ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिपमा एपिएफ क्लबको उपाधिमा ह्याट्रिक
काठमाडाैं | चैत १६, २०७९

काठमाडौं: नेपाल एपिएफ क्लबले ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप २०२३ को फाइनलमा कोशी प्रदेशलाई ५४ रनले हराउँदै उपाधिमा ह्याट्रिक गरेको छ । एपिएफले लगातार तीन संस्करणको उपाधि जितेको हो ।
जितको लागि १ सय ५५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय रन बनायो । कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले ४१ बलमा ४ चौकासहित सर्वाधिक ३५ रन बनाइन् । स्पिनर बिनु बुढामगरको १४ औं ओभरको दोस्रो बलमा रुविना बोल्ड भएपछि कोशीको जितको सम्भावना सकिएको थियो ।
रेखा रावलले तेस्रो ओभरमै काजोल श्रेष्ठलाई ६ रनमा बोल्ड गरेकी थिइन् । अप्सरी बेगम २४ बलमा १ चौकासहित १० र स्मृति कटवाल ८ रनमा आउट भइन् । लखिता राजवंशी २१ बलमा २ चौकासहित २१ रनमा अविजित रहिन् । नमिता श्रेष्ठ ११ बलमा १ चौकासहित ७ रनमा रन आउट भइन् ।
एपिएफकी बिनु बुढाले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । नेरी थापाले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् । रेखा रावलले एक विकेट लिइन् । सोनु खड्काले एक विकेट लिइन् ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा १ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । ललितपुर मेयर्स प्रतियोगिता इतिहासमा एकै इनिङमा बनेको यो हालसम्मकै उच्च योगफल हो । यसअघि पहिलो संस्करणको ललितपुर मेयर्समा ललितपुर ११ ले लुम्बिनीविरुद्ध ५ विकेट गुमाउँदै १ सय ४४ रन बनाएको थियो । त्यो नै उच्च योगफल रहँदै आएको थियो ।
एपिएफको जितमा कप्तान सीता ६८ बलमा ९ चौका र २ छक्कासहित ७८ रनमा अविजित रहिन् । उनको यो टि२० घरेलु क्रिकेट करिअरको उत्कृष्ट प्रदर्शन हो । उपकप्तान इन्दु बर्मा ४१ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा अविजित रहिन् ।
ललितपुर मेयर्स कपमा एक ब्याटरले बनाएको सबैभन्दा उच्च योगफल हो । सीताले सुमन खतिवडाको कीर्तिमान तोडेकी हुन् । पहिलो संस्करणमा ललितपुरकी सुमन खतिवडाले ५२ बलमा ९ चौका र २ छक्कासहित ७७ रन जोडेकी थिइन् ।
दोस्रो विकेटका लागि सीता र इन्दुले १ सय ३६ रनको सानदार अविजित कीर्तिमानी शतकीय साझेदारी गर्दै विशाल योगफल बनाएका थिए । जुन ललितपुर मेयर्स कपको कुनैपनि विकेटको लागि भएको उच्च साझेदारी हो । पहिलो संस्करणमै सुमन खतिवडा र अश्मिना कर्माचार्यले छैटौं विकेटका लागि लुम्बिनीविरुद्ध १ सय ८ रनको अविजित साझेदारी गरेका थिए । उक्त कीर्तिमान सीता र इन्दुले तोडेका हुन् ।
कोशीकी एलिसा खडियाले एक विकेट लिइन् । यसअघिका दुबै संस्करणको उपाधि एपिएफले फाइनलमा सुदूरपश्चिमलाई समान ८ विकेटले हराउँदै जितेको थियो ।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्दे...
काठमाडौं: सरकारले भोलि (शनिवार) इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद–उल–अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पर्वको शुभकामना सहित बिदा दिने निर्णय गरेको...
पोखरा: पोखरा महानगरपालिका १ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । अंग्रेजी हिज्जे प्रतियोगितामा आधारभुत तहमा...