नवलपुरको ५३ स्थानमा डढेलो
नवलपुर | बैशाख ५, २०८०
तस्बिर फाइल
त्रिवेणी: नवलपुरको वन क्षेत्रमा गत चैतमा ५३ स्थानमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले र जिल्लाका विभिन्न वनका गरी ५३ स्थानका दुई हजार छ सय ५० हेक्टर जमिनमा डढेलो लागेको सूचना प्राप्त भएको जानकारी दिनुभयो ।
चैतसम्मको प्राप्त तथ्याङ्क भएकाले यो क्षेत्रफल बढ्नसक्ने उहाँले बताउनुभयो । “कतिपय स्थानबाट सूचना आउँदैनन्, सबै गर्दा प्राप्त क्षेत्रफलभन्दा केही धेरै डढेलो लागेको हुन सक्छ”, सूचना अधिकारी गौतमले भन्नुभयो ।
“नवलपुरमा अहिले करिब तीन हजार पाँच सय हेक्टर जमिनमा डढेलो लागेको छ । चैतको तथ्याङ्कमा दुई हजार छ सय नाघेको छ, केही दिनयता पनि केही ठाउँमा डढेलो लागेको छ, यसले हाल करिब तीन हजार पाँच सय हेक्टर वन क्षेत्रमा डढेलो लागेको अनुमान छ”, उहाँले भन्नुभयो ।
फागुनमा खासै डढेलोका घटना नभए पनि चैत लागेसँगै यहाँ रहेका सामुदायिक वनहरुमा लागेको डढेलो नियन्त्रणमा आए पनि अहिले थप केही क्षेत्रमा नयाँ डढेलो लागेको उहाँको भनाइ थियो ।
डढेलो नियन्त्रणका लागि चैतको पहिलो साता साताव्यापी कार्यक्रम गरिएको थियो । मानवीय कारणले नै डढेलो लाग्ने भएकाले वन कार्यालयले साताव्यापी सचेतना कार्यक्रम सञ्चालन गरेको हो । यहाँ रहेका सामुदायिक वनले नियमित हेरालुबाहेक डढेलो नियन्त्रणका लागि थप मौसमी हेरालु राख्ने र अग्नि नियन्त्रक समूह निर्माण गर्ने गरे पनि पूर्णरूपमा डढेलोबाट वन जोगाउन भने नसकिएको सूचना अधिकारी गौतमले बताउनुभयो ।
वनमा आगो लगाउँदा नयाँ घाँस पलाउने, च्याउ उम्रने भन्ने धारणाले आगलागीका घटना हुने गरेका छन् । कहिलेकाँही सिकारीले वन्यजन्तुको सिकार गर्न पनि डढेलो लगाउने गरेका छन् । पहिले पहिले खोरिया फाँड्न वनमा आगो लगाउने चलन भए पनि नवलपुरमा भने हाल यस्तो घटना भएको पाइएको छैन ।
गलत धारणाका कारण मानिसले जानाजानी वनमा आगो लगाउँदा नयाँ बुट्यानहरु जलेर नष्ट हुने, वन्यजन्तु आगोमा जलेर मर्ने, धुवाँका कारण मानव स्वास्थ्यमा समेत असर पर्ने हुँदा यस्ता कार्य नगर्न र यदि कतै डढेलो लागिहाले समयमै नियन्त्रणमा लिन सबै लाग्नुपर्ने हुन्छ ।
वन क्षेत्रमा लागेको डढेलोका कारण यहाँको वायुमण्डल धुवाँले ढाकेको छ । जिल्लाको सबैजसो क्षेत्रमा अहिले धुवाँको बादल देखिन्छ । वायुमण्डल धुवाँले ढाक्दा कतिपय मानिसको आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या हुने मध्यविन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताउनुभयो । आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने, बेलाबेलामा चिसोपानीले आँखा धुने र श्वासप्रश्वासमा समस्या हुन नदिन मास्क लगाउनेजस्ता उपाय अपनाउन सकिने उहाँको भनाइ थियो । नवलपुरमा करिब ७० हजार चार सय हेक्टर जमिनमा वन रहेको छ । RSS
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

