घोडेपानीमा तीन वर्षपछि चिनियाँ पर्यटक

म्याग्दी | बैशाख ४, २०८०

घोडेपानीमा तीन वर्षपछि चिनियाँ पर्यटक

म्याग्दी:  म्याग्दीको पर्यटकीयस्थल घोडेपानीमा तीन वर्षपछि चिनिया पर्यटक भित्रिएका छन् । वि.सं २०७६ चैतमा कोरोना भाइरसको महामारी फैलिएपछि रोकिएको चिनिया पर्यटक आगमन तीन वर्षपछि सुचारु भएको हो । नेपाल विग माउन्टेन ट्राभल्समार्फत कास्कीको तिखेढुङ्गा हुँदै आइतबार घोडेपानीमा चिनियाँ पर्यटक आएका घोडेपानी होटल व्यवस्थापन समितिका अध्यक्ष मीना पुनले बताउनुभयो । 


पर्यटकलाई घोडेपानीमा होटल व्यवसायी, टोल सुधार समिति, आमा समूह र युवा क्लबले स्वागत गरेका छन् । घोडेपानी र पुनहिल म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ मा अवस्थित छ । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने घोडेपानी, पुनहिल, घान्द्रुक भ्रमणमा पर्यटक आएका हुन् । 


घोडेपानीबाट टाढापानी हुँदै कास्कीको घान्द्रुक भएर पोखरा फर्कने नेपाल बिग माउन्टेन ट्राभल्सका पथ प्रदर्शक सुजित रेग्मीले बताउनुभयो । उहाँका अनुसार यो पदमार्गमा थप तीन वटा चिनियाँ पर्यटकको समूह भ्रमणमा आउँदैछन् । सात दिनको नेपाल भ्रमणमा आएका उनीहरूले सोमबार बिहान समुन्द्र सतहदेखि तीन हजार दुई सय मिटर उचाइमा अवस्थित पुनहिलमा सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खलाको अवलोकन गर्न पुगेका छन् ।  


घोडेपानी–पुनहिलमा अनुकूल मौसम र ढकमक्क फुलेका गुराँसले ढाकिएसँगै बाह्य तथा आन्तरिक पर्यटक बढेका छन् । पछिल्लो एक महिनायता प्रतिदिन पाँच सय जना हाराहारीमा पर्यटक भित्रिएका व्यवसायीले बताएका छन् । 


“कोरोना महामारीले ठप्प पर्यटन व्यवसाय यस वर्षको चैत लागेपछि चहलपहल छाएको छ । पुरानो चहलपहल त फर्केको होइन तर दुई–तीन सय विदेशी पाहुना आउँदा सबै होटलमा दुई–चार जना पाहुना भइरहन्छन्”, स्थानीय डमबहादुर पुनले भन्नुभयो, “कोरोनापछि नेपाली आउने क्रम भने बढेको छ । नेपालीहरू अक्सर दुई–तीन दिन बिदा हुँदा र शैक्षिक भ्रमणमा आउने बढी छन् ।”


घोडेपानीमा साना ठूला गरी ३० होटल छन् । पुनहिल प्रवेश तथा पुनहिलमा टि एन्ड कफी सप सञ्चालन गर्न अन्नपूर्ण गाउँपालिकाबाट स्थानीय बालकृष्ण राना र रनबहादुर पुनले भ्याटसहित रु ५६ लाख ६० हजारमा ठेक्का लिनुभएको छ । पुनहिल प्रवेश गर्दा नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशी पर्यटकलाई प्रतिव्यक्ति रु एक सय ५० शुल्क तोकिएको छ ।


पुनहिलबाट धौलागिरि, सिस्ने, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे«, मनास्लु हिमालको अवलोकन गर्न सकिन्छ । सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु पनि पुनहिलको अर्को विशेषता हो । घोडेपानी र पुनहिल क्षेत्रमा गण्डकी प्रदेशकै ठूलो लालीगुराँसको जङ्गल छ । 


वसन्त ऋतुको आगमनसँगै लालीगुराँस फुलेर पाखा रङ्गिन बनेका छन् । पहाडको उच्च स्थानमा रहेको घोडेपानी पुनहिल क्षेत्रको जङ्गल र पहाडी भूगोलको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।


अन्नपूर्ण राउन्ड गरी तातोपानी हुँदै कास्कीको विरेठाँटी–उल्लेरी, छोम्रोङ–घान्द्रुक–टाडापानी हुँदै र नागी–महरे हुँदै गरी चारवटा नाकाबाट दैनिक करिब तीन सय विदेशी पर्यटक घोरेपानी भित्रिने गरेको पर्यटन प्रहरी कार्यालय घोडेपानीका प्रहरी हवल्दार बमबहादुर थापाले बताउनुभयो । 


भारतीय र नेपाली पर्यटकको अभिलेख राख्ने गरिएको छैन । म्याग्दीको पोखरेबगर घार शिख चित्रे हुँदै घोडेपानी सडकमा सवारी साधन भएर पुग्न सकिन्छ । घोडेपानीमा बास बस्ने पर्यटक  बिहानै पुनहिल भ्रमणमा जाने गर्दछन् । रासस

पोखरा— प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्दै आएको ‘टेकपाइला इन्नेभोसन्सले गण्डकीमा तीन वटा पाठ्यक्रम सार्वजनिक गरेको छ ।   पोखरामा एक कार्यक्रमको आयोजना गर्दै ‘प्लस टु’का विद्यार्थ...

थप पढ्नुहोस्

पोखरा ।     हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रमबाट ५५ युनिट रगत संकलन भएको छ ।    संस्थाले आफ्नो स्थापना...

थप पढ्नुहोस्

पोखरा:  घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा पछिल्लो ४ दिनमा मात्रै करिब १० हजार भन्दा बढी पर्यटक ...

थप पढ्नुहोस्