मल र मजदुर अभावमा कृषकलाई समस्या
म्याग्दी | असार १, २०७९
म्याग्दी : म्याग्दीमा मल र मजदुर नपाउँदा यहाँका कृषकलाई धानबाली लगाउन समस्या भएको छ । प्रमुख खाद्यबाली धान लगाउने याम शुरु भएपनि रासायनिक मलको आपुर्ति नहुँदा कृषक चिन्तित भएका हुन् । उच्च पहाडी र सिँचाइको सुविधा पुगेको क्षेत्रमा जेठको अन्तिम सातादेखि धान रोपाइ शुरु भएको छ ।
मल अभावमा यसपाली मकै र धानको उत्पादन प्रभावित हुने मंगला गाउँपालिका–२ का कृषक रामकुमारी खत्रीले चिन्ता गर्नुभयो । “मकैमा रासायनिक मल हाल्न पाइएन”, उहाँले भन्नुभयो “धान रोप्ने समय भएपनि मल नपाउँदा उत्पादन घट्ने चिन्ता छ ।”
गाउँमा युवा जनशक्ति नहुँदा धान लगायत खेतीबाली लगाउन मजदुर अभावको समस्या देखिएको छ । अर्म, पर्म जस्ता खेतीबाली लगाउने गरिने सामाजिक परम्परा हराउँदै गएको मंगला–५ का मनबहादुर मगरले बताउनुभयो ।
“मजदुर पाइन छाडेपछि समथर फाँटमा गोरुको विकल्पमा ट्रयाक्टर र मिनिट्रेलरले खेतबारी खनजोत गर्न थालेका छौ”, उहाँले भन्नुभयो “खेतीबाली लगाउन र भित्र्याउन मजदुर नपाएर दुःख हुन थाल्यो ।” मजदुरलाई ज्याला दिएर लगाएको खेतीबाली मल अभाव, असिना, रोगकिराले उत्पादन बढाउन चुनौती भएको कृषक मगरको भनाइ छ ।
म्याग्दीको रणवाङ, छिसवाङ, पिपलबोट, घतान, पिप्ले, भगवती, घार, बरञ्जा, देविस्थान, ताकम लगायतका ठाउँका कृषक धानबाली लगाउन मलको प्रतिक्षामा छन् । धानसँगै बारीमा कोदो रोप्न थालेका छन् ।
तीन हजार ८८५ हेक्टरमा धान खेती हुन्छ । कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष १३ हजार ३६० मेट्रिक टन धान उत्पादन भएको थियो । नियमित वर्षा भएकाले सिँचाइ सुविधा पुगेको र पहाडी क्षेत्रमा कृषक धान रोपाइमा जुटेका कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलले बताउनुभयो । वर्षा नियमित भएकाले कृषकलाई धान रोप्न सजिलो भएको उहाँको भनाइ छ ।
म्याग्दीमा गौरी, जेठो बुडो, जर्नेली, पहँले, मार्सि, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ । लेकाली क्षेत्रका कृषकले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धान खेती हुन्छ ।
गण्डकी: कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग खेल्दै थिए । प्रकृति र जीवनका अनेक भावभङ्गीलाई उनीहरुले क्यानभासमा उतारे । आइतबार पर्वतको कुश्मास्थित शताब्दी घर कलामय बन्यो । एकै थलोमा अनुजदेखि अग्...
काठमाडौं: राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका लागि उमेदवारको बन्द सूची पेस गर्दा बढीमा ११० र कम्तीमा ११ जनाको नाम सूचीकृत गर्नुपर्ने भएको छ । आगामी फागुन २१ गते प्रत...
पोखरा: हिमालय क्रिकेट एकेडेमी कप २०८२ यु–१६ अन्तर विद्यालय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उपाधि डायमण्ड सेकेण्डरी स्कुलले जितेको छ । आइतबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा डाय...

