अक्षय तृतीया पर्व मनाइँदै
काठमाडाैं | बैशाख १०, २०८०

काठमाडौं: बटुवालाई जौँ, चनाको सातु एवं चिसो पानीको सर्वत ख्वाइँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ । वैशाख शुक्ल तृतीयाका दिन यो पर्व मनाइन्छ । सघन आवतजावतको बाटोमै बसेर भोका र तिर्खाएका बटुवालाई जौँ र चनाको सातु, सख्खर र चिसो पानीमा बनाइएको गुलियो सर्वत खुवाउने पुरानो मिथिला परम्परा हो ।
यस पर्वमा सर्वत ख्वाइँदा अक्षय (कहिल्यै नास नहुने) पुण्यप्राप्त हुने मैथिल (मिथिलाका बासिन्दा)को जनविश्वास छ । यस पर्वमा गरिब र अभाव भोगी, खेपिरहेकालाई सातु राखिएका थैला र सर्वत राखिएको घडासहित दान गर्ने परम्परा रहेको साहित्यकार महेश्वर राय बताउनुहुन्छ ।
यस पर्वको वर्णन भविष्य पुराणमा उल्लेख छ । भगवान् शिव र देवी पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण, कूलपुरोहित तथा गरिबलाई स्वर्ण (सुन), शीतल खाद्य परिकार र वस्त्र दान गर्नेको कहिल्यै भण्डार खाली नहुने उल्लेख रहेको बर्दिबास-२ का कर्मकाण्डका ज्ञाता महेशकुमार झा बताउनुहुन्छ ।
यस पर्व सुख र समृद्धिको प्रतीक मानिन्छ । यो पर्वले गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने हुँदा शरीरमा चिनीको मात्रा सन्तुलन राख्न सख्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक अन्न जौँ र चनाको सातु खानपिनको प्रयोगमा जोड दिएको बर्दिबास अस्पतालका चिकित्सक मेडिकल अफिसर डा किशोर अधिकारीको भनाइ छ । पर्वले मौसमअनुसार पुष्टिवद्र्धक भोजन गर्न सन्देश दिनसँगै दीनदुःखी र भोकाएका, तिर्खाएकालाई सेवा दिन नैतिक सन्देश दिएको पाका मैथिल बताउँछन् ।
पर्वमा कूलपुरोहित ब्राह्मणलाई पूजा गरेर वस्त्र, मिष्टान्न खाद्य परिकार र दक्षिणा दिएर आफ्नो र परिवारका सदस्यहरूको जीवनमा शीतलताको कामना गर्दै जौँ, चनाको सातु र सर्वत खाएर यो पर्व समापन गरिने मैथिल परम्परा छ । भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्रासन र विवाहलगायतका माङ्गलिक कार्यका लागि अर्को साइत हेर्न नपर्ने आम मैथिल मान्यता छ ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...