गाउँमै गाइड तालिम
पाेखरा | चैत २७, २०७९
पोखरा: कास्कीको अन्नपूर्ण गाउँपालिकाले गाउँकै युवालाई सक्षम बनाउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले लाइसेन्स प्राप्त गाइड उत्पादनको प्रयास गरेको छ । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको प्राविधिक सहयोगमा गाउँपालिकाका ११ वडाका ४० जना युवाले गाइड तालिम लिएका छन् । गत १३ चैतदेखि सुरु भएको तालिम आइतबार समापन भएको छ ।
गाउँपालिकाभित्रकै आधार शिविरमा गाइड गर्नेहरु धेरै बाहिरको भएपछि स्थानीयलाई नै प्रोत्साहित गर्न गाउँमै तालिम दिइएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले बताए । ‘यहाँ धेरै बाहिरको हुनुहुन्छ । गाउँपालिकामा सल्लाह गरेपछि गाउँकै युवालाई सक्षम बनाउन तालिम दिएका हौं,’ उनले भने, ‘यो तालिमबाट सिकेका कुरालाई सदुपयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’
सहभागीलाई पर्यटकसँग गर्ने व्यवहार, हिमपहिरो आउँदा बच्ने उपाय, पर्यटन बिमा, पर्यटन कानुन, द्वन्द्व व्यवस्थापन, पदमार्गमा पाउन सकिने वनस्पति र जीव, ट्रेकिङ, पर्वतारोहण, यात्रामा निस्कनुअघिको तयारी, हिमाली समाज र संस्कृति, नेपालको भूगोल, नेतृत्वलगायत विषयमा तालिम दिइएको हो । तालिम लिन ८० जनाभन्दा बढीले गाउँपालिकामा आवेदन दिएका थिए । तीमध्ये ४० जनालाई छनोट गरेर सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले बताए ।
गाउँपालिकामा सञ्चालित नवप्रवद्र्धन साझेदारी कार्यक्रमअन्तर्गत पर्यटनमैत्री–प्रविधिमैत्री नमूना अन्नपूर्ण गाउँपालिका परियोजनामार्फत तालिम गरिएको तालिम संयोजक सूर्य तिमिल्सनाले जानकारी दिए । कतिपय युवाले तालिम नै नलिई गाइड गर्दै आएका थिए । तालिम लिन र परीक्षा दिन काठमाडौंसम्म जानुपर्ने अवस्था हटेर गाउँमै पाएपछि युवाहरूको उत्साहजनक सहभागित थियो । ‘हामी काठमाडौंसम्म जानुपथ्र्यो । गाउँमै तालिम पायौं । हामी यो ठाउँको ब्रान्ड एम्बेस्डर भएर काम गर्छौं,’ तालिम लिएका शिवकृष्ण पौडेलले भने ।
तालिम सकिएसँगै सोमबार पर्वतीय प्रशिक्षण प्रतिष्ठानले परीक्षा लिँदै छ । त्यसमा उत्तीर्ण हुनेले लाइसेन्स पाउने छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

