेकपा एमाले बाहेकका राजनीतिक दल निकट विद्यार्थी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन् । उनीहरुले स्ववियु निर्वाचन स्थगित गर्ने निर्णय खारेज नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले क्याम्पस प्रमुखको मिलेमतोमा एमाले निकट अनेरास्ववियुका एक सय जनाभन्दा बढी विद्यार्थीहरुलाई पूर्वनिर्धारित भर्ना तालिकामा तोकिएको समयभन्दा पछि भर्ना गर्न खोजिएकाले ती फारम रद्द हुनुपर्ने मागसमेत गरेका छन् ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

