रातो मच्छेन्द्रनाथको भोटो जात्रा आज
काठमाडाैं | जेठ ११, २०८०

काठमाडौं: वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात)वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।
भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे ।
डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले ।
मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो ।
आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ ।
पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
गण्डकी: पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी...
काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर पहाडी भू–भागमा साधारणतया बदल...
पोखरा: लामा अमृत फाउण्डेशनले घान्द्रुकको श्री जनप्रिय आधारभुत विद्यालयमा शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले कास्कीको अन्नपूर्ण गाउँपालिक–१०...