सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्छः उपराष्ट्रपति
काठमाडाैं | असार १, २०७९
काठमाण्डौँ : उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको सांस्कृतिक वैभव भावी पुस्ताका लागि संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल मगर सङ्घले आज राजधानीको खुलामञ्चमा आयोजना गरेको ‘मगर भूमे/भूम्या पर्व–२०७९’ लाई सम्बोधन गर्दै उहाँले सभ्यता, इतिहास र पहिचानका रुपमा रहेका चाडपर्वको संरक्षण र विकास आवश्यक रहेको बताउनुभयो ।
विकास र समृद्धिको बाधकका रुपमा रहेका तथा अन्धविश्वास र कुरीतिले भरिएका संस्कार परिमार्जन गर्नुपर्नेमा उपराष्ट्रपतिले ध्यानाकर्षण गराउनुभयो । “चाडपर्वसँग भाषा, भूगोल, सभ्यता, संस्कृति र पहिचान जोडिएको छ, त्यसकारण हाम्रो सभ्यता, इतिहास र पहिचानका रुपमा रहेका चाडपर्वको संरक्षण र विकास गर्न जरुरी छ । संस्कृति, भाषा रहेन भने हाम्रो भौतिक उपस्थितिले सार्थकता पाउने छैन”, उहाँले भन्नुभयो ।
मगर समुदायमा भएका प्राचीन मौलिक संस्कृति, चाडपर्वमध्ये भूमे पर्व सांस्कृतिक सभ्यतासँग जोडिएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले प्रकृति र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धको प्रतीकका रुपमा भूमे पर्व रहेको बताउनुभयो । “भूमि पर्व भूमिप्रति सम्मान र आदर हो । भूमि छ र त हामी मानव छौँ । भूमि भएर यहाँ प्राणी जगत् छ”, उहाँले भन्नुभयो, “त्यहीँ भूमिमा फलेको अन्नबाली खाएर हामी जीउने अवसर पाएका छौँ । त्यसकारण भूमे पर्व प्रकृति र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धको प्रतीक पनि हो ।”
नेपालमा बसोबास गर्ने विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृति र भूगोलका समुदायका आ–आफ्नै मौलिक पहिचान रहेको उल्लेख गर्दै उहाँले एकअर्काको पहिचानलाई स्वीकार र सम्मान गर्न सबैले सक्नुपर्ने बताउनुभयो । “एकअर्काको पहिचान पनि स्वीकार र सम्मान गर्नसकेमा मात्रै हाम्रो राष्ट्रिय एकता थप मजबुत र सुदृढ हुन सक्छ”, उपराष्ट्रपतिले भन्नुभयो ।
प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिका सभापति जयपुरी घर्तीले मगरलगायत आदिवासी जनजाति समुदायका व्यक्तिलाई राज्यका निकायमा अर्थपूर्ण सहभागिता पु¥याउनुपर्ने बताउनुभयो । आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी जनजातिको अधिकार सुनिश्चित गराउन छुट्टै आदिवासी जनजाति मन्त्रालय बनाउनुपर्ने बताउनुभयो ।
आदिवासी जनजाति महासङ्घका अध्यक्ष नेपाल मगर सङ्घका निवर्तमान अध्यक्ष नवीन रोकामगरले सबै जातजातिको मुख्य पर्वलाई राष्ट्रिय मान्यता दिनुपर्ने र परिवर्तनका लागि योगदान गरेका आदिवासी जनजाति समुदायलाई अधिकार दिन कुनै कन्जुस्याइँ गर्न नहुने बताउनुभयो ।
वर्षायामको सुरुआतसँगै खाद्य बालीमा प्राकृतिक प्रकोप नलागोस्, दैवी विपत्ति नहोस् भन्ने मान्यताका साथ काठमाडौँमा बसोबास गर्दै आएका मगर समुदायका व्यक्तिले आज खुलामञ्चमा भेला भएर भूमे पर्व मनाएका छन् । अथार मगरात क्षेत्रमा बसोबास गर्ने मगर समुदायले भूमे पर्वका अवसरमा भूमिलाई पूजा गर्दछन् । रोल्पा, पूर्वरुकुम, प्यूठान, सल्यान, पश्चिम रुकुम, दाङ तथा धौलागिरिका बागलुङ, म्याग्दीलगायत जिल्लामा भूमे पर्वलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

